तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न आयोगलाई राष्ट्रपतिको निर्देशन

हिमाल प्रेस २३ असोज २०८२ २०:३६
10
SHARES
तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न आयोगलाई राष्ट्रपतिको निर्देशन

काठमाडौँ- निर्वाचन आयोगले आगामी २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तथा भावी कार्यक्रमको सम्बन्धमा राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएको छ।

आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको तयारी तथा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहीत र शान्तिपूर्ण बनाउनका लागि गर्नुपर्ने भावी कार्यक्रमका सम्बन्धमा राष्ट्रपति पौडेललाई जानकारी गराएका हुन्।

भण्डारीले निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने स्रोत, साधन र जनशक्तिको विषयमा प्रधानमन्त्री सुशीला कार्की तथा सम्बन्धित विभागीय मन्त्रीहरूसँग भएको छलफलबारे पनि राष्ट्रपतिलाई जानकारी गराएका थिए।

उनले सरकारको तर्फबाट निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाइने र मितव्ययी रूपमा निर्वाचन सम्पन्न गर्न आवश्यक सहयोग उपलब्ध गराइने सुनिश्चितता प्राप्त भएको पनि बताएका छन्।

निर्वाचन आयोगले आफ्ना आन्तरिक प्रशासनिक तयारीलाई समेटेर तयार गरेको कार्ययोजनाअनुसारका कामहरू योजनावद्ध रूपमा अघि बढिरहेको जनाएको छ। साथै आयोगले निकट भविष्यमै राजनीतिक दल र सरोकारवालाहरूसँग छलफल गर्ने कार्यक्रम तय गरेको जनाएको छ।

उक्त अवसरमा राष्ट्रपति पौडेलले आयोगलाई निर्वाचनमा सबै नागरिकको सहभागिता सुनिश्चित गर्ने वातावरण तयार गर्न, राजनीतिक दल तथा सरोकारवालासँग तत्काल छलफल अघि बढाउन र तोकेको समयमा निर्वाचन सम्पन्न गर्ने कार्यतालिकाअनुसारका सबै कार्य समयमै पूरा गर्न निर्देशन दिएका दिए।

आयोगले स्वीकृत कार्ययोजनाअनुसार आगामी दिनमा निर्वाचन आचारसंहिता निर्धारण र कार्यान्वयन, उम्मेदवार मनोनयन दर्ता, छानबिन, अन्तिम नामावली प्रकाशन, मतदानलगायतका सम्पूर्ण प्रक्रिया राजनीतिक दल र सरोकारवालासँगको परामर्शमा पूरा गरिने जानकारी दिएको छ।

राष्ट्रपति पौडेलसँग शीतल निवासमा भएको भेटमा निर्वाचन आयुक्त डा.जानकीकुमारी तुलाधर, निर्वाचन आयुक्त सगुन शम्शेर जबरा, आयोगका सचिव महादेव पन्थका साथै राष्ट्रपतिका विज्ञ सल्लाहकारहरू र राष्ट्रपति कार्यालयका सचिव डा.दीपक काफ्ले उपस्थित थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast