
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा गुटगत लफडा ‘सदावहार’ जस्तो चल्छ। कहिले चरम त कहिले सामान्य जस्तो देखिने गुटगत लफडा अहिले फेरि सतहमा देखिएको छ।
राप्रपामा मुख्य गरी अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणाको गुट स्पष्ट देखिन्छ। भावी अध्यक्षका लागि तयारी गरिरहेका दुई नेता (राजेन्द्र–धवल) एकअर्काविरुद्ध उत्रिएका छन्।
लिङ्देन अध्यक्षमा दोहोरिन चाहन्छन् भने धवल यसैपटक अध्यक्ष बन्ने दाउमा छन्। भावी नेतृत्वकै लागि भइरहेको लफडा कहिले महाधिवेशनको मितिमा पुग्छ त कहिले पार्टीको सांगठनिक गतिविधितर्फ। तर लफडा भने निरन्तर चलिरहेको छ।
कतै नखुलेका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले पनि आज (बुधबार) सुरु भएको कार्यसम्पादन समितिको बैठक बहिष्कार गरे। लिङ्देनले आफूखुसी निर्णय लिने र अन्य नेताको राय नलिने भएकाले मिश्रले बैठक बहिष्कार गरेको उनी निकट नेताहरू बताउँछन्।
अहिले राप्रपामा आगामी महाधिवेशनको मितिको विषयमा विवाद चर्किएको छ। धवलपक्ष आगामी मंसिरभित्र महाधिवेशन हुनुपर्ने अडानमा छ।
राप्रपाको विधानअनुसार ४–४ वर्षमा नियमित महाधिवेशन गर्नुपर्छ। लिङ्देन अध्यक्षमा चुनिएको आगामी मंसिरमा ४ वर्ष पुग्छ। त्यसैले इतर पक्ष मानिने धवल गुट सोही मितिमै महाधिवेशन हुनुपर्ने अडानमा छ।
धवल पक्षले गत आइतबार धुम्बाराहीको नवदुर्गा पार्टी प्यालेसमा काठमाडौँमा उपलब्ध आफूपक्षीय केन्द्रीय सदस्यहरूको भेला बोलाएर महाधिवेशनको मिति तोक्न संस्थापन पक्षलाई दबाब दिएको थियो।
भेलाले मंसिरभित्र महाधिवेशन गर्नुपर्ने नभए विशेष महाधिवेशन बोलाउन लाग्नुपर्ने निष्कर्ष निकालेको थियो। भेलामा ९० जना केन्द्रीय सदस्य उपस्थित भएको धवलपक्षको दाबी छ।
‘मंसिरभित्रै महाधिवेशन हुनुपर्छ। हामी तत्काल महाधिवेशन चाहन्छौँ,’ भेलापछि धवलशमशेरले भनेका थिए। धवलपक्षले जसरी महाधिवेशनको दबाब दिइरहेको छ, त्यसरी नै संस्थापन पक्ष पनि विशेष परिस्थिति भन्दै कुनै पनि हालतमा महाधिवेशन सार्ने पक्षमा देखिएको छ।
संस्थापनपक्ष मानिने वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ भन्छन्, ‘मंसिर होइन माघसम्ममा महाधिवेशन हुन सक्छ।’ उनले जिल्ला र प्रदेशको अधिवेशनपछि मात्र महाधिवेशन हुने भएकाले समय लाग्ने बताए।
राप्रपाको विधानअनुसार ‘विशेष कारणवश’ एक वर्ष महाधिवेशनको समय धकेल्न पाइन्छ। यदि लिङ्देनले चाहे २०८३ मंसिरसम्म महाधिवेशन लैजान सक्छन्। तर महाधिवेशन गर्ने पक्षमै लिङ्देन रहेको संस्थापन समूहको बुझाइ छ।
यता इतरपक्ष भने संस्थापन पक्षले महाधिवेशन नचाहिरहेको आरोप लगाउँदै आएको छ।
किचलोले बढ्दैछ दूरी
राप्रपामा किचलो छरपस्ट छन्। पार्टीभित्र अध्यक्षले गरेका कारबाही, अनुशासनहीन गतिविधिदेखि राजावादी आन्दोलनमा सहभागिताका विषयले धवल र लिङ्देनबीच दूरी बढाएको छ। एकपछि अर्को गर्दै लिङ्देनले धवलपक्षका नेतालाई कारबाही गरेका थिए। यो विषयलाई इतरपक्षले एजेन्डा बनाएको छ।
राप्रपा स्रोतका अनुसार यी सबै विषयको निकास खोज्न राप्रपामा लगातार छलफल पनि चलिरहेको छ। राप्रपाका एक नेताका अनुसार यसअघि ९ जना नेताबीच छलफल चलेको थियो।
ती नेताका अनुुसार इतरपक्षबाट महामन्त्रीद्वय धवलशमशेर राणा, कुन्ती शाही र उपाध्यक्ष विक्रम पाण्डे वार्तामा थिए। संस्थापन पक्षबाट भने उपाध्यक्ष हेमजंग गुरुङ, वरिष्ठ उपाध्यक्षद्वय ध्रुवबहादुर प्रधान र बुद्धिमान तामाङ वार्तामा थिए।
