
काठमाडौँ- दुई प्रमुख वामपन्थी दलले विद्यमान राजनीतिक संकट समाधानका लागि भिन्नभिन्न धारणा अघि सारेका छन्। नेकपा एमाले विघटित प्रतिनिधिभा पुनर्स्थापना गर्नुपर्ने पक्षमा देखिएको छ भने माओवादी जसरी पनि चुनाव गर्नुपर्ने अडानमा छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना गरेर देशलाई लोकतन्त्रको ट्रयाकमा फर्काउनुपर्ने बताएका हुन्।
एमाले भक्तपुर जिल्ला कमिटीले बिहीबार भक्तपुरको गुन्डुमा आयोजना गरेको कार्यक्रममा ओलीले लुटपाट, विध्वंसबाट प्रतिनिधिसभा विघटन गरिएको र लोकतन्त्रलाई ट्रयाक आउट गरिएको उल्लेख गर्दै लोकतन्त्रलाई सही बाटोमा फर्काउने पहिलो कदम संसद् पुनर्स्थापना भएको बताए।
अध्यक्ष ओलीले संसद् पुनर्स्थापनाका लागि देशैभरि आन्दोलनको तयारी गर्न कार्यकर्तालाई निर्देशनसमेत दिए। अध्यक्ष ओलीले संसद् पुनर्स्थापनामा नेपाली कांग्रेस र अन्य दलले निर्णय गरेर अघि बढ्ने आफूले अपेक्षा गरेको बताए। नेपाली कांग्रेसका तर्फबाट निर्वाचनमा जाने या संसद् पुनर्स्थापना गर्ने भन्नेमा औपचारिक धारणा सार्वजनिक भएको छैन।
माओवादी महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीले सक्रियताका साथ चुनावमा भाग लिने बताएका छन्। समितिको गत सोमबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भनेका थिए, ‘घोषित मितिमा निर्वाचन हुनुपर्छ। सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने हो। हाम्रो पार्टी सक्रियताका साथ निर्वाचनमा भाग लिन्छ र अघि बढ्छ।’
प्रचण्डले निर्वाचनमा सहभागिताबारे अन्य दलसँग पनि छलफल भइरहेको जानकारी दिए। उनले भने, ‘अन्य राजनीतिक दलहरुसँग पनि कुराकानी भइरहेको छ। मलाई लाग्छ- केही समयपछि त्यसको परिणाम देखिन्छ।’
जेनजी आन्दोलनका कारण भदौ २४ गते प्रतिनिधिसभा विघटन भएर फागुन २१ गतेका लागि नयाँ निर्वाचन मिति घोषणा भएको छ। निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ भने असोज ३० दलहरूसँग आयोगले छलफल गर्ने कार्यसूची सार्वजनिक गरिएको छ।