
मध्यपूर्वमा पर्ने एक सानो तर शक्तिशाली देश इजरायल पश्चिमतिर भूमध्यसागरले घेरिएको छ। बाँकी उसका छिमेकीहरू इजिप्ट, जोर्डन, सिरिया, लेबनान र प्यालेस्टाइन छन्। यी देशका बीचमा रहेर इजरायल एक आकर्षक रोजगारी दिने देशका रूपमा स्थापित भएको छ। रोजगारीका लागि एसियाली देशहरू थाइल्यान्ड,फिलिपिन्स, भियतनाम, श्रीलंका, भारत, चीन र नेपाल लगायतकादेशहरूबाट मानिसहरू कामको लागि आउँछन्। इजरायलमा अन्य देशको तुलनामा नेपालबाट रोजगारीका लागि जानेहरूको संख्या थोरै छ। त्यसो हुनुको मुख्य कारण जी टू जीबाट मात्रै केही संख्यामा नेपालीहरू केयर गिभरका रूपमा आउनु हो।
इजरायको रोजगारीमा सन् २००९ सम्म करिब २५ हजार हाराहारी नेपाली रहेकामा अहिले ६ हजार जति मा पुगेको छ। पुराना नपाली व्यक्तिगत केयर गिभका रूपमा छन् तर अधिकांश गैरकानुनी रूपमा बसिरहेका छन्। कोही शरणार्थीका रूपमा छन्।
सन् २०१६ बाट सरकारी स्तरबाट दुवै देशबीच सम्झौता गरी जी टू जीबाट आएका नेपाली कामदार पनि पाँच वर्ष पूरा भइसक्दा पनि नेपाल नफर्की भिसा बढाएर वा अन्य हिसाबले रोजगार गरी बसिरहेका छन्।
जी टू जीबाट आउने नेपाली करिब तीन हजार छन्। पछिल्लो पटक केयरका लागि छनोटमा परेका दुई हजार एक सय १२ जनामध्ये १२ सय जना आइसकेका छन्। बाँकी स्वास्थ्य परीक्षण गरी आउने क्रममा छन्।
इजरायलमा रोजगारका अवसरहरू पाइने क्षेत्रमध्ये सर्वाधिक चर्चित क्षेत्र केयर गिभर हो। यसबाहेक होटेल लाइन, निर्माण, सर्भिस लाइन, कृषि र उद्योग क्षेत्र हुन्। केयर गिभर तथा महत्त्वपूर्ण कृषि क्षेत्र र सर्भिस क्षेत्रमा नेपाली संलग्न छन्। यसै सन्दर्भमा नेपाली कामदार इजरायलमा के कस्तो अवस्थामा कुन आधारमा रही रोजगार गरिरहेका छन्? त्यसबारे यहाँ चर्चा गरिन्छ।
केयर गिभर/सहायक स्वास्थ्यसम्बन्धी कामदार
यस समूहमा सामूहिक स्वास्थ्य केन्द्रहरूमा कार्य नर्सिङ सेवामा आधारित केयर गिभर/Nursing base-Beitabo र व्यक्तिगत घरमा आधारित केयर गिभर/Home base-family पर्दछन्।समूहगत रूपमा काम गर्ने केयर गिभरहरू जसलाई वृद्धवृद्धा, अपांग र अशक्त इजरायली नागरिकको हेरचाह गर्ने स्वास्थ्य सहायक कामदार भनिन्छ। इजरायलका ठाउँठाउँमा यस्ता वृद्धालाई कुनै केयर सेन्टर खोलेर त्यहाँ राखी हेरचाह गर्ने कामदारलाई सेवा गर्न लगाइन्छ।
ती कामदारको सेवासुविधा केही राज्य सरकारबाट र केही वृद्वा आमाबुवाका छोराछोरीहरूले व्यहोर्छन्। निश्चित तलबतथा सेवासुविधा हेरचाहमा संलग्न केयर गिभर कामदारलाई प्रदान गरिन्छ। यो सबै इजरायली श्रम कानुनअनुसार निर्देशित छ। समूहगत हुने हेरचाहबाहेक व्यक्तिगत रूपमा कुनै इजरायली वृद्धवृद्धाहरूले केयर गिभर घरमा राखी सेवा लिने पनि गरिन्छ। यस्तो व्यक्तिगत हेरचाह पनि इजरायलमा निकै झाँगिएको छ।