उनीहरूको वार्तालाई सहजीकरण गर्न पूर्वअध्यक्ष पुशपतिशमशेर जबरा, अध्यक्ष राजेन्द्र लिङ्देन र डा. प्रकाशचन्द्र लोहनी पनि थिए। स्रोतका अनुसार उनीहरूबीच एक चरण बैठक बसेको थियो। ‘अर्को चरण सहजीकरण गर्ने नेताबाहेक अन्य ६ जनाको पनि बैठक बस्यो। तर कारबाहीका विषयमा कुरा अल्झिएपछि समस्याको समाधान भएन,’ ती नेता भन्छन्।
धवलपक्षले आफूहरूमाथि भएको कारबाही निशर्त फिर्ता हुनुपर्ने अडान लिएको थियो। जबाफमा संस्थापनपक्षले पार्टीको अनुशासन समितिमार्फत् कारबाही प्रक्रिया अघि बढ्ने बताएको थियो। तर धवलपक्षले अनुशासन समिति समेत अवैध भएकाले स्वत: कारबाही खारेज हुनुपर्ने अडान राख्यो।
‘अनुशासन समितिमा वरिष्ठ नेता नवराज सुवेदीलाई हटाएर रोशन कार्कीलाई राखिएको छ। जुन प्रक्रिया नै गलत छ,’ इतर पक्षका एक नेताले भने, ‘हामीले निर्वाचन आयोगमा उजुरी दिएका छौँ। यति हुँदाहुँदै सोही समिति मान्न तयार छैनौँ।’
यही विषयले वार्ता भाँडिएको ती नेताको भनाइ छ। यसअघि फेरि ९ जनाकै बैठक बस्ने तयारी भए पनि अध्यक्ष लिङ्देनले आलटाल गरेको इतरपक्षका नेताहरू बताउँछन्। गत आइतबार बसेको इतरपक्षको बैठकले पनि संस्थापन पक्षले कारबाही फिर्ता गरेपछि मात्र महाधिवेशनको वातावरण बन्ने बताएको छ।
हालसम्म इतर पक्षको मागमा संस्थापनपक्षले समेटेको समेत देखिँदैन। लिङ्देनले विभिन्न नेतालाई यसअघि कारबाही गरेका थिए। ती कारबाही फुकुवा गर्ने पक्षमा लिङ्देन देखिँदैनन्। लिङ्देनले पदीय अनुकूल काम नगरेको भन्दै प्रवक्ताबाट सगुनसुन्दर लावती, उपाध्यक्षबाट मुकुन्दश्याम गिरीलाई हटाएका थिए।
यसअघि लिङ्देनले भारतमा उपचारका रहेका बेला महामन्त्री धवलशमशेरलाई संगठन विभागको प्रमुखबाट समेत हटाएका थिए। वरिष्ठ नेता रहेका नवराज सुवेदीसमेत अनुशासन समितिको अध्यक्षबाट हटाइएका थिए।
सुवेदीले राजावादी आन्दोलनको संयोजक बन्दा तटस्थ रहनका लागि भन्दै सुवेदीले राप्रपा छाडेको घोषणा गरेका थिए। त्यही भनाइका आधारमा राप्रपाले उनलाई पदबाट हटाएको हो। पद फर्काउनका लागि धवलपक्ष निर्वाचन आयोगसमेत गएको थियो।
दबाब बढाउँदै इतर, आफ्नै अडानमा संस्थापन
इतरपक्ष मानिने धवलपक्षले संस्थापनपक्षमाथि महाधिवेशनको मिति तोक्न निरन्तर दबाब दिइरहेको छ। महाधिवेशनको मिति तोकेपछि मात्रै जिल्ला र प्रदेशमा अधिवेशनको माहोल बन्ने र नेताहरू पनि खुल्ने मौका पाउने राप्रपाका एक नेता बताउँछन्।
उनी भन्छन्, ‘मिति नै नतोक्दा कार्यकर्तामा रौनकता कम हुन्छ। पहिले महाधिवेशनको मिति तोक्नुपर्छ, अनि मात्र अरू काम हुन्छ।’
उनका अनुसार हालसम्म पाँच जिल्लाको मात्र अधिवेशन भएको छ। इतरपक्षले अध्यक्ष लिङ्देनलाई जिल्लाको अधिवेशन हुने माहोल बनाउन समेत दबाब बढाएको छ।
‘प्रदेशको एकैदिन अधिवेशन गर्न सकिन्छ। तर जिल्लाको केही समय लाग्छ। जिल्लाको अधिवेशनको माहोल बनाउनुपर्छ,’ इतरपक्ष एक नेता भन्छन्।
संस्थापन पक्षधर नेता भने जिल्लाको अधिवेशन गर्ने कार्यभार अध्यक्ष लिङ्देनको मात्र नभएको बताउँछन्। धवलले महाधिवेशनका लागि दबाब दिए पनि आफ्नै जिल्ला बाँकेमा अधिवेशन गर्न नसकेको संस्थापन पक्षका एक नेताले आरोप लगाए। उनले भने, ‘बरु अध्यक्षज्यूले झापाको अधिवेशन गर्नुभएको छ।’
हालसम्म झापा, कालीकोट, उदयपुर, काभ्रे र भक्तपुरमा अधिवेशन भइसकेको छ। अन्य जिल्लाको पनि अधिवेशन गर्ने तयारी भइरहेको राप्रपाका नेताहरू बताउँछन्।
महाधिवेशनको मिति पनि आगामी केन्द्रीय समिति बैठकले तोक्ने सम्भावना रहेको राप्रपा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ बताउँछन्। तर मंसिरभित्र तोक्ने सम्भावना भने न्यून देखिन्छ। संस्थापन पक्ष जतिसक्दो महाधिवेशनको मिति पछाडि सार्ने कसरतमा रहेको इतरपक्षको आरोप छ।