
काठमाडौँ- जनमत पार्टी फुटेको छ। अध्यक्ष सीके राउतको कार्यशैलीबाट असन्तुष्ट नेताहरूले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन्। जनमत पार्टीका तत्कालीन उपाध्यक्ष इन्जिनियर दीपक साहको नेतृत्वमा नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दर्ता भएको हो।
आयोगले जनमतका उपाध्यक्ष साहको नेतृत्वमा जनस्वराज पार्टी दर्ताका लागि निवेदन आएको जानकारी दिएको छ। निर्वाचन आयोगको उपन्यायाधिवक्ता विष्णु पौडेलले जनमत पार्टीबाट विभाजन भएर नयाँ दल दर्ताका लागि निवेदन दर्ता भएको जानकारी दिए। उनले जनमत पार्टीबाट विभाजन भई नयाँ दल दर्ताका लागि भन्दै निवेदन दर्ता भएको बताए।
‘जनमत पार्टीबाट विभाजन भएर नयाँ दल दर्ताका लागि निवदेन दर्ता भएको छ,’ पौडेलले हिमालप्रेससँग भने,‘दीपक साहको नेतृत्वमा दल दर्ताका लागि निवेदन आएको हो।’
साहको नेतृत्वमा जनमत पार्टीका २० प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षरसहित नयाँ दल दर्ताका लागि निवेदन परेको हो। उपन्यायाधिवक्ता पौडेलले जनमत पार्टीका ५२ जना केन्द्रीय सदस्यमध्ये २० प्रतिशतको हस्ताक्षरसहित निवेदन आएको जानकारी दिए। यद्यपि सनाखत गर्ने काम बाँकी रहेको उनको भनाइ छ।
‘जनमतका २० प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षरसहित दल दर्ताका लागि निवेदन दिएको भनेर उहाँहरूले भन्नुभएको छ,’ पौडेलले भने, ‘सनाखत प्रक्रिया बाँकी छ, आयोगले निर्णय गरेर सनाखतका लागि मिति तोक्छ।’ आयोगले जनाएअनुसार दल दर्ताका लागि निवेदन आए पनि पार्टीको झन्डा र छाप आउन बाँकी रहेको छ।
तत्काल १५ सदस्यीय कार्यसमिति रहने गरी जनस्वराज पार्टी दल दर्ता गर्न निवेदन दिए पनि पछि पदाधिकारी र केन्द्रीय सदस्य थपिने एक नेताले बताए। साहले नयाँ दल दर्ताका लागि निवेदन दिएको बताए। उनले भने,‘दल दर्ताको प्रक्रिया सुरू गरेका छौँ। निर्वाचन आयोगमा निवेदन दिएका छौँ, निर्णय हुन बाँकी छ।’
पार्टी हितविपरीत काम गरेको भन्दै जनमत पार्टीले कारबाही गरेर केही दिनअघि पार्टीबाट निष्कासन गरेको थियो। साहका साथै तत्कालीन कोषाध्यक्ष सुरेन्द्र यादवलगायतका नेताहरूलाई कारबाही गरिएको जनमतले जनाएको थियो। यसका साथै अध्यक्ष राउतको कार्यशैलीप्रति असन्तुष्ट बन्दै हालसालै शीर्ष तहका ६ जना नेताले एकसाथ पार्टी छोडेका थिए।
राउतलाई नेतृत्व छोड्न २४ घन्टे अल्टिमेटम दिएका उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा.शरदसिंह यादव, युवा संघका केन्द्रीय संयोजक सीके सिंह, सुदूरपश्चिम इञ्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य विक्रमबहादुर बमले जनमत पार्टी परित्याग गरेका थिए।