
काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा.महावीर पुनले विश्वविद्यालयहरूमा लामो समयदेखि रिक्त रहेका पदमा योग्य पदाधिकारी छान्ने प्रक्रिया निष्पक्ष रूपमा अघि बढाइरहेको बताएका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री पुनले विगतका सरकारहरूको पालामा राजनीतिक भागबन्डा नमिल्दा खाली रहेका धेरै पदमा अब निष्पक्ष र योग्यताका आधारमा नियुक्ति प्रक्रिया सुरु भएको जनाएका छन्। अब राजनीतिक भागबन्डा तोडेर निष्पक्ष रूपमा योग्यताका आधारमा पदाधिकारी नियुक्ति हुने उनले बताए।
‘विश्वविद्यालयहरूमा पहिलेका सरकारको पालामा राजनीतिक भागबन्डा नमिलेर रिक्त रहन गएका निकै धेरै पदहरूमा निष्पक्ष तरिकाले योग्य पदाधिकारीहरू छान्ने काम अगाडि बढाएको छु। यसमा कुनै भनसुन लाग्ने छैन,’ मन्त्री पुनले लेखेका छन्।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत २०६९ सालदेखि सम्बन्धनका लागि आवेदन दिएका तर अहिलेसम्म सम्बन्धन नपाएका संस्थाहरूको छानबिन गर्न कार्यदल गठन गरिएको उनले बताएका छन्। उक्त कार्यदलले मंसिर महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको पनि उनले स्पष्ट पारेका छन्।
त्यस्तै, नेपाल खुला विश्वविद्यालयका १० जना र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका ७ जना सिनेटरहरूको रिक्त पदमा कुनै राजनीतिक दबाबबिना नियुक्ति गरिएको मन्त्री पुनले बताएका छन्। उनका अनुसार यी नियुक्तिपछि सिनेटर नहुँदा रोकिएका कामहरू पनि अघि बढ्न थालेका छन्।