
काठमाडौँ- नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनकारीलाई लल्कारेको विषयप्रति केन्द्रीय सदस्यले ओलीको आलोचना गरेका छन्। बिहीबारको बैठकमा केन्द्रीय सदस्य युवराज बास्कोटाले ओलीको वक्तव्यप्रति आपत्ति जनाउँदै त्यसलाई पार्टीका लागि हानिकारक संकेतका रूपमा चित्रित गरे।
उनले भने, ‘जेनजी कुनै राजनीतिक दल वा संगठन होइन, यो एउटा पुस्ताको चाहना हो। केही सामयिक विषय लिएर सडकमा उत्रिएको यो आन्दोलनलाई प्रतिक्रान्ति वा रंगीन क्रान्तिको नाम दिइरहनु गलत हो।’
बास्कोटाले अझ थपे, ‘त्यो आन्दोलनका क्रममा हिंसा भयो, तोडफोड र आगजनी भयो, त्यसको पीडित म स्वयं पनि बनेँ। तर त्यसको अर्थ पुस्तालाई गाली गर्न पाउने होइन। बरु उनीहरूले उठाएका मुद्दा सम्बोधन गर्नुपर्छ। यो हाम्रो निर्णायक भोट बैंक हो, यसलाई भड्काउनु हुँदैन र भड्किन दिनु पनि हुँदैन।’
बास्कोटाले एमालेले आफ्नो आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता पनि औंल्याए। उनका अनुसार सुशासन प्रत्याभूतिको अभाव, नियमन र नियन्त्रणबाहिरको भ्रष्टाचार, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारका विषय ओलीकै नेतृत्वमा किन उठे भन्ने प्रश्न पार्टीभित्र खोजिनुपर्छ। उनले भने, ‘हामीले किन जनताको असन्तोष आकर्षित गर्न सकिएन भन्ने कुरामा गम्भीर चिन्तन आवश्यक छ। यसको राजनीतिक उपचार खोज्नुपर्छ र साझा संकल्प अघि सार्नुपर्छ।’
बैठकमा उनले पार्टीभित्र एकताको कुरा पनि उठाए। बास्कोटाले भने, ‘पार्टीमा बृहत, खँदिलो र साँच्चिकै एकता चाहिएको हो भने केन्द्रीय कमिटीकी पूर्वउपाध्यक्ष कमरेड विद्यादेवी भण्डारीको पार्टी सदस्यता कायम राखेर सम्मानपूर्वक पार्टी काममा फर्काउनुपर्छ। हिजो लिएको निर्णयमा पुनर्विचार हुनुपर्छ।’
त्यससँगै उनले आगामी ११औं महाधिवेशनबारे पनि सुझाव दिए। बास्कोटाले प्रस्तावित मितिमा महाधिवेशन गर्न हतारो नगरी, आवश्यक परे केही समय पर सारेर सूक्ष्म तयारी गर्नुपर्ने बताए। उनले भने, ‘नेतृत्वको कौशलता भनेको उत्तराधिकारी तयार पार्नु पनि हो। महाधिवेशनको मञ्चमा पुग्दा अध्यक्ष कमरेड अभिभावकको भूमिकामा बस्नु वाञ्छनीय हुन्छ। स्वीकार्य नेतृत्वलाई अघि सार्नु एमालेको दीर्घकालीन हितमा हुनेछ।’