
काठमाडौँ – मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। सरकारमा अल्पमतमा परेपछि सिंहले विश्वासको मत लिने तयारी गरेका हुन्।
उनले आगामी २८ गते विश्वासको मत लिने तयारी गरेका हुन्। मुख्यमन्त्री सिंहले आगामी २८ गते विश्वासको मतका लागि व्यवस्था मिलाइदिन प्रदेशसभा सचिवालयलाई पत्रचार गरेका छन्।
‘नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मतका लागि मिति २०८२/०६/२८ गते व्यवस्था मिलाइ दिनुहुन अनुरोध गर्दछु,’ मुख्यमन्त्री सिंहले प्रदेशसभा सचिवालयलाई पठाएको पत्रमा उल्लेख छ।
आफ्नै दल जनमत पार्टीसहित नेपाली कांग्रेस र नेकपा एमालेले समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री सिंह अल्पमतमा परेका हुन्। जनमत पार्टी प्रदेश संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरे पनि सिंहले सरकार छाडेका छैनन्।
मन्त्रिपरिषद्मा एक्लै भए पनि उनले हालसम्म राजीनामा दिएका छैनन्। अल्पमतमा परिसके पनि राजीनामा नदिई उनले विश्वासको मत सामना गर्न लागेका हुन्।
सिंहले राजीनामा नदिएपछि नेकपा एमाले र जनमत पार्टीको समर्थनमा नयाँ सरकार गठनका लागि कांग्रेसले प्रदेश प्रमुख कार्यालयमा दाबीसमेत पेस गरिसकेको छ। नयाँ सरकार गठनका लागि दाबी पेस भएपछि मुख्यमन्त्री सिंहले अविश्वासको प्रस्ताव सामना गर्न लागेका छन्।
१०७ सदस्यीय मधेश प्रदेशसभामा बहुमत प्राप्त गर्न ५४ सांसदको समर्थन आवश्यक हुन्छ। प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित २५ (एक जना निलम्बन), नेपाली कांग्रेसका २२, जनमतको १३, लोसपाका ९ (एक निलम्बन), जसपा नेपालका १९, माओवादी केन्द्रका ९, एकीकृत समाजवादी ७, नागरिक उन्मुक्ति पार्टी, राप्रपा र संघीय समाजवादी पार्टीका १/१ सांसद छन्।