
चर वर्षअघि गोसाइँकुण्ड यात्राका क्रममा दुई रात कुटुमसाङमा बास बसेको थिएँ। कुटुमसाङबाट मेलम्ची हेर्दै जाऔँ न त भनेर बस चढेँ। केही बेरमा यो बस किन चढेँ हुला भनेर थकथक मानेको थिएँ। बाटो निकै खराब रहेछ। अलिकति असावधानीले पनि ज्यानै जान सक्थ्यो। सकुशल घर पुगिएला-नपुगिएला भनेर चिन्तित भएको थिएँ। त्यतिबेला लागेको थियो यो बाटो अब जिन्दगीमा कहिल्यै आइने छैन। बसचालकको हिम्मत र दक्षता प्रशंसायोग्य थियो।
भनेजस्तो कहाँ छ र जिन्दगी? भुल्ने त मानिसको स्वाभावै हो। घर छोडेको नौ दिनमा नौलो, बीस दिनमा बिस्र्यो भन्छन्। चार वर्षअगाडि कान समातेर हायल बाबा काशी भएको समयको प्रवाहसँगै बगेर गएछ। भुल्यो जिन्दगी, समयको चक्रमा हरायो जिन्दगी भएछ। मेरा पदयात्राका अनन्य मित्र सनतकुमार रेग्मीले सुरसिंह झरनाका विषयमा निकै प्रशंसा गर्नुभएको थियो। कामविशेषले गर्दा त्यो झरनाका लागि राखिएको पदयात्रामा म सहभागी हुन सकेको थिइनँ।
पदयात्राबाट फर्केर आएपछि उहाँले झरनाका विषयमा निकै बयान गर्नुभयो। यद्यपि उहाँहरू चढेको बस बाटोमा फसेर सबै पदयात्री भएर तानेको तस्बिर सार्वजनिक भएको थियो। मैले त्यो देखेको थिएँ। ‘पानी परेको हुँदा हो, नत्र बाटो ठीकै हो’ भन्ने सुनेको थिएँ। मेलम्चीभन्दा केही माथि छ भन्थे। अरू झरनाभन्दा फरक यसको अवलोकन ३६० डिग्रीबाट गर्न सकिन्छ भनेर रेग्मी बन्धुले नै भनेको हुँदा यो कस्तो रहेछ भन्ने प्रबल जिज्ञासा भएको थियो। अरु साथीभाइले हेरेर आइसके आफू भने घरायसी गोरखधन्दाका कारणत्यो मौकाबाट वञ्चित भएको थिएँ। मनमा एक किसिमको बेचैनी थियो। मानिसको जात न हो एउटाले केके न हो भनेपछि अर्कोलाई छटपटी चल्छ। आफू वञ्चित भएको लघुताभासमा थिचिन पुग्छ।
शेर्पा इको एडभेन्चर्सले पनि सुरसिंह झरना लाने भएछ। यसो सूचना देखेँ र तत्काल जाने निधो गरेर नाम लेखाएँ। मेलम्ची धेरै पटक पुगेको छु। कुटुमसाङबाट फर्किँदा र आमायांग्री जाँदा पनि यही बाटो भएर हिँडेको हुँ। उता पाँचपोखरी जाँदा पनि यहीँबाट भएर गएको थिएँ। अरू बेला हिउँदको समय थियो भने योचाहिँ बर्खाको समय। पहाड र हिमाल हेर्ने हिउँदमा र झरना हेर्ने बर्खामा भन्छन्। बर्खामा ढुंगाको चेपचेप पनि रसाउँछ। खोल्सा, खहरे गडगडाएर बग्छ। पहाड रसाउँछ र पानीको मूल फुटेर भीरपाखा रमाउँछन्। पानीका छाँगा लट्टा फिँजाएजसरी जटाबाट गंगा बगेजसरी बग्छन्। वरिपरि हरिया वनको बीचबाट सेतो पखेटा फिँजाउँदै फुक्कापाल वेगले झर्दछन् छहराहरू। पहरामा ठोक्किएर पानीका कण वाष्पित आयातनमा इन्द्रेणी बनाउँछन्।
झरना प्रकृतिको अलौकिक दृश्य हो। लोकको अलौकिताभित्र हराउन झरनाको दृश्यपान गर्नुपर्छ। पहाडको शिर कन्दराको खोंचबाट निस्किएर कञ्चन स्फटिक पवित्रताको दर्शन गर्नका लागि हो झरनाको दृश्यपान। देवी र देवताको वास हुन्छ लता लहरा, कन्दरा, पहाड, वन हरियालीमा। उसैको काखबाट फुत्त निस्किएकी कुमारीको दर्शन हो झरनाको दृश्यपान।
बाटो लामो छ भनेर आयोजकले भनेपछि बिहान घरबाट ६ बजे निस्कियौँ। काठमाडौँबाट जरसिंहपौवा हुँदै मेलम्चीतर्फ लाग्यौँ। मेलम्चीसम्म १० मिलोमिटर जतिबाहेक पिच बाटो थियो। सोचेको थिएँ– मेलम्चीबाट हामी पूर्वतर्फ लाग्नेछौँ। तर मेरो सोचाइविपरीत बस त मेलम्ची खोलाले बिगारेको उबडखाबड बाटो हुँदै हेलम्बुतर्फ लाग्यो। सोच्दै थिएँ यतैकतै नजिकैको पहाड हुनुपर्दछ हाम्रो गन्तव्य।
सँगै सिटमा बसेको मित्रले कुरा झिके- ‘हैन यहाँ मेलम्ची खोलाको छेउछाउ त्यति धेरै जग्गा देखिँदैन। धानखेती पनि थोरै न देखिन्छ। फेरि सबै किसानले बासमती धान रोपेका पनि छैनन् होला। काठमाडौँमा बाह्रैमास मेलम्चीको बासमती चामल भनेर बेचेको देख्छु।’ उनको भनाइमा सत्यता थियो। हुन पनि हो, काठमाडौँमा बाह्रैमास मेलम्चीको बासमती चामल भनेर किन्न पाइन्छ भनेर, विश्वास गरेर किन्ने र साँच्चिकै मेलम्चीमा फलेको बासमती चामल पाइने भिन्न विषय हुन्। व्यापार अपार हुन्छ भन्छन्। सगरमाथाको बेस क्याम्पमा पान सुपारी पाइने देशमा बासमतीको चामल बाह्रै महिना पाउनु कुनै ठूलो कुरा भएन। कुरा गर्दागर्दै हामी हेलम्बुस्थित चनौटे रिसोर्ट पुग्यौँ। त्यहाँ पुग्दा १० बजेको थियो। ब्रेकफास्ट गर्न भनेर आयोजकले बस रोकेका थिए। भन्दै थिए, झरना हेरेर आएपपछि हामीले खाना पनि यहीँ खाने हो।
चनौटे ससानो बजार एरिया हो।र हेलम्बु र गोसाइँस्थानतिर जानेहरू यहाँ रोकिन्छन्। चार वर्षअघि कुटुमसाङबाट फर्किँदा पनि यसै ठाउँमा खाना खाएका थियौँ हामीले। यहाँबाट मेलम्ची खोलाको रौद्ररुप र खोलापारि पाखाको प्राकृतिक सुन्दरता राम्रो देखिन्छ। करेली परेको पहाडको माथिमाथि शिर भागमा पनि ससाना बस्ती रमाइलो देखिन्छ। टाढाबाट हेर्नेलाई रमाइलो, त्यहीँ जीवन काट्नेलाई थाहा छ पहाडको कहरको कथा। तल बगरमा खोला सुसाउँछ। माथि डाँडामा मानिसको सुस्केरा। मेलम्चीमा पानीको छाल छल्किन्छ, माथि डाँडामा पसिनाको धारो। यही नै त छ फरक जिन्दगी फेदीमा हुनु र टाकुरामा हुनु।
रिसोर्टको आफ्नै खेतको गहरामा धानको बाला झुलेको थियो। केही दिनभित्र यो पाक्छ र घर भित्रिन्छ या बोरामा बन्दी भएर काठमाडौँका साहुहरूको गोदाममा थन्किन पुग्छ। खेतको आलीमा बसेर धानको बालामा हेर्दै हामीले समयलाई क्यामेरामा कैद गर्यौँ।
खाजा नास्तापछि बस गुड्यो। जसै बसले उकालो बाटो समात्यो मेरो होस खुल्यो। यो त म चार वर्षअघि हिँडेको त्यही बाटो थियो। मन सिरिंग गर्यो। आउँदिनँ–हिँड्दिनँ भनेको बाटोमा हिँड्दै थिएँ। त्यसैले भनिएको होला नियति। नियतिको अगाडि कसैको जोड चल्दैन। नियतिको अगाडि निरीह बन्नुशिवाय अर्को विकल्प हुँदैन। केही किलोमिटर माथि पुगेपछि बस खाल्टोमा फस्यो। यसको परिबन्द हुँदै गर्ला। हामी हिँड्दै गरौँ भनेर झोला बोकेर हगाडि बढ्यौँ। स्थानीयले अगाडि बाटो खराब छ हिँडेर जाँदा ठीक हुन्छ भने। कति समय लाग्ला सुरसिंह झरना पुग्न भनेर सोधेको, पारि डाँडाको खोँचमा पानीको सेतो पगरी देखाएर ऊ …त्यही हो सुरसिंह, त्यहाँ पुग्न दुइ घन्टा लाग्छ भने।
बस निकालेर आएछन्। हामी फेरि बस चढेर केही माथिसम्म गयौँ र बस त्यहीँ राखेर झरना भएको ठाउँतर्फ हिड्यौं। खासमा सुरसिंह नभएर सोल्सिङ रहेछ। तामाङ गाउँ भएको हुँदा तामाङ भाषामा ठाउँ नामकरण भएको हुनुपर्छ। यहाँसम्म तामाङ बस्ती छ। यहाँबाट उत्तर माथि लाग्यो भने शेर्पा बस्ती छ। नेपालका पहाडमा बस्ती विकासको पनि छुट्टै विशेषता रहेको पाइन्छ। तामाङहरू मध्यपहाडमा बस्न रुचाउने गर्दछन् भने शेर्पाहरू उच्च पहाडी तथा हिमाली भेगमा बस्न रुचाउँछन्। क्षेत्री, बाहुनहरू बेसी, नदी किनार, महाभारत पर्वत शृंखलाको आसपास, जंगल र पानी भएको ठाउँमा बस्न रुचाउँछन्। जातीय विविधताको रंगीन समिश्रण छ नेपाल। तल धान फल्ने फाँटमा क्षेत्री, बाहुन, सीमित तामाङ र अरु जनजातिहरूको बाहुल्य छ भने हाइल्यान्ड कोदो फल्ने डाँडापाखामा तामाङ।
चनौटेबाट माथि लागेपछि धानको विशाल फाँट देखिए। लहलह झुलेका धानको फाँटको सुन्दरता हेर्न लायक थियो। कतै भर्खर पोटाएको, कतै पाक्न ठिक्क परेको, कतै हरियो बोटको गह्राहरू र कतै पहेँलै झुलेका धानका बालाले शोभित भूमि। बल्ल लाग्यो मेलम्चीमा बासमती फल्दो रहेछ। मेलम्चीको बासमती काठमाडौँलाई पनि दिन पुग्दो रहेछ। सँगैका साथी पनि खुसी देखिए।
खासमा सोल्सिङ झरनाका नाम ब्लाङजे झरना हो। चट्टानी डाँडाबाट झर्ने भएको हुँदा स्थानीय यसलाई ब्लाङ्जे झरना भन्छन्। हामी भने यसलाई सोल्सिङबाट सुरसिंह बनाइरहेका छौँ। यहाँबाट आधा घण्टाको हिँडाइमा पुगिन्छ कुटुमसाङ। कुटुमसाङभन्दा केही माथिबाट झरेको छ यो झरना।
झरना देख्नेबित्तिकै मुखबाट निस्कन्छ वाह…। झरना ताछिएको चट्टानबाट झरेको हुँदा घुमेर पनि हेर्न सकिन्छ। पानीको मात्रा पनि प्रशस्त छ। हिँउदमा पनि सुक्दैन। झरनाको पानी चट्टानमा ठोक्किएर उडेको वाष्पकणको बाक्लो तुवाँलोको घेराभित्र इन्द्रेणी परेको हेर्न सकिन्छ। यस्तो अनुपम दृश्य विरलै देख्न पाइन्छ। सँगैको अर्को चट्टानबाट पनि झरनाको मुस्लो झरेको देखिन्छ। अर्थात् यहाँ एकै ठाउँमा जोडी झरना हेर्न पाइन्छ। झरना हेर्न जाँदा बर्सादी ओडेर जानुपर्दछ। अन्यथा पूरे भिजिन्छ।
झरना अवलोकन गरेर चनौटेमा आइपुग्दा पाँच बजेको थियो। भोकले चुर भएका हामी थालमा बासमती थियो कि सावित्री कुनै वास्ता भएन। भोजनभन्दा भोकै मिठो। पित्को साग र केही चाना आलुसँग भात लतरपतर गरेर खाइयो। काठमाडौँ आइपुग्दा साढे आठ बजेको थियो।