
काठमाडौँ- नेपाली कांग्रेसका अधिकांश नेताहरुले आगामी मंसिरभित्रै विधि प्रक्रिया पूरा गरेर महाधिवेशन गर्नतर्फ अग्रसर हुनुपर्ने बताएका छन्।
बिहीबारबाट पार्टी कार्यालय सानेपामा सुरु कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा धारणा राख्ने नेताहरुले नियमित महाधिवेशनमा जोड दिँदै त्यसका लागि विधि प्रक्रिया पूरा गरेर मंसिरभित्रै महाधिवेशन गर्नतर्फ अग्रसर हुनुपर्ने धारणा राखेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
त्यस्तै जेनजी आन्दोलनका क्रममा दलका नेताहरुमाथि आक्रमण, व्यवसाय, राष्ट्रिय संरचनामा तोडफोड र आगजनी गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा सबै नेताहरुको समान धारणा रहेको उनले बताए।
महतले अहिलेको अवस्थामा सबै दलहरुबीच समान धारणा बनाउन आवश्यक रहेकाले कांग्रेसले त्यसको पहल गर्ने जिकिर गरे।
उनले गृह मन्त्रालयले नै घटनामा संलग्नलाई कारबाही नगर्न दबाब दिएको कुरा आएकाले त्यसमा पार्टीको गम्भीर असहमति रहेको उल्लेख गरे। महतले विश्वसनीय निर्वाचनको आधार नदेखिए पनि मुलुकलाई निकास दिनका लागि निर्वाचनका लागि कांग्रेस तत्पर रहेको बताए।
नेताहरुले धारणा राख्न बाँकी रहेकाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक शुक्रबार पनि बस्ने प्रवक्ता महतले बताए। बैठकले असोज २६ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्ने उनले जानकारी दिए।