
काठमाडौँ- सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनर्स्थापनाबारे राजनीतिक दलका नेताहरूसँग आज छलफल गर्ने भएका छन् ।
बिहान ९ बजे १० दलका नेताहरूको बैठक बोलाइएको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार सभामुख घिमिरेले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, जनता समाजवादी पार्टी, नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई बैठकमा बोलाइएको छ ।
प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै सर्वोच्च अदालतमा रिट परेपछि त्यसबारे कसरी अगाडि बढ्ने भन्ने धारणा बनाउन घिमिरेले बैठक बोलाएका हुन् । पुनर्स्थापनाबारे बैठकमा सभामुख घिमिरेले दलहरूको राय माग्ने अधिकारीले जानकारी दिए ।