
काठमाडौँ- जेनजी सहिद परिवारले सरकारसमक्ष तीनवटा मन्त्रालयको माग गरेका छन्।
बिहिबार काठमाडौँमा जेनजी आन्दोलन सहिद परिवार संघर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गरी सहिदको रगतबाट बनेको सरकारले आफूहरुलाई नै वेवास्ता गरेकाले खबरदारीका लागि भए पनि आफूहरुको उपस्थिति क्याविनेटमा जरुरी भएको बताएका हुन्।
सहिद श्रीयाम चौलागाईका बुबा गणेश चौलागाईले प्रधानमन्त्री सुशीला कार्कीदेखि विभिन्न जेनजी समूह कसैले पनि आफूहरुलाई वास्ता नगरेको गुनासो गरे। चौलागाईले विभिन्न मन्त्रालयहरूमा पटक–पटक ज्ञापनपत्र बुझाउँदा पनि सरकारबाट माग सम्बोधन नहुँदा आफूहरू पीडित र सहिद परिवारले गहिरो पीडा भोग्नुपरेको गुनासो गरे।
जेनजी सहिद परिवार संघर्ष समितिले सरकारसमक्ष श्रम तथा रोजगार मन्त्रालयका लागि सहिद विजय चौधरीको दाजु दिपक चौधरी, खानेपानी मन्त्रालयमा सहिद इस्वत अधिकारीको आफन्त भोजविक्रम थापा र युवा तथा खेलकुद मन्त्रालयका लागि सहिद योगेन्द्र न्यौपानेको मामा कमल सुवेदीको नाम सिफारिस गरेको छ। समितिले सो माग ७ दिनभित्र सरकारले सम्बोधन नगरे सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।