बिपिनबारे जानकारी दिन इजरायली अधिकारीले खोज्दा नेपाली राजदूत साइप्रसमा घुम्दै

हिमाल प्रेस २७ असोज २०८२ १५:२७
86
SHARES
बिपिनबारे जानकारी दिन इजरायली अधिकारीले खोज्दा नेपाली राजदूत साइप्रसमा घुम्दै

काठमाडौँ- हमासको अपहरणमा परेका बिपिन जोशीको बारेमा जानकारी दिने तिथि एक साताअघि तय भएको थियो। अमेरिकाको पहलमा इजरायल र हमासबीच युद्धविरामको सम्झौता भएपछि बिपिनका बारेमा सोमबार जानकारी दिइने तय भएको थियो। तर इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित यतिबेला इजरायलमा छैनन्। बिपिनबारे जानकारी दिन इज्रायली अधिकारीले सोमबार बिहान सम्पर्क गर्न खोज्दा उनी साइप्रसमा रहेको खुलेको हो।

उनी यतिबेला विश्वविद्यालय अनुगमन भन्दै साइप्रस घुमफिरमा छन्। इजरायली अधिकारीले सोमबार बिहान स्थानीय समयअनुसार साढे सात बजे उनी इजरायलमा नभएको जानकारी पाएपछि राजदूत पण्डित र बिपिनका परिवारलाई भिडियो कन्फरेन्समार्फत बिपिन नरहेको जानकारी दिएका हुन्। यस्तो अवस्थामा उनी इजारायलमा रहनुपर्ने थियो। तर उनी पूर्वनिर्धारित कार्यक्रम भन्दै बिपिनको जानकारी लिने भन्दा विश्वविद्यालय अवलोकनलाई महत्त्वमा राखेका छन्।

साइप्रसमा नेपाली विद्यार्थी अध्ययनका लागि पुगेका हुन्छन्। उनीहरू अध्ययनका लागि जाने भनिए पनि अधिकांश नेपाली त्यहाँ काम गर्न जान्छन्। त्यसैले साइप्रस र नेपालमा रहेका बिचौलियाको मागअनुरूप उनी त्यहाँको विश्वविद्यालयको अवलोकन गर्न गएका हुन्। राजदूतले प्रायः बिचौलियाको चाहनाअनुरूपकै प्रतिवेदन बनाउँछन्। वास्तविकताभन्दा फरक प्रतिवेदन आएको र प्रतिवेदन बाझिएको घटना मन्त्रालयमा अधिक छ।

कतिपय विश्वविद्यालयको अवस्थाबारे त्यहाँको अवैतनिक दूतसँग मिलेर पूर्ण जानकारी नलिईकन प्रतिवेदन पठाएका राजदूत अहिले बिपिनबारे जानकारी दिने भनेको दिनमा साइप्रस हुनु राम्रो विषय पक्कै होइन। परराष्ट्र मन्त्रालयले पनि यही समय पारेर उनलाई त्यहाँको भ्रमण स्वीकृत गर्नु कूटनीतिक उपस्थितीमा चुक्नु रहेको परराष्ट्रका एक अधिकारीले बताए। राजदूतले भ्रमणका लागि आफूले हेर्ने मुलुक जाने प्रस्ताव गरे होलान् बिपिनको विषय भुलेर मन्त्रालयले स्वीकृत दिएको हुन सक्ने ती अधिकारीले सुनाए। पण्डित राजदूत प्रस्तावित हुने समयमा हमास र इजारायलको वार्ता गराउने जस्ता अस्वभाविक धारणा संसदीय सुनुवाई समितिलाई सुनाएर चर्चामा आएका पात्र हुन्।

त्यहाँ पुगेपछि पनि कामभन्दा गफ बढी गरेको परिचय नेपाली सामु बनाइसकेका उनले बिपिनका बारेमा इजरायली अधिकारीले औपचारिक धारणा पठाउने र हमासबाट बन्दी बनाएकालाई छोड्ने दिनमा साइप्रसमा रहनु दु:खद रहेको परराष्ट्रका अधिकारीले बताए। परराष्ट्र प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने, ‘उहाँ इजरायल भएको भए राम्रो हुने हो। तर उहाँको पूर्वनिर्धारित कार्यक्रम भएर साइप्रस पुग्नुभएको होला। यो विषयमा हामी छलफल गर्नेछौँ।’

राजदूतलाई यस्तो दिनमा सम्बन्धित मुलुकले मन्त्रालयमा बोलाउने र जानकारी गराउने गर्छन्। तर नेपालको राजदूत इजरायलमा नहुँदा उनीहरुले पनि नेपाल यो मामिलामा भित्रैदेखि गम्भीर नभएको हुनसक्ने आकलन गर्ने, कूटनीतिमा त्यो अर्थ पनि लाग्छ। यद्यपि बिपिनबारे परराष्ट्र मन्त्रालयले अझै कुनै औपचारिक धारणा बाहिर ल्याएको छैन। हमासले २० जना जीवित भनिएका इजरायली र अन्य नागरिक हस्तान्तरण गरिसकेको छ। अहिले मृत बन्धकहरूको शव दिन सुरु गरेको छ। २८ जना मध्ये केहीको दिइसकेको भए पनि सात या आठ जनाको शव नभएको अवस्था रहेको जानकारी इजरायलस्थित नेपाली दूतावासले पाएको छ।

राजदूत साइप्रसमा भएकाले इजारायलका लागि कार्यवाहक राजदूत रहेका कुमारबहादुर श्रेष्ठले अझै आशा रहेको र सव दिइसकेपछि अज्ञात रहेको दुईमा केही होला कि भन्ने धारणा ब्यक्त गरे। उनकै शैलीमा परराष्ट्र प्रवक्ता क्षेत्रीले पनि भने, ‘कहिलेकाहीँ मरेको भनिएको नमरेको र नमरेको भनिएको मरिएको घटना पनि छन्। आज भरेसम्म सबै शव बुझाउने र अज्ञात भनिएका बारेमा पनि वास्तविकता जानकारी गराउने हुनाले कूटनीतिक च्यानलबाट बुझ्ने काम भइरहेको छ।’

राजदूत पण्डित यस्तो अवस्थामा सम्बन्धि मुलुकमा हुन पर्ने हो, अर्का परराष्ट्र अधिकारीले भने। राजदूतले किन यसरी यस्तो अवस्थामा साइप्रस गए त्यो बारेमा खासै जानकारी नभएको तर पूर्वनिर्धारित कार्यक्रम भएर गएको हुनसक्ने प्रवक्ता क्षेत्रीले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast