
बुटवल– नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री सुदर्शन बरालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपती नेपालका लागि उपयुक्त नभएको बताएका छन्।
नेकपा माओवादी केन्द्रका संयोजक प्रचण्डले कार्यकारी राष्ट्रप्रमुख बनाउने र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका पक्षमा जानुपर्ने मत राखिरहेको बेला प्रदेश अध्यक्ष बरालले भने फरक मत राखेका हुन्।
आर्थिक अनुसन्धान केन्द्र नेपाल रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अर्थविद् मनिकर कार्कीको ‘अर्थदृष्टि’ नामक पुस्तकको दोस्रो संस्करणमाथिको परिचर्चामा प्रदेश अध्यक्ष बरालले यस्तो बताएका हुन्।
‘हाम्रो पार्टीको लाईन नै प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख हो, तर यसमा मेरो फरक मत छ,’ बरालले भने, ‘अहिले त भड्याङ र भुरुङ पारेका छन् साथीहरुले, प्रत्यक्ष भएर ५ बर्ष भयो भने के हुन्छ भन्न सकिँदैन।’
उनले यहि समाजकै व्यक्तिहरु सरकारमा जाने भएकाले नेपाली विशेषताको राज्यको शासकीय स्वरुप खोज्नुपर्ने बताए। लुम्बिनी प्रदेशका पूर्वमन्त्री समेत रहेका बरालले पूर्ण समानुपातिक प्रणाली पनि ठीक नहुने बताए। पूर्ण समानुपातिक भयो भने गाउँमा नेताहरु नै नजाने बताए।
‘पूर्ण समानुपातिक नहुँदा त गाउँमा नेता देख्न पाइँदैन,’ नेता बरालले भने, ‘यदि यहि भयो भने त नेताहरु काठमाडौँको चार भञ्ज्यांग काटेर निस्कँदैनन्।’
उनले शासकीय स्वरुपको संरचनालाई जवाफदेही बनाउने गरी मौलिक विशेषताको खोजी गर्नुपर्ने बताए। उनले पछिल्लो समय जेनजी आन्दोलन र यसपछि हुने रुपान्तरणका सन्दर्भमा गहन छलफल गरी नयाँ रुपमा अगाडि बढ्नुपर्नेमा जोड दिए। नेता बरालले नेपालमा राजादेखि अहिलेका प्रधानमन्त्रीसम्मले सामन्ती उत्पादन प्रणालीलाई परिवर्तन गर्न नसकेको बताए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्राध्यापक डा. बावुराम ज्ञवालीले पुस्तकमा देशको विकासका लागि निजि क्षेत्रको मनोवल विकास गर्ने पाटोमा पुस्तकले नयाँ कुरा उठान गरेको बताए।
यस्तै पु्स्तकमाथि नेपाल चेम्बर अफ कमर्सका लुम्बिनी प्रदेश अध्यक्ष टंक प्रसाद पोखरेल, वरिष्ठ पत्रकार डा.बालकृष्ण चापागाईं, राजेन्द्र लम्साल , कृष्ण पाण्डे , सञ्जिव भण्डारी लगायतले टिप्पणी गरेका थिए।