यसरी हेर्दा समूहगत रूपमा काम गर्ने नेपाली कामदाको संख्या करिब ३ हजार छ। यो संख्या सन् २०१७ बाट जी टू जी सम्झौताअनुसार कामदार आउन थालेदेखि बढ्दै गएको छ। व्यक्तिगत केयर गिभरको संख्या यकिन हुन नसके पनि करिब १५ सय नेपालीले यस क्षेत्रमा काम गरिरहेको देखिन्छ।पुराना नेपाली केयर गिभरहरू इजरायल बसेको पनि २०/२२ वर्ष हुँदा यस्ता ब्यक्तिगत हेरचाहका रूपमा काम गर्ने केयर गिभरको भिसा मालिककै सिफारिसकै आधारमा प्राप्त हुन्छ भने जी टू जी मोडेलमा काम गर्नेको भिसा सर्वप्रथम नेपालबाटै पाइने र पछि केयर सेन्टरको सिफारिसका आधारमा भिसा नवीकरण हुने व्यवस्था छ।
कृषि क्षेत्रका कामदार
इजरायलमा रोजगारीका क्षेत्रमध्ये कृषि क्षेत्र प्रमुख रूपमा छ। आधुनिक प्रविधिको अधिकतम प्रयोग गरी गरिने हुनाले इजरायलको कृषि प्रणाली विश्वभर चर्चित छ। कृषिजन्य प्रविधि प्रयोग गरी खेती गरेर इजरायलले आफूलाई चाहिने कृषि उत्पादन प्रशस्त गरेको छ। कृषियोग्य जमिन थुप्रै छन्। कृषि उत्पादन बढाउन कामदार चाहिन्छ।
थाइल्यान्ड/फिलिपिन्स/श्रीलंका र भारतबाट कामदार पूर्ति हुँदा नेपालबाट भने कृषिमै काम गर्ने भनेर फरक बाटोबाट आएका नेपाली कामदारको संख्या करिब पाँच सयजना छन्।उनीहरू आउनेबित्तिक्कै कृषि भिसा पाउँछन् र त्यो भिसाले अन्यत्र काम गर्न पाउँदैनन्।
इजरायलका ठूलाठूला फाँटमा खेतीपाती गरिने भएकोले सुरक्षाका दृष्टिकोणले असुरक्षित मानिन्छ। सकेसम्म इजरायलले सुरक्षित बनाउने प्रयास गरिरहेको छ। सुरक्षा चुनौतीका कारण कृषि क्षेत्रको नजिकै ठूलाठूला बंकर निर्माण गरिएका छन्।
लर्न एन्ड अर्न/Learn and Earn-Short term worker
यो एक प्रकारको छोटो अवधिको रोजगारमूलक कार्यक्रम हो। यो सैद्धान्तिक र प्रयोगात्मक शिक्षासँग सम्बन्धित छ। कलेजमा एकदिने सैद्धान्तिक कक्षा र कृषि क्षेत्रमा पाँचदिने प्रयोगात्मक काम हुन्छ।यही प्रयोगात्मक कामबापत विद्यार्थीले तलब पाउँछन्। कृषि क्षेत्रको पशुपालन, कुखुरापालन, फलफूलखेती, तरकारीखेती आदि क्षेत्रमा विद्यार्थीले काम गर्नुपर्ने हुन्छ। स्मरण रहोस्-इजरायलको नीति उसको मरुभूमियोग्य जमिनमा सकेसम्म पानीको आपूर्ति पुर्याएर खेती गर्नु हो।
नेपालका कृषि विश्वविद्यालय र इजरायलका कृषि कलेजबीचको सम्झौताअनुसार ज्ञान, प्रविधि र सीप आदानप्रदान गर्ने उद्देश्यअनुरूप लर्न एन्ड अर्न कार्यक्रम पछिल्लो पटक सन् २०२३ सेप्टेम्बरमा सुरु भयो। सोहीबमोजिम २५० भन्दा बढी नेपाली विद्यार्थी आफ्नो पेसागत इन्टर्नसिप गर्न इजरायल आएका थिए। यो ११ महिना अवधिको हुन्छ। ज्ञानमा आधारित काम सिक्दै कमाइ पनि गर्ने यसको उद्देश्य हो। निश्चित कोर्स पूरा भएपछि नेपाल फर्कने गरी यो कार्यक्रम तय गरिएको हुन्छ।
यसबाट प्राप्त सीप र प्रविधिजन्य ज्ञान नेपालको परिवेशमा लागू गराउने उद्देश्य राखिन्छ। हाल यो निष्क्रिय छ। यसलाई पुनः अगाडि बढाउन प्रयास भइरहेका छन्।किनभने लर्न एन्ड अर्न कार्यक्रम नेपालको कृषि प्रणालीलाई आधुनिकीकरण गर्न सहायक सिद्ध भएको छ। तर यसरी तालिम प्राप्त नेपाली कृषि विज्ञ नेपाल फर्की आफ्नो विज्ञता नेपाली माटोमा देखाउनैपर्ने नियम लागू गरेमा मात्र यो कार्यक्रम सफल हुने देखिन्छ।
अझै यस कार्यक्रमको व्यावहारिक पक्ष नेपालको सन्दर्भमा यो हुन सक्छ- जस्तो कृषि विज्ञता हासिल गरेका विद्यार्थीको अतिरिक्त साना किसान कार्यक्रममा संलग्न किसानलाई नै यस्तै कृषि तालिममा आवश्यक व्यवस्था गरेर इजरायलको आधुनिक कृषि प्रणाली देखाउन पाए अझ प्रभावकारी हुने देखिन सक्छ। यसतर्फ पनि पुनः सोच्नु पर्ने समय आएको छ।
रोजगारको अर्को महत्त्वपूर्ण माध्यम इजरायलमा निजी कम्पनीमार्फत पनि अस्थायी रूपमा निश्चित कामदारहरू विशिष्ट क्षेत्रमा पनि आउने प्रचलन छ। तर नेपालको हकमा यो हाल बन्द छ। तथापि खुलाउने गृहकार्यमा अझै प्रगति हुन सकेको छैन।
रोजगार दिने व्यापारिक निजी कम्पनी र भर्ना गरी पठाइदिने कामदार व्यापारिक कम्पनीबीच त्यस देशको श्रम कानुनअनुसार कामदार प्राप्त गर्ने रोजगारदाता कम्पनी र कामदार आपूर्ति गरिदिने कम्पनीले आपसमा सम्झौता गरी रोजगार दिने कार्य नै बी टू बी अर्थात् बिजिनेसबाट बिजिनेस हो।यसमा निजी क्षेत्रका कम्पनी संलग्न रहन्छन्।
दुवै पक्षले सम्बन्धित देशमा दर्ता भई विदेशी कामदार आदानप्रदान गर्न सरकार पक्षबाट अनुमति प्राप्त गरेका हुन्छन्।सरकार प्रत्यक्ष संलग्न नभए पनि कानुनबमोजिम ती कम्पनीहरूका मागपत्र दूतावास वा अन्य निकायबाट प्रमाणित गरिदिने अभ्यास र प्रचलन छ जुन व्यक्तिगत मागपत्र र समूहगत मागपत्र अहिले देशअनुसार सम्बन्धित दूतावासले प्रमाणीकरण गर्दै आएका छन्। उदाहरणका लागि नेपाल-साइप्रसबीच कुनै श्रम सम्झौता छैन। साइप्रसमा २० हजारभन्दा बढी नेपाली कार्यरत छन्।
इजरायलको हकमा निजी कम्पनीमार्फतको रोजगारी : आवश्यकता र चुनौती
