महेश बस्नेतको अराजक अभिव्यक्ति- गलत नियतले गुन्डु प्रवेश गरे अचार बनाउँछौं

हिमाल प्रेस २३ असोज २०८२ १२:५२
30
SHARES
महेश बस्नेतको अराजक अभिव्यक्ति- गलत नियतले गुन्डु प्रवेश गरे अचार बनाउँछौं

काठमाडौँ- नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले गलत उद्देश्यका साथ भक्तपुरको गुन्डु प्रवेश गर्नेहरूलाई ‘अचार’ बनाइदिने भन्दै अराजक अभिव्यक्ति दिएका छन्। बिहीबार भक्तपुरमा आयोजित एमाले जिल्ला कमिटीको कार्यक्रममा बोल्दै बस्नेतले भने,‘जो कोही गलत नियतले गुन्डु भित्रिन्छ, गौँडामै अचार बनाएर फर्काइन्छ।’

बस्नेतले जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको सबै विवरण एमालेले सुरक्षित राखेको दाबी गर्दै गृहमन्त्रीलाई आफूलाई पक्राउ गरेर देखाउन चुनौती पनि दिए।
उनका अनुसार हामीले पञ्चायत र राजतन्त्रविरुद्ध लडेका हौं, छाती फर्काएर हिँड्दैनौं। एक एक हिसाब हुन्छ।

उनले अपराधीहरूलाई कारबाही गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै एमालेले अब ‘डिजिटल जेनेरेसन फोर्स’ गठन गर्ने घोषणा गरे। उक्त फोर्समार्फत देशभर उजुरी संकलन गरी त्यसको आधारमा कारबाही अघि बढाइने उनले बताए।

बस्नेतले भ्रष्ट्राचार अनुसन्धान गर्नुपर्ने भए वर्तमान मन्त्रीहरू रामेश्वर खनाल र कुलमान घिसिङबाट सुरु गर्नुपर्ने माग समेत गरे। त्यसक्रममा उनले अर्थमन्त्री खनालको सम्पत्तिको स्रोतबारे पनि प्रश्न उठाए। ‘रामेश्वर खनाल भन्छन्- म पारिश्रमिक लिन्न, म गाडी लिन्न, म सुरक्षा लिन्न। तर उहाँसँग घर छ, गाडी छ, सुरक्षा छ- यो सम्पत्ति कहाँबाट आयो?’ उनले प्रश्न गरे। बस्नेतले थपे, ‘तपाईं अर्थसचिव हुँदा कमाएको स्रोत के हो? त्यसको जवाफ दिनुपर्छ।’

उनले अध्यक्ष केपी शर्मा ओलीलाई गुन्डुवासीले स्थायी बसोबासका लागि जग्गा उपलब्ध गराउने पनि जानकारी दिए। उनले भने, ‘अध्यक्ष ओली, तपाईं आउनुहोस्, गुन्डुवासीले स्थायी बसोबासका लागि जग्गा दिन्छन्।’

प्रकाशित: २३ असोज २०८२ १२:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast