
मुस्ताङ- मुस्ताङमा गत वर्षको तुलनामा स्याउ उत्पादन बढेको छ। कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार गत वर्षको तुलनामा १८ करोड रुपैयाँभन्दाबढीको स्याउ उत्पादन भएको हो
केन्द्रका अनुसार गत वर्ष सात हजार २३८ मेट्रिक टन स्याउ उत्पादन भएकोमा यो वर्ष सात हजार ६३६ मेट्रिक टन फलेको छ। गत वर्ष ९१ करोड ८६ लाख ७२ हजारको स्याउ बिक्री भएकोमा यो एक अर्ब १० करोड रुपैयाँ आम्दानी भएको छ।
कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि प्राविधिकको स्थानीय किसानको फरकफरक बगैँचा अनुगमन तथा स्याउको क्रप कटिङसम्बन्धी स्थानीय तहका कृषि शाखा र यहाँका किसानका आधारमा स्याउको उत्पादन निकालिएको केन्द्रका प्रमुख राजेश गुरुङले बताए।
यो वर्ष ८० प्रतिशत जिल्लाबाहिर निकासी भइसकेको छ भने १० प्रतिशत स्याउ जिल्लामै खपत भएको छ। साथै १० प्रतिशत हार्भेस्ट गर्न बाँकी रहेको केन्द्र प्रमुख गुरुङको भनाइ छ।
यो वर्ष छ हजार १०८ मेट्रिक टन बढी स्याउ जिल्लाबाहिर निकासी हुँदा ८६ करोड १८ लाख ४० हजार रुपैयाँ मुस्ताङ भित्रिएको केन्द्र प्रमुख गुरुङले बताए। साथै ७६३ मेट्रिक टन अर्थात् रु ११ करोड दुई लाख ३० हजार बराबर स्याउ जिल्लामै खपत भएको छ। अब ७६३ मेट्रिक टन स्याउ हार्भेस्ट गर्न बाँकी छ।
यहाँ कुल ८३२ हेक्टर क्षेत्रफलमा स्थानीय जातको स्याउ र ६० हेक्टर क्षेत्रफलमा उच्च घनत्वको हाइब्रिड स्याउ उत्पादनशील क्षेत्र छ। जसमा स्थानीय स्याउ छ हजार ६९ मेट्रिक टन र हाइब्रिड स्याउ एक हजार ५६७ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रले बताएको छ।
यहाँ स्थानीय स्याउ ७८ करोड ८९ लाख ७० हजार बराबरको उत्पादन भएको हो। हाइब्रिडतर्फ ३१ करोड ३४ लाख बराबरको स्याउ उत्पादन भएको केन्द्रले उल्लेख गरेको छ।
कृषि ज्ञान केन्द्रका अनुसार मुस्ताङमा स्थानीय स्याउ प्रतिकेजी रु १३० र हाइब्रिड स्याउ प्रतिकेजी २०० मा बिक्री भइरहेको छ। यसवर्ष स्थानीय स्याउ प्रतिहेक्टर उत्पादकत्व १० दशमलव ४१ मेट्रिक टन र हाइब्रिड स्याउको प्रतिहेक्टर उत्पादकत्व २६ दशमलव १२ मेट्रिक टनले उत्पादन भएको केन्द्रले जनाएको छ। गत वर्ष स्थानीय स्याउ प्रतिहेक्टर उत्पादकत्व १०.७४ मेट्रिक टन भएकोमा यसवर्ष शून्य दशलव ३३ मेट्रिक टन प्रतिहेक्टर उत्पादकत्व घटेको छ।
यसैगरी गत वर्ष उच्च घनत्वको हाइब्रिड स्याउ प्रतिहेक्टर उत्पादकत्व २५ मेट्रिनटनले उत्पादन भएकोमा यो वर्ष प्रतिहेक्टर उत्पादकत्व १.१२ मेट्रिक टन वृद्धि भएको छ। यहाँ स्थानीय र हाइब्रिड गरी समग्रतामा प्रतिहेक्टर उत्पादकत्व ११.८७ मेट्रिक टन रहेको केन्द्रले जनाएको छ।