इजरायलमा लामो समय बसेका एक जानकार नेपाली नरेन्द्र पराजुलीका अनुसार इजरायलका निजी व्यावसायीहरूको एक समूहले नेपालबाट केयर गिभरलगायतका क्षेत्रमा कामदार ल्याउन आग्रह गरेबमोजिम नेपालका निजी व्यावसायीसमेतको पहलमा तत्कालीन श्रममन्त्री पाल्टेन गुरुङको कार्यकालमा बी टू बी मोडेलबाट इजरायलमा नेपाली कामदार पठाउन सुरु भएको हो। सन् २००३ बाट इजरायलमा नेपाली कामदार पठाउन थालिएको हो। नेपालबाट निजी कम्पनीमार्फत इजरायलमा विभिन्न क्षेत्रमा कामदार ल्याउन देहायअनुसार प्रारम्भ भएको थियो :
- सन् २००३ मा केयर गिभर क्षेत्रबाट सुरु।
- सन् २००४ मा कृषि क्षेत्रमा सुरु।
- सन् २००५ मा होटेल लाइन क्षेत्रमा सुरु।
- सन् २००६ मा यी सब क्षेत्रमा बन्द।
- सन् २००८ मा सबै क्षेत्रमा पुनः खुला।
- सन् २००८ को अन्ततिर पुनः बन्द।
- सन् २०११ मा केयर गिभर क्षेत्रमा पुनः खुला भए तापनि कार्यान्वयनमा नआएको।
- सन् २०१६ मा जी टू जी लागू।
यसरी नेपाल-इजरायलबीचको श्रम सम्बन्धमा उतारचढाव आउँदा इजरायलमा रोजगार क्षेत्रले दिगोपन ल्याउन नसकेको विगत छ। इजरायलको रोजगारलाई व्यवस्थित बनाउनुको सट्टा गिजोलिएको छ। बारम्बार इजरायल र नेपाल पक्षबाट वेवास्ता गर्दा बी टू बी असफल रहँदा नेपालीहरू दार्जिलिङ, आसाम क्षेत्रमा गई भारतीय राहदानी बनाएर इजरायल आउने गरेका छन्। उनीहरूका कन्सुलरसम्बन्धी काममा धेरै समस्या आउँदा विगतको इतिहासले वर्तमानलाई झस्काएको छ।
अन्य बाटोबाट आउने केही नेपाली भिजिट भिसाबाट आएर यही रोजगारी भिसामा बदल्ने गरेको पाइन्छ। भन्नैपर्ने कुरा के पनि देखिन्छ भने तत्कालीन अवस्थामा बी टू बीलाई म्यानपावर कम्पनीबाट अव्यवस्थित पारिएको हो कि भन्ने ठाउँ छ। परन्तु त्यतिबेलैदेखि यस मोडेललाई सरकारी र निजी व्यापारिक क्षेत्रबाट व्यवस्थित रूपमा चलाएको भए आज दुवै सरकार पक्ष अल्मलिनु पर्दैन थियो। अब यसमा ढृढ विश्वास र इमानदारको खाँचो छ।नेपाली कामदारहरू आर्थिक शोषणमा नपर्ने गरी निश्चित मापदण्ड बनाई पुनः यही मोडेलमा सुरु गर्न सकिन्छ।
अन्य एसियन तथा अफ्रिकी देशहरूबाट बी टू बी मोडेलबाट कामदारहरूको आपूर्ति गरिरहेको इजरायलले उनीहरूलाई कृषि, निमार्ण र आतिथ्य क्षेत्रमा रोजगार दिइरहेको छ। नेपालबाट यो मोडेलको पुनः प्रयोग हुन सकेको छैन। यसमा सम्बन्धित पक्षबाट हेलचक्रयाइँ भएकै हो। नेपाल दक्षिण एसियाका मुलुकमध्ये सर्वप्रथम इजरायललाई मान्यता दिने पहिलो राष्ट्र भनेर मात्र नहुने रहेनछ। सन् १९६० मा नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको सरकारले इजरायललाई मान्यता दिई दौत्य सम्बन्ध कायम गरेको गर्विलो इतिहास छ।
