
काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा.महावीर पुनले जेनजी पुस्तालाई लक्षित गर्दै देशको सुशासन, विकास र राष्ट्रिय एकताको लागि गुटबन्दी र खुट्टा तानातानको प्रवृत्ति त्याग्न आग्रह गरेका छन्। आइतबार बिहान सामाजिक सञ्जालमार्फत उनले नेपालको इतिहासले बारम्बार देखाएको गुटबन्दीको नोक्सानीबाट नयाँ पुस्ताले पाठ सिक्न आवश्यक भएको बताएका छन्। उनका अनुसार अहिले देशमा देखिँदै गएको असन्तोष, असमानता र भ्रष्टाचारविरुद्ध उठेका जेनजीहरूले आन्दोलनको मूल भावनालाई एकता र देशप्रेमका माध्यमबाट अघि बढाउनुपर्छ।
मन्त्री पुनले लेखेका छन्,‘तपाईंहरू देशमा सुशासन ल्याउन र भ्रष्टाचार अन्त्य गर्न चाहनुहुन्छ। नेपाललाई समृद्ध बनाउने सपना पूरा गर्न तपाईंहरूबीच एकताको अत्यन्त खाँचो छ।’ उनले जेनजी पुस्तामाझ पनि गुटबन्दी र खुट्टा तानातानको प्रवृत्ति हावी हुन थालेमा आन्दोलन कमजोर बन्न सक्छ र त्यसले देशको परिवर्तनको आशा मर्ने खतरा रहने चेतावनी दिएका छन्।
उनले इतिहासका विभिन्न कालखण्डको उदाहरण दिँदै गुटबन्दीले सधैँ देशलाई कमजोर बनाएको उल्लेख गरेका छन्। नाबालक राजा रणबहादुर शाहको पालादेखि सुरु भएको गुटबन्दी गीर्वाण युद्धविक्रम शाह र राजेन्द्रविक्रम शाहसम्म पुग्दा चरम बिन्दुमा पुगेको र त्यसकै परिणामस्वरूप देशले १०४ वर्षसम्म राणातन्त्र सहनु परेको उनले स्मरण गराएका छन्। त्यस्तै, राणाशासनभित्र वीर शम्सेरकै पालादेखि सुरु भएको वर्गीय विभाजनले शासन कमजोर बनायो र अन्ततः २००७ सालको जनक्रान्तिबाट राणातन्त्रको अन्त्य भयो।
मन्त्री पुनका अनुसार २००७ सालपछि प्रजातन्त्र स्थापनापछि पनि राजनीतिक दलबीचको खिचातानीका कारण २०१५ सालसम्म चुनाव हुन सकेन जसको अवसर राजा महेन्द्रले पञ्चायती व्यवस्था ल्याउन प्रयोग गरे। पञ्चायतकालमा पनि सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द र मरिचमान सिंहका गुटबीचको आन्तरिक प्रतिस्पर्धा र राजपरिवारभित्रका गुटहरूले शासन कमजोर बनाएका थिए। २०४६ सालको जनआन्दोलनपछि लोकतन्त्र आए पनि राजनीतिक दलभित्रको विभाजन, स्वार्थ र भ्रष्टाचारले जनतामा निराशा फैलियो र अन्ततः जेनजी आन्दोलनको जन्म भयो।
मन्त्री पुनले लेखेका छन्,‘नेपाललाई समृद्ध र स्वाभिमानी बनाउने सपना जेनजी पुस्ताले नै पूरा गर्न सक्छ। त्यसका लागि इतिहासका गल्तीहरूबाट सिकौं, गुटबन्दी र खुट्टा तानातानको संस्कार अन्त्य गरौं र एकताको बलमा नयाँ नेपाल निर्माण गरौं।’ उनले मातृभूमीको अस्तित्वका लागि सबै नेपालीलाई एकताबद्ध भई अघि बढ्न आह्वान गरेका छन्।