
स्याङ्जा- चापाकोट नगरपालिका-१ चौघेराका तुल्सीराम भण्डारीले व्यावसायिक फूलखेतीबाट एक याममा पाँच लाख बढी कमाएका छन्। पूर्वशिक्षकसमेत रहेका उनले दसैँ र तिहारलाई लक्षित गरी फूलखेती गर्दै आएका छन्।
गत असारमा शिक्षण पेसाबाट अवकाश लिएका भण्डारीले फुर्सदको समयलाई सदुपयोग गरी फूलखेतीमा गरिरहेको बताए। दसैँ, तिहार, छठलगायत धार्मिक कार्यहरूलाई लक्षित गरी दुई चरणमा फूलका बिरुवा रोप्ने गरेको उनले जानकारी दिए।
दसैँ, तिहारलाई लक्षित गरी तीन रोपनी क्षेत्रफलमा र मंसिरपछि उत्पादन हुनेगरी थप दुई रोपनी क्षेत्रफलमा फूलखेती गरेको उनले बताए। ‘शिक्षण पेसामा रहँदै गर्दा पनि बिहानबेलुकाको समयमा कम मात्रामा फूलखेती गरेको थिएँ’,उनले भने, ‘फूलखेतीबाट मनग्य आम्दानी हुने देखेपछि अहिले पूरै समय व्यावसायिक फूलखेतीतर्फ जोडिएको हुँ।’
भण्डारीले फूलका थुंगा थोकमा प्रतिकिलो रु ३००, फुटकरमा प्रतिकिलो रु ४०० देखि ४५० र माला प्रतिगोटा रु ९० सम्ममा बिक्री गर्दै आएको जानकारी दिए। ग्राहकको मागका आधारमा माला वा फूलका थुंगा दुवै बिक्री गर्ने गरेको उनले बताए।
भण्डारीका अनुसार यस वर्षको हालसम्म करिब रु छ लाखको फूल तथा माला बिक्री भइसकेको छ। तिहारपछि पनि बुटवल तथा स्थानीय बजारबाट फूल र मालाको माग आइसकेको उनले बताए। ‘असारमा लगाएको बेर्नाले दसैँदेखि उत्पादन दिन थालेको हो’, उनले भने, ‘दोस्रो चरणमा लगाएको फूलको उत्पादन मंसिरसम्म लिन सकिन्छ।’
गतवर्ष एकै याममा फूल र माला बिक्रीबाट रु पाँच लाखभन्दा बढी आम्दानी भएको जनाउँदै उनले यस वर्ष रु १० लाख बढी आम्दानी गर्ने लक्ष्य रहेको बताए।