
काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पनि दाबी गरेका छन्। प्रदेशसभाका ५७ सांसदको हस्ताक्षरसहित यादवले मुख्यमन्त्रीका लागि दाबी गरेका हुन्।
नेपाली कांग्रेसका २२, नेकपा एमालेका २३, जनमत पार्टीका १३ र नागरिक उन्मुक्ति पार्टीका एक सासद गरी ५७ सांसदसहित उनले मुख्यमन्त्रीमा दाबी गरेका हुन्।
मुख्यमन्त्रीका लागि दाबी पेस गर्न जाँदा यादवका साथै नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवसहितका नेताहरू प्रदेश प्रमुख कार्यालय पुगेका थिए।
यसअघि लोसपा नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री नियुक्त गर्न जनमतसहित ६ दलले ५७ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सुमित्रा देवी भण्डारीसमक्ष दाबी पेस गरिसकेको छ। सोनललाई मुख्यमन्त्री बनाउन जसपा (नेपाल), जनमत, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का सांसदहरूले समर्थन गरेका छन्।
यसअघि कांग्रेस–एमालेको गठबन्धनसँगै सरकार बनाउने भनेको जनमत पार्टीले कित्ता फेरिसकेको छ। सरकार गठनकै सम्बन्धमा मंगलबार राति कांग्रेस–एमालेको बैठकमा जनमत सहभागी भएको थिएन।
मधेशमा कांग्रेस–एमालेविनाको सरकार बनाउने भन्दै मधेश केन्द्रित दलहरू मिलेर सरकार बनाउने निष्कर्षमा पुगेको बताइएको छ।
मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा नदिँदै कांग्रेस, एमाले र जनमतले कांग्रेस संसदीय दलका नेता यादवको नेतृत्वमा सरकार बनाउन मुख्यमन्त्री कार्यालयमा दाबी पेस गरेको थियो।
प्रदेश प्रमुखको कार्यालयले बुधबार अपराह्न ४ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेस गर्न समय दिएको थियो।