
काठमाडौँ- अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले संघीय सरकारका कर्मचारी हटाउने प्रक्रिया सुरू गरेको छ। सरकारी ‘सटडाउन’ का बीच सरकारले डेमोक्र्याटमाथि दबाब बढाउन ट्रम्प प्रशासनले सरकारी कर्मचारी हटाउने प्रक्रिया सुरू गरेको हो।
व्हाइट हाउसको व्यवस्थापन कार्यालयका निर्देशक रसेल वाटले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,‘रीफ सुरू भइसकेको छ।’
रीफको अर्थ हो ‘रिडक्सन ईन फोर्स’ अर्थात कार्यबलमा कटौती।
ठूलो स्तरमा कर्मचारी कटौती सुरू भइसकेको वाटको कार्यालयका प्रवक्तालो पुष्टि गरेका छन्। पछिल्लो विवरणअनुसार सरकारले सातवटा एजेन्सीमा चार हजारभन्दा बढी संघीय कर्मचारीलाई हटाउन थालेको छ।
राष्ट्रपति ट्रम्पले यसअघि भनेका थिए उनी सटडाउनको प्रयोग संघीय कार्यबल घटाउने आफ्नो पुरानो लक्ष्य पूरा गर्नका लागि गर्न चाहन्छन्। अमेरिकी कानुनअनुसार संघीय सरकारले आफ्नो कर्मचारी हटाउनुअघि कम्तीमा ३० दिन पहिले जानकारी दिनुपर्ने प्रावधान छ।
अमेरिकाको सिनेटमा सरकारको खर्चसम्बन्धी विधेयकमा सहमति नबनेपछि विधेयक हुन सकेन र यही कारण देश सटडाउनको अवस्थाबाट गुज्रिरहेको छ।
डेमोक्र्याट र रिपब्लिकन दुवै एकअर्कालाई सटडाउनको जिम्मेवार ठहराइरहेका छन्। सटडाउनको अवस्थामा हजारौँ कर्मचारीलाई तलबविना जबरजस्ती बिदामा पठाइन्छ।