लुम्बिनीमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु

हिमाल प्रेस २९ असोज २०८२ १९:११
18
SHARES
लुम्बिनीमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु

बुटवल- बुद्धजन्मस्थल लुम्बिनीमा ६७ देशका २ सय बढी सम्पदा विज्ञहरूको उपस्थितिमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन बुधबारदेखि सुरु भएको छ। प्रकोप, द्वन्द्व र शान्ति विषयलाई केन्द्र बिन्दुमा राखेर सम्पदा संरक्षण समाज (इकोमस) नेपालको आयोजनामा वैज्ञानिक सम्मेलन सुरु भएको हो।

सम्मेलनको बुधबार लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले शुभारम्भ गरेका हुन्। यसअघि अक्टोबर ११ देखि सुरु भएको इकोमसको बार्षिकसभाको समापन तथा वर्षगाँठ उत्सव मंगलबार सम्पन्न गरिएको थियो।

वैज्ञानिक सम्मेलन शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले बुद्धजन्मस्थल लुम्बिनीमा विभिन्न देशका सम्पदा विज्ञहरूको उपस्थितिमा इकोमसको वार्षिकसभा र वैज्ञानिक सम्मेलन गरेकोमा धन्यवाद व्यक्त गरे। उनले शान्तिभूमि लुम्बिनीमा गरिएको सम्मेलनले विश्वभर नै नयाँ सन्देश दिन सफल हुने विश्वास व्यक्त गरे।

शुभारम्भ कार्यक्रममा इकोमस अन्तर्राष्ट्रियका अध्यक्ष प्राध्यापक टेरेशा प्याटिसियो, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामा, युनेस्को नेपाल प्रमुख ज्याको दु टोयोट, सम्पदा विज्ञ कोषप्रसाद आचार्य, लुम्बिनी बौद्ध विश्वविद्यालयका कार्यवाहक रजिष्टार डा‍ गितु गिरी, थाई विहार लुम्बिनीमा प्रमुख भन्ते फ्रा राजबोधी सुफोथ, सांस्कृतिक सम्पदा विज्ञ काईवाईजे लगायतले बोल्दै सम्मेलनमार्फत सम्पदा संरक्षणका उत्कृष्ट अभ्यासका अन्तर्राष्ट्रिय मापदण्डहरू निर्माणमा अग्रणी भूमिका खेल्ने विश्वास व्यक्त गरे।

इकोमस नेपालका अध्यक्ष ज्ञानिन राईले सम्मेलनलाई सहभागी पाहुना, तथा स्वदेशी तथा विदेशी विज्ञहरुलाई स्वागत गर्दै बुद्धजन्मस्थल लुम्बिनीमा गरिएको वैज्ञानिक सम्मेलनले सांस्कृतिक सम्पदाको संरक्षण एवम् सुधारमा महत्त्वपूर्ण काम गर्ने विश्वास व्यक्त गरे।

युनेस्कोको सल्लाहाकार निकायको रुपमा रहेको इकोमसले विश्व सम्पदा सूचीमा अभिलेखको लागि प्रस्तावित सांस्कृतिक र मिश्रित सम्पदाहरूको मूल्यांकन गरी विश्व सम्पदा समितिलाई प्रदान गर्ने गर्दछ।

कार्यक्रममा इकोमस इन्टरनेशनलका सदस्यहरू सहित विश्वभरका सांस्कृतिक सम्पदा संरक्षणसँग सम्बन्धित विज्ञहरू, अनुसन्धानकर्ताहरू तथा नीति निर्माताहरू, सरकारी अधिकारीहरु, अन्तर्राष्ट्रिय पाहुुनाहरु सहित ६७ राष्ट्रका करिब ३०० स्वदेशी तथा विदेशी सहभागीहरू छन्। सम्मेलनमा विभिन्न विषयहरूमा प्राप्त २६० कार्यपत्रमध्ये छनौटमा परेका १९० वटा कार्यपत्रहरूको प्रस्तुतीकरण सहित छलफल हुने जनाइएको छ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको केन्द्रीय कार्यालयमा भइरहेको सम्मेलनमा प्रकोप, द्वन्द्व र शान्तिसँगै सम्पदा संरक्षणका सन्दर्भमा विभिन्न सेसनहरुमा छलफल हुनेछ। कार्यक्रममा नेपालका तर्फबाट सांस्कृतिक सम्पदा व्यवस्थापनमा सक्रिय ज्ञानिन राई, डा. काई वाईजे, एनी जोशी, डा. ईनु प्रधान सालिके, सृष्टिना श्रेष्ठ, देवेन्द्र भट्टराई सहित ईकोमस इन्टरनेशनलका सचिवालय सदस्यहरुले विभिन्न प्रस्तुति राख्नेछन्। प्रस्तुतीकरण सहित विशेषज्ञ प्यानल, स्थलगत भ्रमण गरी सम्मेलन अक्टोबर १९ तारिखमा घोषणापत्र जारी गरेर समापन गरिनेछ।

कार्यक्रमको लुम्बिनी बौद्ध विश्वबिद्यालय, लुम्बिनी विकास कोष, पुरातत्व विभाग, लुुम्बिनी सांस्कृतिक नगरपालिका, ओरियन्टीयल हेरिटेज साइट प्रोटेक्सन एलायन्स फ्रान्स, ब्रिटिस काउन्सिल, अष्ट्रेलिया इकोमस, इकोमस चाईन लगायतले साझेदारी गरेका छन्।

प्रकाशित: २९ असोज २०८२ १९:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast