
काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले युवालाई दुरुपयोग हुनबाट जोगाउन अनेक प्रयास गरे पनि भदौ २३ र २४ का दुःखद् घटना रोक्न नसकिएको बताएका छन्। पोखरेलले सहरिया नवधनाढ्य वर्ग र युवा एमालेबाट टाढिएको बताए।
बुधबार बसेको नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने शक्तिहरूले युवालाई प्रयोग गरेको बताए। उनको भनाइमा यो कुरा पहिल्यै थाहा पाएर एमालेले विभिन्न कार्यक्रम सञ्चालन गरे पनि ती अपेक्षाकृत प्रभावकारी बन्न सकेनन्।
उनले भने, ‘हाम्रा प्रयासहरू पर्याप्त भएनन्, षड्यन्त्रकारीहरूको गतिविधि अझ मुखर रूपमा अगाडि बढ्यो र अन्ततः भदौ २३ र २४ का घटना घटे।’ महासचिव पोखरेलले सहरिया नवधनाढ्य वर्ग र युवा एमालेबाट क्रमशः टाढिँदै गएको उल्लेख गरे। त्यस्तै, भूमिहीन, सुकुम्बासी र गरिब जनतालाई पनि विभिन्न आश्वासन र प्रलोभन देखाएर पार्टीविरुद्ध उचालिएको बताए।
उनका अनुसार केही अन्तर्राष्ट्रिय घटनाक्रमले पनि नेपालको जनमतमा प्रत्यक्ष प्रभाव पारेका छन्। पोखरेलले ‘मिसन ग्रासरुट’ कार्यक्रमअन्तर्गत प्रत्येक वडामा १० जना युवालाई पहिचान गरी नेतृत्व विकास गर्ने योजना बनाइए पनि त्यसको कार्यान्वयन अपेक्षाअनुसार हुन नसकेको बताए।
उनले थपे, ‘प्रदेशदेखि वडास्तरसम्म पार्टीलाई सुदृढ बनाउने र युवाबीच सक्रियता बढाउने निर्देशन दिइए पनि परिणाम सन्तोषजनक आएको छैन।’ पोखरेलले केन्द्रीय सचिवालय बैठकले पार्टी एकतालाई प्रमुख एजेन्डा बनाएको र अहिलेको केन्द्रीय कमिटी बैठकले पनि त्यसलाई प्राथमिकतामा राख्ने विश्वास व्यक्त गरे।