विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरु

हिमाल प्रेस २८ असोज २०८२ २१:२६
14
SHARES
विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरु बिपिन जोशी। फाइल तस्बिर

काठमाडौँ- विगत दुई वर्षदेखि प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरु गरिएको छ।

परराष्ट्र मन्त्रालयले आज (मंगलबार) विज्ञप्ति जारी गरी इजरायलस्थित नेपाली दूतावासका प्रतिनिधिले आज (मंगलबार) तेल अविवस्थित ‘नेशनल सेन्टर फर फरेन्सिक मेडिसिन’को भ्रमण गरी विपिनको शवबारे थप पुष्टि गरेको र शव नेपाल ल्याउनेबारे प्रक्रिया सुरु भएको जनाएको छ।

मन्त्रालयले जोशीको शव नेपाल ल्याइसकेपश्चात् पनि निजको मृत्युको वास्तविक कारण र परिस्थितिका सम्बन्धमा सम्बन्धित सरकार तथा सरोकार भएकाहरूसँगको सहयोग र समन्वयमा सत्यतथ्य पत्ता लगाउन, न्याय दिलाउन र निजको परिवारले पाउने सामाजिक सुरक्षा, क्षतिपूर्ति, बिमा, सुविधा आदिको लागि उचित पहल जारी राख्ने जनाएको छ।

आज (मंगलबार) अपराह्न परराष्ट्र सचिव अमृतबहादुर राईले इजरायलको परराष्ट्र मन्त्रालयका समकक्षी ‘डाइरेक्टर जनरल’ एडेन बार तलसँग टेलिफोन कुराकानी गरेको र उनले नेपाली नागरिक जोशीको निधन भएको औपचारिक जानकारी गराएको मन्त्रालयले उल्लेख गरेको छ।

यसै गरी इजरायल र हमास समूहबीचको दुई वर्ष लामो द्वन्द्वपछि भएको युद्धविरामपश्चात् हमासले जोशीको शव सोमबार रेडक्रसमार्फत् इजरायललाई हस्तान्तरण गरेको जनाइएको छ।

सन् २०२३ अक्टोबर ७ देखि हमासको कब्जामा रहेका इजरायलको सिक्दै र कमाउँदै कार्यक्रममा सहभागी नेपाली विद्यार्थी जोशीको सकुशल रिहाइका लागि नेपाल सरकारले सुरुदेखि विभिन्न तहबाट यथासम्भव सबै किसिमका प्रयासहरू गरेको थियो।

इजरायल र हमासबीच युद्धविराम भएपछि सन् २०२५ अक्टोबर १३ का दिन इजरायली सेनाले त्यहाँस्थित नेपाली राजदूत, विपिनका दाजु, आमा, बहिनी, इजरायली परराष्ट्र मन्त्रालय र इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारीसहितको भर्चुअल बैठकमार्फत् रिहा हुने बन्दीमा विपिन जोशीको नाम समावेश नरहेको र उनको अवस्था अज्ञात रहेको जानकारी गराएको थियो।

परराष्ट्र मन्त्रालयले हमास समूहको नियन्त्रणमा रहेका विपिनको मृत्युको खबरले स्तब्ध भएको उल्लेख गर्दै यस दुःखद् घडीमा मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।

प्रकाशित: २८ असोज २०८२ २१:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast