
जुम्ला- जुम्लाबाट करिब चार हजार ७२५ मेट्रिक टन स्याउ बिक्रीका लागि बाहिरी जिल्ला पठाइएको छ । कृषि विकास कार्यालय जुम्लाको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि असोजसम्ममा उक्त परिमाणमा स्याउ बिक्रीका लागि जिल्लाबाट बाहिरिएको हो ।
अझै ग्रामीण भेगको स्याउ र फुजी स्याउ बिक्रीका लागि बाहिरी जिल्ला पठाउने काम भइरहेको छ। आगामी मंसिरको दोस्रो सातासम्म उत्पादित स्याउको परिमाण र बिक्रीका लागि बाहिर पठाइएको तथ्यांक यकिन हुने कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए ।
गत वर्षभन्दा यो वर्ष स्याउ उत्पादनमा केही कमी आउने अनुमान गरिएको छ । कार्यालय प्रमुख अधिकारीले भने, ‘करिब ३३ करोड सात लाख ५० हजार रुपैयाँ बराबरको स्याउ बाहिरी जिल्लामा बिक्रीका लागि पठाइएको छ । पछिल्लो समय स्याउ खेतीमा किसानको आकर्षण बढ्दै गएको छ।’
यहाँका आठवटै स्थानीय तहका २४ हजार ८३८ घरधुरीमध्ये १९ हजार २५८ घरधुरी अर्थात् ७० दशमलव पाँच प्रतिशत घरपरिवार स्याउ खेतीमा संलग्न छन् । तिला गाउँपालिकाभित्रका स्याउ किसानले गत भदौ पहिलो साता स्याउ बिक्री गरेको स्थानीय स्याउ व्यापारी पदम रावतले बताए । यहाँका अधिकांश किसानको स्याउ बगैँचा छ । प्रत्येक परिवारले एक सिजनमा कम्तीमा ४५ हजारदेखि बढीमा एक लाख रुपैयाँसम्म स्याउ बिक्री गरी आम्दानी गर्ने गरेका छन् । किसानको बगैँचामै प्रतिकिलो ७५ रुपैयाँ बढी मूल्यमा बिक्री भएको तिला गाउँपालिका–१ स्थानीय स्याउ व्यापारी रावतले जानकारी दिए ।
१३ हजार मेट्रिक टन स्याउ उत्पादन
जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार यस वर्ष जुम्लामा १३ हजार मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएको छ । यो उत्पादन विगत दुई वर्षयताकै कम हो ।
जम्मा उत्पादित मध्ये ७० हजार मेट्रिकटन स्याउ बिक्री भइसकेको छ । जुम्लामा कूल खेतीयोग्य जमिन ३९ हजार ४३५ हेक्टर छ । त्यसमध्ये स्याउ खेती गरिएको क्षेत्रफल आव २०८१र८२ मा चार हजार ३२५ हेक्टर रहेकामा चालु आवमा बढेर चार हजार ४४५ हेक्टर पुगेकामा दुई हजार १२५ हेक्टरमा मात्रै स्याउ फलेको जनाइएको छ ।
जिल्लामा हाल उत्पादित स्याउका जातहरूमा रेडडेलिसियस, रोयलडेसियस, गोल्डेन डेलिसियस, रिचारेड र जनाधन छन् । हाल उत्पादित उन्नत जातहरूमध्ये फुजी गाला (इटालियन जात) को स्याउ खेती भइरहेको छ ।
हाल नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले नयाँ सिफारिस गरेका जातहरूमध्ये स्टार किमसन डेलिसियस, बाइट एन अर्ली र स्टार्क स्पर गोल्डन जातको स्याउ खेतीको अध्ययन भइरहेको कृषि विकास कार्यालयले जनाएको छ।