मधेश प्रदेशकी शिक्षामन्त्री शर्माले दिइन् राजीनामा

हिमाल प्रेस २७ असोज २०८२ १७:१०
20
SHARES
मधेश प्रदेशकी शिक्षामन्त्री शर्माले दिइन् राजीनामा

काठमाडौँ- मधेश प्रदेशकी शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले राजीनामा दिएकी छन्। मुख्यमन्त्री सतिशकुमार सिंहलाई पत्र लेख्दै शर्माले सोमबार पदबाट राजीनामा दिएकी हुन्।

सिंह नेतृत्वको सरकारमा उनी लोसपाबाट मन्त्री बनेकी थिइन्। मुख्यमन्त्री सिंहको जनमत पार्टीका साथै सरकारमा सहभागी नेपाली कांग्रेस र नेकपा एमालेले समर्थन फिर्ता लिइसके पनि शिक्षामन्त्री शर्माले राजीनामा दिएकी थिइनन्।

मुख्यमन्त्री सिंहले प्रदेशसभाबाट विश्वासको मत लिने पूर्वसन्ध्यामा मन्त्री शर्माले राजीनामा दिएकी हुन्।

आफ्नै दल जनमतका साथै कांग्रेस र एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सिंह अल्पमतमा परेका छन्। उनले मंगलबार दिउँसो १ बजे प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।

मुख्यमन्त्री सिंहले विश्वासको मत लिने तयारी गरेकै बेला जनमत पार्टी विभाजित भएको छ। जनमतका तत्कालीन उपाध्यक्ष दीपककुमार साहको नेतृत्वमो नयाँ दल जनस्वराज पार्टी नेपाल दर्ताका लागि आइतबार नै निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ।

निर्वाचन आयोगका अनुसार जनमत पार्टी विभाजन गरी साहको नेतृत्वमा नयाँ दल दर्ताका लागि निवेदन परेको हो। निवेदनमा जनमत पार्टीका २० प्रतिशत केन्द्रीय सदस्यले हस्ताक्षर गरेको दाबी गरिएको छ।

प्रकाशित: २७ असोज २०८२ १७:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast