जेनजी आन्दोलनको एक महिना

दलहरूले आफूलाई सुधार गरी युवाको क्रान्तिलाई स्वीकार गर्नुपर्छ : प्रधानमन्त्री

हिमाल प्रेस २४ असोज २०८२ ५:४५
24
SHARES
दलहरूले आफूलाई सुधार गरी युवाको क्रान्तिलाई स्वीकार गर्नुपर्छ : प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्की।

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार, बेराजगारी, विभेदजस्ता समस्यालाई सम्बोधन गर्न राजनीतिक र प्रशासनिक सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।प्रधानमन्त्री कार्कीले बिहीबार एक भिडियो सन्देश जारी गर्दै भनिन्,‘गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका पीडितपरिवारलाई राहत र घाइतेको उपचारका लागि विशेष कार्यक्रम ल्याएका छौँ। उनीहरूको कल्याणका लागि थप संयन्त्र बनाउने क्रममा छौँ।’

नेपालका जेनजी युवाले सुरु गरेको राजनीतिक आन्दोलन बिहीबार एक महिना पुगेको अवसरमा सार्वजनिक गरिएको भिडियो सन्देशमा प्रधानमन्त्रीले जेनजीको राजनीतिक क्रान्तिको भावनालाई सबैले आत्मसात् गर्न जरुरी रहेको बताएकी छन्। ‘हाम्रा युवाको बलिदान पछाडि राजनीतिक र आर्थिक सुधार देख्ने तीव्र चाहना छ। देशमा न्याय, विधिको शासनको अपेक्षा छ। देशमा भ्रष्टाचार र बेथिति उन्मूलन भएको हेर्ने चाहना छ’, प्रधानमन्त्रीले सन्देशमा भनिन्, ‘युवापुस्ताले गरेको क्रान्तिलाई हामी सबैले स्वीकार गर्नुपर्छ।’

प्रधानमन्त्री कार्कीले विगतका सरकारले युवाको आवाज सुन्न नसकेको र उनीहरूको माग सम्बोधन गर्न नसकेको उल्लेख गर्दै सबैले आफ्नो कमजोरी र गल्तीलाई विनम्रतापूर्वक स्वीकार गर्नुपर्ने बताइन्। ‘एकातिर हाम्रा युवामा निराशा व्याप्त छभने अर्कातर्फ देशप्रति उत्कट प्रेम। उनीहरूको भावनालाई म सम्मान गर्न चाहन्छु’, प्रधानमन्त्रीले भनिन्।

सरकारले पीडितपरिवारलाई राहत र घाइतेको उपचारका लागि विशेष कार्यक्रम ल्याएको जानकारी दिँदै प्रधानमन्त्रीले उनीहरूको कल्याणका लागि थप संयन्त्र बनाउने क्रममा रहेको बताइन्। उनले भ्रष्टाचार, बेराजगारी, विभेदजस्ता समस्यालाई सम्बोधन गर्न राजनीतिक र प्रशासनिक सुधार गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

युवापुस्ताले चाहेको परिवर्तनप्रति आफू प्रतिबद्ध रहेको र नयाँ मार्गमा अघि बढिरहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनपछि पनि युवाको माग सम्बोधनका लागि निरन्तर प्रयास हुनुपर्ने बताइन्। ‘जेनजीले उठाएका मागप्रति सबै युवा सचेत हुन जरुरी छ भने राजनीतिक दलहरूले आफूलाई सुधार गर्न पनि जरुरी छ’, प्रधानमन्त्रीले भनिन्।

सम्बोधनका क्रममा प्रधानमन्त्री कार्कीले भविष्यको नेपाल निर्माणमा जेनजीलाई अर्थपूर्ण रूपमा सहभागी गराउन नयाँ संयन्त्र स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले सबैलाई संयम राख्न र हिंसाको चक्र रोक्न अपिल समेत गरिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast