
काठमाडौँ- मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेकी छन्। उनले मंगलबार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदको दाबी गर्न आह्वान गरेकी हुन्।
यसअघि मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत गरी प्रदेश प्रमुख भण्डारीले बुधबार दिनको ४ बजे भित्र मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेस गर्न आह्वान गरेकी हुन्। मुख्यमन्त्री सिंहले मधेश प्रदेशसभाको ‘रोस्टम’बाट राजीनामा घोषणा गरेका थिए।
सिंहले विश्वासको मत लिनुपर्ने समयसीमाको अन्तिम दिन मंगलबार प्रदेशसभामा विश्वासको मत सामना नगरी रोष्टमबाटै राजीनामा घोषणा गरेका हुन्। सिंहले राजीनामा घोषणा गर्दै आफ्ना पार्टी अध्यक्ष सीके राउतलाई विभिन्न आरोपसमेत लगाएका छन्।
उनले वक्तव्यको अन्तिममा राजीनामा घोषणा गरेपछि विश्वासको मत विभाजन गर्न नपर्ने भन्दै सभामुख रामचन्द्र मण्डलले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि प्रदेशसभाको बैठक स्थगित भएको घोषणा गरेका थिए।