यस्तो महत्त्वपूर्ण इतिहास रचेको दुई देशबीचको सम्बन्धमा पनि बी टू बी मोडेलको माध्यममा नेपालबाट इजरायल कामदार ल्याउने काम शून्य छ। हजारौँ संख्यामा अरू देशबाट कामदार आएर रोजगारी गर्दा नेपालको परिवेशमा किन यो मोडेलमा कामदार यहाँ आउन पाएनन्। इजरालयलाई सन् २०२३ अक्टोबरपछि हजारौँ कामदार आवश्यक परे। यो आवश्यकता थाहा पाएर नेपाली दूतावासले यो मोडेलमा कामदार ल्याउन प्रयास नगरेको होइन। तर उच्च तहबाट अगाडि बढेन।त्यसो हुँदा एकजना पनि यो मोडेलबाट आउन नपाउनु इजरायलको रोजगारलाई नेपालले छायामा पार्नु हो।
आकर्षक रोजगारी हुँदाहुँदै कुन कस्तो मनो विज्ञानले यो रोजगारीलाई लत्याइयो। नेपालबाट यो मोडेल नखुल्दा फरक बाटोबाट नेपालीहरू इजरायल आउँदा कृषि कार्यमा संलग्न त्यस्ता नेपालीको संख्या अहिले सम्म ४५० जनाको हाराहारीमा छ। आफूलाई कामदार आवश्यक पर्दा ई-भिसा दिएर भए पनि तेस्रो मुलुकको बाटो भएर कृषि कामदार यहाँ ल्याई राखेको देखिन्छ।
१३ जुन २०२५ मा इजरायल-इरान द्वन्दबाट इजरालयमा थुप्रै भवनहरूमा क्षति पुग्यो। ती क्षति पुगेका पूर्वाधारमा इजरायललाई तत्कालै प्लास्टर, टाइलिङ, फिक्सिङ, कार्पेन्टर, व्रिकवर्क आदिमा काम गर्न झण्डै ७५ हजार कामदार चाहिएको छ। कामदार बफादार, इमानदार र विश्वासिला हुनुपर्छ भन्ने इजरायलीको माग छ। त्यस्तो विशेषता नेपालीमा प्रचुर मात्रामा छ। उनीहरूले नेपालीलाई अधिक मन पराउँछन्। त्यसैले नेपाली कामदारको माग तुलनात्मक रूपमा धेरै छ।
यस्तो माग हुँदाहुँदै हामीले यस सम्बन्धमा काम गर्न ढिला गर्दा इजरायलीले नेपाली मूलका भारतीयबाट यही मोडेलमा कामदार ल्याएर काम लगाउन बाध्य भएका छन्। अन्यथा नेपालीहरू बी टू बी मोडेलमा आउँथे भने उनीहरूको पहिलो रोजाइ नेपाली हुन्छन्। इजरायलमा भारतबाट बी टू बी हुने नेपालबाट नहुँदा दोहोरो मारमा भारतीय बाटोबाट आउनेहरू परेका छन्।खुला सिमाना, वारिपारि आफन्त र कतिपय अन्य सम्बन्धकै कारण पनि भारतीय पहिचान बोकेर नेपाली इजरायल आएको पाइन्छ।
इजरायलको आकर्षक रोजगारी लत्त्याएर थोरै तलबसुविधा हुने खाडी देशहरूलाई प्रोत्साहित गर्नुले हामीमा थोरै पनि मन्थन-चिन्तन गर्ने संस्कार नबसेको स्पष्ट हुन्छ। कार्यान्वयन पक्षधरका कर्मचारीमा उदारमुखी र खुला विवेकपूर्ण व्यहोराको संस्कार छ। यहाँ म्यानपावर कम्पनीले अधिक पैसा असुल्छन् भन्ने सबैलाई भय छ। त्यसो हो भने त्यस्ता कम्पनीलाई बलियो आचारसंहिता बनाएर लागू गर्न सके उनीहरूमार्फत बेरोजगारी नेपालीहरूको उद्धार गर्न सकिने थियो।जहाँसम्म इजरायलमा शान्ति सुरक्षाको विषय छ त्यो लगातार हुने होइन भए पनि सुरक्षाका आधारभूत संयन्त्रले नियन्त्रण गरेकोले आत्तिहाल्नु पर्ने देखिँदैन।
इजरायलमा विकासका सबै पक्ष उपयुक्त ढंगले चलेको पाइन्छ। सामाजिक कल्याणकारी सुरक्षा र नागरिक भावना र चेतना उच्च मनोभावले चलेका छन्। वैदेशिक कामदारहरूमा खाडीका मुलुकमा भए जस्तो समस्या छैन।आवास, तलब, बिमा, बिदा, ओभरटाइम र श्रम सुरक्षा आदिमा कम्पनी र कामदारबीच समझदारी छ।इजरायल मात्र यस्तो देश हो जहाँ स्वदेशीविदेशी सबैलाई न्यूनतम ज्यालामा समान व्यवहार छ र मानवअधिकारको पूर्व सबल मान्यतासहित रोजगारीको सम्मान र कदर गरिन्छ।
इजरायल कैयौँ पटक द्वन्द्वमा फसे पनि उद्योग वाणिज्य व्यापार आफ्नै छ। ग्रामीण क्षेत्रबाट सहरीकरण विस्तार भइरहेको छ। विशाल व्यापारिक टावर निर्माण भइरहेका छन्।आफूलाई चाहिने खाद्यान्न तथा तरकारी उत्पादन गरिरहेको छ।कृषिको बृहत्तर विकास गरिरहेको मुलुकभित्र पर्दछ इजरायल।यसै कारण यहाँ बजार/उद्योग/निर्माण/स्वास्थ्य र कृषिमा निरन्तर विदेशी कामदार आवश्यक परिरहन्छन्। हाल यहाँ एक लाखको हाराहारीमा विदेशी कामदार छन्।
नेपालबाट यसरी न्यून संख्यामा कामदार हुनुमा बी टू बी नहुनु हो।अन्य देशबाट इजरायलमा बी टू बीबाट आउनु, खाडी देशहरूमा बी टू बीबाटै लाखौँ नेपाली कामदार जान सक्नु तर इजरायलको हकमा बी टू बी लागू गर्न आनाकानी हुनु दुवै सरकार पक्षबाट गम्भीर अध्ययन नहुनु हो। नेपाली कामदारको छिटो स्तर उन्नति खाडी देशहरूमा काम गर्दा हुन्छ कि इजरायलमा काम गर्दा हुन्छ? यस विषयमा कारण एउटै छ- इजरायल असुरक्षित छ भनिए तापनि यो सदावहार होइन। यो कालान्तरमा सुरक्षित समाजमा फर्किहाल्ने प्राकृतिक अवस्था हो। नेपालबाट इजरायलमा बी टू बी मोडेल लागू हुँदा नेपाललाई निम्नानुसार फाइदा पुग्ने देखिन्छ।
१- बी टू बी को पुनः सुरुवात नभएकै हुनाले नेपालीहरू रोजगारीका लागि भारतीय राहदानीवाहक भई इजरायल आउने क्रम भएकोमा सो वृद्वि रोकिने थियो।
२- खाली पेटकै निहुँका कारण आफ्नो देशको राष्ट्रियता बेरोजगारीको निहुँमा बदल्नुपर्ने थिएन।
३- भिजिट भिसामा आएर शरणार्थी अवस्थामा बस्नुपर्ने थिएन।
४- बी टू बी हुँदा राजस्ज र रिमिट्यान्समा उल्लेख्य वृद्धि हुनेछ।
५- इजरायल आउने बेरोजगार नेपालीले केही वर्षमै आफ्नो घरपरिवार समृद्ध बनाउन सक्ने देखिन्छ।
६- इजरायलको ज्ञान, सीप र प्रविधि देशमा भित्र्याउन सकिन्छ।
७- वैदेशिक रोजगारमार्फत गरिबी निवारणमा मद्दत पुग्ने देखिन्छ।
यस्ता लाभ हासिल गर्नका लागि सरकारी पहल पुनः जारी हुनुपर्छ। यस दूतावासले पहल नगरेको होइन। गरिरहेको अवस्था छ। यस्ता लिन खाडी मुलुक जाने नेपाली कामदारलाई मध्यपूर्वतिर खिच्दा छिट्टै नेपाली कामदारहरूको आर्थिक समृद्वि बलियो हुने देखिँदा अब धेरै समय कुर्नुपर्ने विषय होइन। हाम्रा अनुदार मनविचार र सोचलाई फराकिलो बनाउन मात्र जरुरी छ।
एकपटक सबै तहतप्काले गम्भीर मन्थन गर्नुपर्ने देखियो। महिनामा ५० हजार कमाउन खुरुखुरु खाडी जान दिने तर दुईतीन लाख कमाइ हुने देशमा छेक्नु व्यावहारिक देखिँदैन। गरीबीका कारण राष्ट्रियता बदलेर बिदेशिनु पनि नेपालीका लागि राम्रो होइन।यसमा हामीले हाम्रो गरिबीलाई विश्वमा धेरै देखाउनु पनि हुँदैन।सकेसम्म हामीले हाम्रो गरिबीलाई छोप्नुपर्छ। जापानमा पढ्ने नाममा जाने भाषा अध्ययनले पनि कामदारकै रूपमा काम गर्न जाने यथार्थ सबैलाई थाहा छ। तै पनि ६ देखि ९ लाख रूपैयाँ खर्च गरी जापान जान दिने गरेको पनि यथार्थ हो। उनीहरू पूर्ण रोजगारीका रूपमा गएका हुँदैनन्।
इजरायलसँग रोजगारीको अधिकतम् संख्या बढाउने दृष्टिकोणले पठाइएका मागपत्रहरूको सुनुवाइ भएको छैन। त्यसैले इजरायलको हकमा कामदार मागपत्रसम्बन्धी बी टू बी मोडेल कहाँ कसरी अडकिएको छ? समस्या कहाँ छ? सिंहदरबारमा दैनिक हुने बैठकले छेकेको हो कि? नीति बनाउन अल्छी गरिएको हो कि? उच्च तहबाट जिम्मेवारी पन्छाइएको हो कि? विभागीय मन्त्रीज्यूको आदेशको बेवास्ता भएको हो कि? होइन भने सम्बन्धित जिम्मेवार पक्षलाई चासो र चिन्ता किन नहुने? जिम्मेवारीपूर्वक काम हुन सकिएन भने त्यो कामको क्षेत्राधिकार परराष्ट्र मन्त्रालयमा सार्नुपर्ने आवश्यकता छ कि? तथ्य र सत्यलाई बुझेर आगामी दिनमा जनतालाई राम्रा अवसर दिऔँ र सबैको घरआँगन उज्यालो पारौँ। यस्तै विचार मनन गरेमा सवै पक्षबाट लोककल्याणकारी राज्यको अवधारणा आत्मसात् गरी समृद्व नेपाल बनाउन सजिलो हुनेछ।
इजरायलमा नेपालीको अवस्था
नेपालीहरू विभिन्न अवरोह सँहदै इजरायल बस्दा उनीहरूको अवस्था सामान्यतया राम्रै देखिन्छ।अधिकांशले घरायसी अवस्था दरिलो बनाएको पाइन्छ भने केहीले नेपालबाहिर आफ्ना सन्ततिलाई अध्ययनका लागि पठाएको अवस्था छ। तर पनि यहाँ केही कुराहरूमा नेपाली समाज नराम्रोसँग फसेको स्थिति छ। यहाँ बस्ने नेपालीमध्यै धेरै जसो महिला भएकोले उनीहरूको परिवारसँग विग्रह देखा परेको छ। सम्बन्धविच्छेदका घटना पनि निम्तिएका छन्।
इजरायलमा पैसाका लागि दिनरात रोजगारीमा खटिनुपरेको अवस्थामा नेपाली कामदारहरूको स्वास्थ्यमा गम्भीर समस्या देखा परेका कुरा सुनिन्छन्।कोही नेपालीले बिचौलिया/दलालीलाई आफ्नो कमाइ फसाएका छन्। बिनाकागज आर्थिक लेनदेन गरेका छन्। ढुकुटी र हुण्डीले उनीहरूको निजी जीवनमा तनाव थुपारेको पाइन्छ। आफ्नो कमाइ रिमिटेन्सबाट पठाउने प्रचलनले अवैधानिक बाटो कम भएको अवस्था देखिन्छ। तर पनि इजरायलमा बसेको नेपाली समाज एकता भन्दा अनेकतामा रमाउने समूह बनेको छ। क्षेत्रगत र जातिगत संघसंस्था खुलेका छन्। विचारणीय पक्ष के हो भने सबै समूह र वर्ग अनेकतामा बाँचे पनि नेपाली एकतामा जोडिनुपर्छ।यसका लागि बरु एउटा मात्र संस्था ‘नेपाली समाज, इजरायल’ कल्पना गरौँ।
यहाँ बस्ने नेपालीहरूको कानुनी पाटो हेर्दा पुराना नेपाली कामदार धेरैजसो भिसा सकिएर गैरकानुनी बनेका छन्।अधिकांशको भिसा छ। नेपालीहरूको बसाइको कानुनी आधार हेर्दा नेपालीहरूको अवस्था निम्नानुसार भएको पाइन्छ।
- सन् २०१६ देखि जी टू जीबाट आएका भिसा लगाई बसेका नेपाली कामदार
- सन् २०१६ देखि जी टू जीबाट आएका तर भिसा नपाई बसेका नेपालीदेखि विभिन्न माध्यमबाट इजरायल आएका र भिसा नलगाई बसेका नेपाली
- सन् २००३ देखि आभएका थोरैले भिसा लगाई बसेका नेपाली
- सन् २००३ देखि इजरायल आएका र इजरायलीसँग विवाह गरी बसेका नेपाली मूलका विदेशी नागरिक
- नेपाली नागरिक भनिए तापनि छिमेकी देशको राहदानी वाहक नेपाली
- कृषिकार्यका लागि तेस्रो देशको बाटोबाट आई कृषि भिसामा कार्यरत नेपाली कामदार
- इजरायल सरकारबाट शर्णार्थी भिसा प्राप्त गरी बसेका नेपाली
- इजरायली भिजिट भिसामा आएका नेपाली
- इजरायली शैक्षिक संस्थामा अध्ययनका लागि आएका विद्यार्थी
माथिका अवस्थामा गुज्रिएका नेपाली कामदारहरूले इजरायलमा अन्य देशको भन्दा आकर्षक वेतन पाउँदा सकेसम्म कसैले पनि नेपाल फर्कने इच्छा नगर्नु इजरायलले विदशी कामदारप्रति लिएको नरम नीति हो। अर्कोतिर अध्यागमन अधिकारीको भनाइअनुसार यसरी नेपालीहरू गैरकानुनी रूपमा बस्दा यो जाम भएको छ र सकेसम्म यो व्यवस्थित गरिनुपर्छ भन्ने भनाइ छ।
कानुनी विषयमा आफ्ना विषयमा आफ्नो आफ्नो देशको नियम कानुन प्रयोग हुनाले सकेसम्म नेपालीहरू गैरकानुनी रूपमा नबसिदिएर दुई देशबीचको ऐतिहासिक न्यानो सम्बन्धमा थप बल पुर्याइदिएहुन्थ्यो।
विदेशमा रहेर नेपाली नियोगहरूले दुई देशको सम्बन्ध बलियो बनाउँदै नेपालीको हित प्रवर्धनमा काम गर्नुपर्छ भन्ने विषय घामजस्तै छर्लंग छ तापनि नेपाली कूटनीतिक सेवालाई स्वदेश-विदेशमा ओजस्वी, विस्वाशिलो, भरपर्दो, मर्यादित र अनुशासित बनाउन विदेशमा बस्ने नेपाली जनताबाट पनि सुझबुझपूर्ण सल्लाह र सुझावको अपेक्षा गर्न सकिन्छ। तब त सन् २००७ अगस्त १३ मा स्थापना भएको यस राजदूतावास अझ बढी केही गर्न सशक्त रूपमा अगाडि बढ्नेछ। [श्रेष्ठ नेपाली राजदूतावास, इजरायलका उपनियोग प्रमुख हुन्।]