आगजनी संरचना क्षतिबापत २३ अर्ब २२ करोड बराबरको बिमा दाबी, एक अर्ब ५८ करोड भुक्तानी

हिमाल प्रेस २६ असोज २०८२ १०:११
6
SHARES
आगजनी संरचना क्षतिबापत २३ अर्ब २२ करोड बराबरको बिमा दाबी, एक अर्ब ५८ करोड भुक्तानी

काठमाडौँ- गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण क्षति भएका भौतिक संरचनाको हालसम्म २३ अर्ब २२ करोड ७८ लाख रुपैयाँ बराबरको बिमा दाबी गरिएको छ। नेपाल बिमा प्राधिकरणले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार निर्जीवन बिमा कम्पनीहरूले एक अर्ब ५८ करोड ५६ लाख रुपैया बराबरको भुक्तानी गरिसकेका छन्।

बिमाबापतको रकम सहज र शीघ्र रूपमा उपलब्ध गराउन प्राधिकरणले देखाएको सक्रियताका कारण धमाधम अग्रिम रूपमा भुक्तानी गरिएको जनाइएको छ। हालसम्म कुल तीन हजार ९९ बिमा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ।

कुल दाबी मध्ये सम्पति बिमा छ सय ५३, मोटर बिमा दुई हजार २०६, इन्जिनियरिङ तथा ठेक्का जोखिम बिमा एक सय ९०, परिवहन बिमा १२ र अन्य बिमा ३८ रहेका छन्। त्यसैगरी, कोशी प्रदेशमा तीन सय ९६, मधेसमा तीन सय ५५, वाग्मतीमा एक हजार ६६९, गण्डकीमा दुई सय १२, लुम्बिनीमा दुई सय ४६, कर्णालीमा २२ र सुदूरपश्चिम प्रदेशमा एक सय ९९ बिमा दाबीको आवेदन परेको छ। प्राधिकरणका अनुसार यो विवरण यही असोज २३ गतेसम्मको हो।

प्राधिकरणका अनुसार सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा सर्वाधिक बढी, पाँच अर्ब ६१ करोड ४४ लाख बराबरको बिमा दाबीको आवेदन परेको छ। सो कम्पनीले ५९ करोड ४४ लाखबराबरको रकम बीमितलाई भुक्तानी गरेको छ। त्यसैगरी, दी ओरियण्टल इन्स्योरेन्समा पाँच अर्ब २४ करोड ४७ लाख बराबरको बिमा दाबीको आवेदन परेको छ। सो कम्पनीले पाँच लाख ७९ हजार बराबरको रकम भुक्तानी गरेको छ।

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा दुई अर्ब ७५ करोड ९७ लाख बराबरको बिमा दाबीको आवेदन परेको छ । सो कम्पनीले ३० करोड ४३ लाखबराबरको रकम बीमितलाई वितरण गरेको छ। शिखर इन्स्योरेन्समा दुई अर्ब ४० करोड ८६ लाखबराबरको बिमा दाबी भएको छ । सो कम्पनीले  ३१ करोड ९४ लाख बराबरको रकम उपलब्ध गराएको छ।

मुलुकभर हाल कुल माइक्रो इन्स्योरेन्स कम्पनीसहित १८ निर्जीवन बिमा कम्पनी सञ्चालनमा छन्। गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको आगजनी र तोडफोडमा परेका निजी संरचनाको हकमा बिमा भए पनि सरकारी र सार्वजनिक सम्पत्तिको भने बिमा नभएको पाइएको छ।

प्रकाशित: २६ असोज २०८२ १०:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast