
काठमाडौँ- हमासको बन्धकमा परेर जीवित रहेको भनिएका २२ जनामध्ये बिपिन जोशी एकमात्र गैरइजरायली नागरिक रहेको इजरायली अधिकारीहरूले बताएका छन्। बिपिन गाजामा जीवित रहेको विश्वास इजरायली अधिकारीहरूको छ। यद्यपि बिपिनको अवस्थाबारे औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।
दुई वर्षदेखि बेपत्ता बिपिनसहितका युवा जीवित रहेको विश्वास इजरायली अधिकारीहरूले व्यक्त गरेपछि पीडामा रहेका उनका परिवार पनि आशावादी देखिएका छन्। जीवित भनिएका २१ जना भने इजरायली नागरिक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गरिएको विनाशकारी आक्रमणपछि दुई वर्ष लामो युद्ध सुरु भएको थियो। हमासको उक्त आक्रमणमा करिब एक हजार दुई सय जनाको मृत्यु भयो र २५१ जना अपहरणमा परेका थिए। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धमा ६७ हजारभन्दा बढी प्यालेस्टिनीहरूको ज्यान गइसकेको छ। त्यसमा झन्डै आधा महिला र बालबालिका न्। हाल गाजाको जनसंख्याको करिब ९० प्रतिशत विस्थापित भइसकेको अनुमान गरिएको छ।
गाजामा हाल ४८ जना बन्धक रहेका छन्। तिनमा अघिल्ला युद्धका एक सैनिकको शव पनि समावेश छ। इजरायली अधिकारीहरूले कम्तीमा २५ जना बन्धक मारिएको पुष्टि गरेका छन्। बाँकी २० जनामध्ये कति जीवित छन् भन्ने अझै स्पष्ट छैन। तिनै बन्धकमध्ये एक जना नेपाली विद्यार्थी बिपिन हुन्।
२४ वर्षीय बिपिन आक्रमण हुनुभन्दा एक महिनाअघि इजरायल पुगेका थिए। उनी कृषि अध्ययनका लागि विद्यार्थी आदानप्रदान कार्यक्रममा सहभागी हुन गाजाको सीमामा रहेको किबुज अलुमिममा कार्यरत थिए। कार्यक्रमका १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको हमास आक्रमणका क्रममा मृत्यु भएको थियो। उनीहरू बन्करमा लुकेका थिए। आक्रमणका क्रममा फ्याँकिएका ग्रेनेडहरूबाट बाँच्न सफल भए पनि बिपिन घाइते भएर अपहरणमा परेका थिए।
उनका परिवारका अनुसार उनी गाजामा जीवित हुन सक्छन्। उनकी १७ वर्षीया बहिनी पुष्पा जोशीले आफ्ना दाजुको रिहाइका लागि अहोरात्र प्रयास गरिरहेकी छन्। अधिकारीहरू र कूटनीतिक निकायहरूसँग भेट गरी दाजुको रिहाइका लागि आवाज उठाउन सकियोस् भनेर उनी पश्चिम नेपालको आफ्नो गाउँबाट प्रत्येक साता काठमाडौँ आउन बस यात्रा गरिन्। गत अगस्तमा जोशी परिवारले इजरायलका राष्ट्रपति आइज्याक हर्जोगलाई भेट्न र तेलअभिभको ‘होस्टेज स्क्वायर’ मा बन्धक परिवारहरूले आयोजना गर्ने प्रदर्शनमा सहभागी हुन इजरायल यात्रा पनि गरेको थियो।
उनीहरूले नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायसँग बिपिनको उद्धारका लागि सक्रिय भूमिका खेल्न आग्रह गर्दै आएका छन्।
इजरायलले युद्धविराम सुरु भएपछि बाँकी रहेका बन्धकहरूलाई ७२ घण्टाभित्र रिहा गरिने आशा व्यक्त गरेको छ। यसको बदलामा करिब दुई हजार प्यालेस्टिनी कैदीलाई रिहा गर्ने तयारी भइरहेको छ।
बिपिनका परिवार भने उनी फर्कने प्रतीक्षामा छ। परिवारका अनुसार ‘बिपिन फर्किए भने त्यो केवल आफ्नो परिवारको जित होइन, यो नेपाल र मानवताकै जित हुनेछ।’
इजरायलले अझै जीवित रहेको विश्वास गरिका २२ जना बन्धकहरू
मातान एङ्ग्रेस्ट (२२), गली बर्मन (२८), जिव बर्मन (२८), एल्काना बोबोट (३६), रोम ब्रास्लावस्की (२१), निम्रोद कोहेन (२१), अरिएल कुनियो (२८), डेविड कुनियो (३५), एव्यातार डेविड (२४), गाई गिलबोआ–दलाल (२४), मक्सिम हार्किन (३७), इटन होर्न (३८), बिपिन जोशी (२४), सेगेव काल्फोन (२७), बार कुपरस्टीन (२३), ओमरी मिरान (४८), एटान मोर (२५), तामिर निमरोदी (२०), योसेफ–चेइम ओहाना (२५), एलोन ओहेल (२४), अविनातन ओर (३२) र मातान जांगाउकर (२५)