पूरा नहोस् सत्तामा फर्कने ओली चरित्रको सपना

वीरेन्द्रबहादुर सिंह २६ असोज २०८२ १६:०२
22
SHARES
पूरा नहोस् सत्तामा फर्कने ओली चरित्रको सपना

नेपालमा कम्युनिस्ट आन्दोलनले कहिल्यै सामान्य स्थान ओगटेको थिएन। यो आन्दोलन समानता, वर्गमुक्त समाज र सर्वहारा शासनको आदर्श बोकेर जन्मिएको थियो। आमजनताले परिवर्तन, न्याय र समान अवसरको सपना कम्युनिस्ट विचारमार्फत देखेका थिए। तर आजको यथार्थले त्यो सपना विखण्डित र विकृत रूप धारण गरिसकेको छ।

नेपाली राजनीति फेरि पनि त्यही पुरानो रोगले ग्रसित भएको देखिन्छ। तत्कालीन सत्ताधारी दल र तिनका नेताहरू भ्रष्टाचार, दम्भ, घमण्ड र अहंकारले अन्धा बनेका कारण राष्ट्र र नागरिकप्रति जिम्मेवार बन्न सकेनन्। आन्दोलनकारी जनतामाथि गरिएको क्रूर दमन र निर्दोषहरूको हत्या यसको प्रमाण हो।

जेनजी आन्दोलनले यही अन्याय र अहंकारविरुद्ध आवाज उठायो र अन्ततः तिनै सत्ता लालची नेताहरूलाई सत्ताच्यूत गर्न सफल पनि भयो। सत्ताबाट हटेपछि आफ्नो जिउ जोगाउनसमेत अति कठिन भएपछि नेपाली सेनाले बचाएका नेताहरू अझै आफ्ना कार्यकर्ताको छायामा बस्दै पुनः सत्तामा फर्किने सपना देख्दै छन्।

विशेषतः केपी शर्मा ओलीजस्ता नेताहरूले आफ्नो सीमाभन्दा बाहिर गएर नयाँ पुस्ताको नेतृत्व, अन्तरिम सरकार र परिवर्तनका सम्भावनामाथि खुलेआम आक्रमण गर्नु, एमाले, कांग्रेसले लामो समय शासन गरेबापत राष्ट्रका सबै निकायमा बलियो गाडिएका जराले समेत रङ देखाउन सुरु गर्नु देशका लागि अर्को अनिष्टको संकेत हो।

राष्ट्र दोहन गरेर आफू र आफ्ना कार्यकर्तालाई पाल्ने प्रवृत्ति संकटको जड हो। एमाले, कांग्रेस र माओवादीलाई साँच्चिकै देश, लोकतन्त्र र नागरिकको चिन्ता भएको भए उनीहरू सत्ताको कुर्सी होइन, जिम्मेवारीको बोझ वहन गर्न तयार हुने थिए। तर दुर्भाग्य! उनीहरूलाई आज पनि चिन्ता देशको होइन फेरि सत्तासीन हुने योजनाको मात्र छ।

एक समय जनताको अधिकारका लागि जंगल र गल्लीमा संघर्ष गर्ने नेताहरू अहिले संसदीय प्रणालीभित्र सत्ता र पैसाको खेलमा रमाइरहेका छन्। समानता र वर्गसंघर्षका नारा बोकेका यी पात्रहरूले अहिले असमानता र अन्यायकै नयाँ संरचना सिर्जना गरेका छन्। राज्यका स्रोत र शक्तिको दोहन गर्दै राजनीतिक व्यापारलाई संस्कारको रूपमा रूपान्तरण गर्ने प्रवृत्ति बढ्दै गएको छ। यो प्रवृत्तिले विचारभन्दा स्वार्थ, आदर्शभन्दा पद र जनताभन्दा परिवार प्राथमिक बन्न पुगेको देखिन्छ।

आजको अस्थिरता, अराजकता र जनअविश्वासका मूल पात्र खोज्ने हो भने कांग्रेस वा एमाले मात्र होइनन्। पछिल्ला वर्षहरूमा कम्युनिस्ट नामधारी ‘नकाबपो; खाओवादीहरू’ वा विभाजित गुटहरूले नै देशलाई बढी संकटतर्फ धकेलेका छन्। उनीहरूले अधिकार र समानताको नाममा जनतालाई भ्रमित पारे तर सत्तामा पुगेर त्यही जनतालाई उत्पीडन र विभेदको चक्रमा फसाए।

दलप्रतिको जनताको वितृष्णा र नयाँ विकल्पको उदय

नेपाली जनतामा परम्परागत दलहरू चाहे ती कांग्रेस, एमाले वा विभिन्न कम्युनिस्ट नामधारी समूह हुन्। उनीहरूप्रति गहिरो निराशा र वितृष्णा फैलिएको छ। यी दलहरूको कार्यशैली, विचार र जनतामाथिको गैरजिम्मेवार व्यवहारले अहिलेको पुस्तामा नयाँ सोचको आवश्यकता महसुस गराएको छ। विशेष गरी जेनजी पुस्ता अब यथास्थितिवादलाई अस्वीकार गर्दै नयाँ वैकल्पिक राजनीतिक शक्तिको खोजीमा निस्किएको छ।

यो आन्दोलन केवल असन्तोषको परिणाम होइन यो नयाँ चेतना र परिवर्तनको संकेत हो। आगामी दिनहरू अब ती दलहरूको हुने छैनन् जसले जनतालाई केवल मतदाता सम्झे। अब समय ती शक्तिहरूको हुनेछ जसले विचार, पारदर्शिता र उत्तरदायित्वका माध्यमबाट जनताको विश्वास पुनःस्थापना गर्नेछन्।

कम्युनिस्ट विचार आफैँमा गलत होइन। गलत त त्यस विचारको प्रयोग हो जब त्यो जनताको मुक्तिको साधन नभई सत्ताको सीढी बन्छ। विचार तब मरिन्छ जब चरित्र भ्रष्ट हुन्छ। आजको आवश्यकता नयाँ आन्दोलन होइन, पुरानो विचारको पुनःशुद्धीकरण हो। जहाँ समानता नारामा होइन, व्यवहारमा देखियोस् र जनताको अधिकार नेताको सम्पत्ति नबनोस्।

कम्युनिस्ट हुनु घमण्ड होइन, जिम्मेवारी हो। तर जब विचारभन्दा शक्ति ठूलो बन्छ, आन्दोलन होइन व्यापार जन्मिन्छ।  नेपालको राजनीति आज संक्रमणमा होइन मूल्य संकटमा छ। यो संकटको मूल कारण विचारको पतन हो। जनताको पक्षधर भनिनेहरू जनतामाथि शासन गर्ने मनोवृत्तिले ग्रस्त भएका छन्। अब समय आएको छ- विचारका नाममा भइरहेको व्यापारको अन्त्य र सच्चा सामाजिक न्यायका लागि विचार र व्यवहारबीचको पुल पुनःनिर्माण गर्न। नयाँ पुस्ताको राजनीतिक चेतना, नयाँ वैकल्पिक सोच र उत्तरदायी शक्तिहरूको उदय नै अबको नेपालको आशा हो।

प्रकाशित: २६ असोज २०८२ १६:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast