ओलीको दम्भ उस्तै- ‘डराएर भाग्दिनँ, कार्की आयोग अस्वीकार्य’

हिमाल प्रेस २३ असोज २०८२ १४:२०
22
SHARES
ओलीको दम्भ उस्तै- ‘डराएर भाग्दिनँ, कार्की आयोग अस्वीकार्य’ भक्तपुरको गुन्डुमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली।

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री  केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकारको कडा आलोचना गरेका छन्। उनले बिहीबार भक्तपुरमा आयोजित कार्यक्रममा कार्की नेतृत्वको सरकार बलमिच्याइँबाट बनेको दाबी गरे।

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा भदौ २३ गते आन्दोलनमा उत्रिएका जेनजी युवामाथि तत्कालीन ओली नेतृत्वको सरकार आततायी रूपमा प्रस्तुत हुँदा १९ जनाको ज्यान गएको थियो। सोही घटनाको आक्रोशमा भोलिपल्ट भएको आन्दोलनका क्रममा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, देशभरका अधिकांश ठाउँका प्रहरी चौकी र सरकारी कार्यालयहरूमा आगजनीबाट खरानी भएको थियो।

उक्त प्रदर्शनका क्रममा ७४ जनाको ज्यान गएको छ भने अर्बौँको भौतिक सम्पत्ति नष्ट भएको छ। जेनजी युवाले उक्त घटनामा तत्कालीन सरकारको नेतृत्वमा रहेका ओली र गृहमन्त्रीको संलग्नता रहेको भन्दै पक्राउ गर्न माग गरिहरेका बेला ओलीले आफू प्रधानमन्त्री कार्कीसँग डराएर नभाग्ने बताएका हुन्। ओलीकै हठ र दम्भका कारण त्यति ठूलो क्षति भइरहेको भनेर आलोचना भइरहँदा उनी फेरि आफ्नै पारामा प्रस्तुत भएका हुन्।

ओलीले आफ्नो पासपोर्ट रोकेको, उपत्यका छोड्न रोक लगाएको विषयमा आपत्ति जनााए। उनले आफूलाई पक्राउ गर्ने लगायतका विषय उठाएर गृहमन्त्री ओमप्रकाश अर्याललाई धेरै उत्ताउलो नबन्न पनि चेतावनी दिए। उनले भक्तपुरमा बिहीबार आयोजित कार्यक्रममा भने, ‘पासपोर्ट रोक्का रे! डाँडो काट्न नहुने हो रे! सुशीला कार्की डरको डरले केपी ओली भाग्छ?’ उनले भने, ‘हुन त म अहिलेका गृहमन्त्रीलाई चिन्दिनँ। तर म गृहमन्त्री बाबुलाई धेरै नउत्तालिन र नचम्किन सुझाव दिन चाहन्छु। राजनीति चलाउने र देश चलाउने काम ख्यालठट्टा होइन।’ ओलीले एमालेलाई नजिस्क्याउन चेतावनी दिए।

भदौ २३ र २४ को घटनाका सम्बन्धमा छानबिन गर्न पूर्वन्यायाधीश पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको न्यायिक जाँचबुझ आयोग गठन सक्रिय छ। ओलीले उक्त आयोगको प्रतिवेदन अस्वीकार्य हुने बताए। ‘पहिले नै केपी ओली समात्नुपर्छ, थुन्नुपर्छ भन्ने मान्छेहरुको आयोग बनाएर छानबिन गरेर प्रतिवेदन दिएको नाटक गर्ने अनि त्यो प्रतिवेदनका आधारमा अगाडि बढे भन्ने नाटक गर्ने’, ओलीले भने, ‘यस्ता नाटक नेकपा एमालेलाई मञ्जुर छैन। स्वीकार्य छैन।’

जेनजी विद्रोहका क्रममा कार्कीले सामाजिक सञ्जालमा सार्वजनिक गरेको अभिव्यक्तिलाई लिएर कार्कीको आलोचना भइरहेको छ। ओलीले भने, ‘एमालेलाई यो नक्कली आयोग मञ्जुर छैन। किनभने आयोगमा राखिनु, बस्नुभन्दा अगाडिको प्रश्न उठिसकेपछि नैतिकताका आधारमा राजीनामा दिनु पर्दैन थियो? एउटा मान्छे अहिलेको अहिल्यै विरोधीबाट निष्पक्ष हुन सम्भव छ?’

प्रकाशित: २३ असोज २०८२ १४:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast