ओली चरित्र : पहिले दुईदुई पटक संसद् विघटन, अहिले पुनर्स्थापनाको रटान

हिमाल प्रेस २३ असोज २०८२ २१:१५
22
SHARES
ओली चरित्र : पहिले दुईदुई पटक संसद् विघटन, अहिले पुनर्स्थापनाको रटान

काठमाडौँ- विगतमा दुई पटक प्रतिनिधिसभा विघटन गरेर आलोचित बनेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यति बेला प्रतिनिधिसभा पुनर्स्थापनाको रटान दिन थालेका छन्। एमाले अध्यक्ष ओलीले बिहीबार भक्तपुरमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा पुनर्स्थापना नै अहिलेको उपयुक्त विकल्प रहेको धारणा अघि सारेका हुन्।

उनले लोकतन्त्रलाई सही बाटोमा फर्काउने पहिलो कदम संसद् पुनर्स्थापना रहेको बताए।

ओली तिनै पूर्वप्रधानमन्त्री हुन् जसले विगतमा सात महिना अवधिमा दुईपल्ट प्रतिनिधिसभा विघटन गरेका थिए। २०७४ सालमा झन्डै दुई तिहाइ बहुमतसहित नेकपाको शक्तिशाली अध्यक्ष र प्रधानमन्त्रीको रूपमा सत्तामा प्रवेश गरेका ओलीमाथि त्यति बेला शक्तिको आडमा संविधान, कानुन र विधि मिचेर मनलाग्दी शासन चलाउने प्रयत्न गरेको आरोप लागेको थियो।

यसैगरी संविधानले व्यवस्था गरेका लोकतान्त्रिक मान्यतामाथि बलमिचाइँ गरी संवैधानिक निकायको स्वायत्ततामा अंकुश लगाउने प्रयत्न गरेको भनेर पार्टीभित्रै आलोचना हुन थालेपछि २०७७ सालमा ओलीले प्रतिनिधिसभा  विघटन गरेका थिए। उनले पहिलोपल्ट २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि २०७८ साल वैशाख १७ र २७ गते चुनाव मिति घोषणा गरिएको थियो। त्यसलाई असंवैधानिक भन्दै सर्वोच्च अदालतले २०७७ फागनु ११ गते प्रतिनिधिसभा पुनर्स्थापित गरिदिएको थियो।

ओलीले दोस्रोपटक २०७८ जेठ ७ गते मध्यराति प्रतिनिधिसभा विघटन गरेर सोही वर्षको कात्तिक २६ र मंसिर ३ गते चुनाव मिति तोकिएको थियो। ओलीको त्यो कदम संविधानविपरीत रहेको भन्दै सर्वोच्चले बदर गरिदिएको थियो। सर्वोच्चले प्रतिनिधिसभाबाट विश्वासको मत लिन नसकेको आधारमा ओलीलाई प्रधानमन्त्रीको दाबी प्रस्तुत गर्न अयोग्य हुने गरी फैसला सुनाइदिएको थियो।

जेनजी आन्दोलनका कारण भदौ २४ गते प्रतिनिधिसभा विघटन भएर फागुन २१ गतेका लागि नयाँ निर्वाचन मिति घोषणा भएको छ। निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ भने असोज ३० दलहरूसँग आयोगले छलफल गर्ने कार्यसूची सार्वजनिक गरिएको छ। एमाले अध्यक्ष ओली भने चुनावमा नगई पुनस्र्थापनाका पक्षमा उभिएका हुन्।

प्रकाशित: २३ असोज २०८२ २१:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast