
पोखरा– जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशसभाका ६ वटा चारपाङ्ग्रे र १२ वटा दुईपाङ्ग्रे सवारी आगजनी गरी ध्वस्त पारियो। पर्यटन तथा उद्योग मन्त्रालयका ४ वटा गाडी र ५ वटा मोटरसाइकल पूर्ण रुपमा जले भने आर्थिक मामिला मन्त्रालयका ३ चारपाङ्ग्रे र ६ दुईपाङ्ग्रे सवारी जले।
प्रदेश प्रमुखको कार्यालयका ४ वटा चारपाङ्ग्रे र ३ वटा मोटरसाइकल जलेका छन्। सोही कार्यालयका कर्मचारीका २ वटा निजी मोटरसाइकल जलेका छन्। प्रदेश लोक सेवा आयोगका ४ चारपाङ्ग्रे र १ दुईपाङ्ग्रे सवारी जले भने प्रदेश नीति तथा योजना आयोगको ३ गाडी र ४ मोटरसाइकलमाथि आगजनी गरियो।
यसरी गण्डकी प्रदेशमा मात्रै ४८ वटा भवन र ३ सय वटा सवारीसाधन जलेको सरकारी तथ्यांक छ। मर्मत गरेर संचालन गर्न सकिने कतिपय कार्यालयहरुको यतिखेर रंगरोगन तथा मर्मत सम्भार लगायत कार्य जारी छन्।
जलेका सवारीसाधन मर्मत हुन सकेका छैनन् भने नयाँ किन्दा ठूलो व्ययभार पर्न जान्छ। यसैक्रममा गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएसन पोखराले ती सबै जलेका सवारीसाधन मर्मत सम्भारको जिम्मा लिन तयार भएको छ। यसो गर्दा एक करोड पर्ने एउटा सवारीसाधनको मर्मत सम्भार गर्दा ३० लाख लाग्यो भने राज्यको ७० लाख जोगिन्छ।
एसोसिएनका अध्यक्ष विष्णुप्रसाद अधिकारी भन्छन्, ‘जेनजी आन्दोलनका क्रममा पोखरा क्षेत्रभित्र तोडफोड, आगजनी भएका जति पनि गाडी छन्, तिनीहरुको सहुलियत मूल्यमा मर्मत गरी नयाँ जस्तै बनाउन एशोसिएसन पोखराले जिम्मा लिन तयार रहेको छ।’
गाडी मर्मत नगरी नयाँ गाडी खरिद गर्दा नेपालको ठूलो धनराशि नेपाल बाहिर जाने भएकाले प्रशासनमार्फत आवश्यक सहयोग गरिदिन माग गर्दै बिहीबार जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापनपत्र समेत बुझाइएको उनले बताए।
सवारीसाधन आगजनी भए पनि फलाम नजल्ने भएकाले त्यसलाई मर्मत सम्भार गरेर पुरानै अवस्थामा फर्काउन सकिने उनको तर्क छ। पुराना सवारीसाधन मर्मतसम्भार गरेर नयाँजस्तै बनाउँदा राज्यको सम्पत्ति ७० प्रतिशत जोगिने उनले दाबी गरे।
‘३० देखि ३५ प्रतिशतमा पुराना सवारीसाधनलाई मर्मतसम्भार गरेर नयाँजस्तै बनाउन सकिन्छ,’ उनले भने, ‘यसो गरेमा राज्यको ७० प्रतिशत जोगिन्छ।’ तर सवारीको क्षति कति छ र मर्मत सम्भार गर्न सकिन्छ वा सकिँदैन यकिन हुन बाँकी रहेको उनी बताउँछन्।
एसोसिएसनका महासचिव विजेन्द्र चौधरीले पनि जलेका गाडी पुरानै स्वरुपमा नयाँजस्तै हुने दाबी गरे।
एसोसिएसनका निवर्तमान अध्यक्ष सन्तोषकुमार मिश्रले जलेका सवारीसाधन मर्मतसम्भार गर्ने जिम्मा दिए सहुलियत दरमा गर्न सकिने बताए। यसले अटोमेकानिकल क्षेत्रले काम पनि पाउने र राज्यको सम्पत्ति पनि जोगिने उनको भनाइ छ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले क्षति यकिनपछि एसोसिएसनसँग मर्मतसम्भारका लागि छलफल गर्न सकिने बताइन्। उनले पहिले क्षति यकिनपछि मात्र छलफल गरी अघि बढ्न सकिने बताइन्।
विभिन्न किसिमका सवारीसाधनहरुको मर्मत सम्भारसँग जोडिएका मेकानिक्सहरुलाई संगठित बनाउने उद्देश्यका साथ स्थापित एसोसिएसनको केन्द्रीय महासंघमार्फत देशैभर एशोसिएसन, संघ, सस्थाहरु कियाशील छन्। हाल एशोसिएसनमार्फत ३ सय २१ वटा फर्म सदस्यहरु (वर्कसप, ग्यारेज) आवद्ध छन्। संस्थाले समयअनुसार आफ्ना सदस्यहरुलाई नयाँ–नयाँ प्रविधि अनुसारका तालिमहरु दिँदै आएको संस्थाका प्रेस सल्लाहकार कृष्ण थापाले बताए।
उनले पोखराबाट सुरु भएको जेनजी आन्दोलनमा क्षतिग्रस्त गाडीको मर्मत सम्भार अभियान देशव्यापी बनाउन छिट्टै गृहमन्त्रीसमक्ष भेट गर्ने पनि जानकारी दिए।