
इटहरी– सुनसरीमा गोली प्रहार गरी एक पुरुषको हत्या भएको छ।
जिल्लाको रामधुनी नगरपालिका–२ तनमुनास्थित स्थानीय ४७ वर्षीय दिनेशकुमार चौधरीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनी सिटी सफारी चालक रहेको खुलेको छ।
मोटरसाइकलमा सवार तीनजनाको समूहले गोली हानेर हत्या गरेपश्चात फरार भएका छन्। फरारहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले शनिवार ५ः३० बजेतिर घटनाबारे प्रहरीलाई जानकारी आएको बताए।
‘मानिस रक्ताम्य भएर ढलेको भन्ने जानकारी आएपछि प्रहरी टोली घटनास्थलतर्फ गएको थियो,’ उनले भने।
कानुनी प्रक्रिया पूरा गरी मृतक चौधरीको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको उनले जानकारी दिए। उनले भने, ‘गोली नै हानिएको वा अन्य के कारण भन्नेबारे सुक्ष्म रूपमा अनुसन्धान भएपछि मात्रै पुष्टि हुन्छ।’
घटनामा संलग्नहरूको खोजी कार्यका लागि सुनसरीका चारैतिर प्रहरीले निगरानी बढाएको छ। घटना के कारण भएको भन्नेबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान सुरु गरेको जनाइएको छ।