
काठमाडौँ- जेनजी आन्दोलनको दबाब, पार्टीभित्रको अस्थिरता र अस्तित्वको खोजीबीच वामपन्थी घटक सम्मिलित चार दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी (नेसपा) र नेकपा (विप्लव समूह) एकता प्रयासमा जुटेका छन्। माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पहलमा सुरु भएको यो प्रक्रिया ‘समाजवादी मोर्चा’को विस्तार र अन्ततः एउटै पार्टी गठनतर्फ उन्मुख भएको दाबी उनी निकट नेताहरूको छ।
यद्यपि मोर्चामा आबद्ध दलका नेताहरू पनि एकता प्रक्रियामा प्रचण्डको जाल मात्रै भएको बताउँछन्। एकीकृत समाजवादीका एक नेताका अनुसार जेनजी आन्दोलनपछि दबाबमा परेको माओवादी केन्द्रका लागि वाम एकताको यो पहल सिद्धान्तभन्दा बढी प्रचण्डको अस्तित्वरक्षा अभियान बनेको छ। एकताका नाममा पुनः शक्ति सन्तुलन आफ्नो पक्षमा तान्ने र नेतृत्वको कुर्सीमा निरन्तर रहिरहने दाउमा प्रचण्ड रहेको ती नेताले बताए।
यी दलबीच एकताकै लागि विगतमा समाजवादी मोर्चा गठन गरिएको थियो। अहिले भने एकताकै तयारीमा नेताहरू जुटेको नेताहरू सुनाउँछन्। माओवादीको महाधिवेशन आयोजक समितिको सोमबार बसेको बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी मोर्चालाई विस्तार गर्ने सन्दर्भमा र पार्टी एकताका सम्बन्धमा ब्रिफिङ गरेका थिए। एकताका सम्बन्धमा बृहत् र सकारात्मक छलफल भइरहेको माओवादी दाबी छ।
पार्टी एकता भइहालेमा तत्कालका लागि महाविधेशन टर्नेछ। त्यसैले पनि प्रचण्ड एकता प्रक्रियामा सक्रिय भएका छन्। असोज ८ गते बसेको स्थायी समिति बैठकमा प्रचण्डले पार्टी कुनै दलसँग एकता भए आगामी महाधिवेशन नहुने बताएका थिए। उनले भनेका थिए, ‘‘महाधिवेशनअघि पार्टी एकता भए स्थिति अर्कै ढंगले जान्छ। मंसिरमा महाधिवेशन हुन्छ कि हुँदैन भन्ने प्रश्न खुला छ।’
कतिपय नेताका अनुसार गएको संविधान दिवसमै एकता घोषणा गर्ने तयारी थियो। तर जनजी आन्दोलनले फेरिएको राजनीतिक परिस्थितिले एकतामा ढिलाइ गरेको नेताहरूको दाबी छ। उनीहरूका अनुसार तत्काल एकता गर्ने तयारी छ। समयचाहिँ निश्चित छैन।
कसरी तयार भए एकताका लागि?
मोर्चाभित्र एकताका लागि प्रयत्न गर्ने दल माओवादी केन्द्र हो। मोर्चाको ठूलो दलको हैसियतमा पनि माओवादी एकता प्रयत्नमा थियो। पछिल्ला दिनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्बन्ध अन्य दलका केही नेतासँग बिग्रिँदा एकता प्रक्रियामा ढिलाइ भएको थियो।
गत साउन १९ मा माओवादी स्थायी समिति बैठकमा प्रचण्डले दुई दल (माधव नेपाल र विप्लव) सँग एकता अन्तिम चरणमा पुगेको बिफ्रिङ गरेका थिए। उनको बिफ्रिङपछि अन्य दुई दलमा हल्लीचल्ली मच्चिएको थियो।
नेपालको पार्टी एकीकृत समाजवादीमा एकताको विषयले कलह मच्चियो भने विप्लवले तत्काल एकता सम्भव नभएको दाबी गरेका थिए। तर नेताहरूबीच एकताको प्रक्रिया भित्रभित्रै चलिरहेको स्रोतको दाबी छ।
‘हामीले एकता गर्नैपर्छ भन्ने बुझाइका साथ अघि बढेका हौँ। साना समस्या त भइहाल्छ,’ नेकपा एकीकृत समाजवादीका नेता ताज मोहम्मद मियाँ भन्छन्। समाजवादीले गत असोज ३ मा विज्ञप्ति जारी गर्दै ‘यस्तो चुनौतीपूर्ण परिस्थितिमा हाम्रो पार्टी कम्युनिस्ट आन्दोलन तथा राष्ट्रिय स्वाधीनता र जनक्रान्तिका उपलब्धिहरूको रक्षा गर्नका लागि सम्पूर्ण कम्युनिस्ट, वामपन्थी तथा समाजवादी शक्ति र पार्टीहरूलाई एकताबद्ध भएर अघि बढ्नुपर्ने’ अनुरोध गरेको थियो।
यसपछि अन्य दलले पनि एकताको प्रयत्न गरेका हुन्। विप्लवले गत असोज ७ मा बसेको नेकपाको काठमाडौँमा बसेको केन्द्रीय कमिटीको बैठकमा माओवादी घटक र विचार मिल्ने समूहसँग वार्ता गर्ने निर्णयसहित टोली गठन गरेका थिए।
वार्ता टोली संयोजकमा प्रवक्ता खड्गबहादुर विश्वकर्मासहित सदस्यहरूमा अनिल सी, शिलु सी, सुशील सी, चिरण र जितेन्द्र सी छन्। जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमअनुसार विप्लवले माओवादीसँग तत्काल एकता गर्नेगरी आफूलाई अघि बढाएको बताएका छन्। यसबाहेक महिन्द्रराय यादव त एकताका लागि तयार छन्।
नेताहरूका अनुसार एकता अघि बढे पनि ठोस खाका बनिसकेको छैन। यद्यपि एकता वातावरण भाँडिने डरले पनि कतिपय विषयवस्तु गोप्य राखिएको स्रोतको दाबी छ।
समाजवादी नेता ताज मोहम्मद मियाँका अनुसार नेकपा मोडलमा एकता हुनेछ। नेकपामा विगतमा दुई अध्यक्षको मोडल थियो। निकट स्रोतका अनुसार प्रचण्ड–नेपाल दुवैलाई अध्यक्ष बनाउने तयारी छ।
‘अहिलेका लागि दुवै पार्टीलाई अघि बढाउने गरी यस्तो मोडलमा अघि बढ्दै छ’, माओवादीका एक नेता भन्छन्। नेताहरूका अनुसार नामका बारेमा निश्चित नभए पनि ‘समाजवादी’ राख्ने तय भएको छ। ‘माओवादीले माओवाद छाड्ने लगभग निश्चित छ। समाजवादी राख्नुपर्छ भन्ने मोटामोटी बुझाइ छ’, समाजवादीका एक नेताले भने। चार दललाई एक ठाउँमा ल्याउन समेत समाजवाद शब्दले भूमिका खेलेको नेताहरूको विश्लेषण छ।
हाल रहेको समाजवादी मोर्चाकै प्रारूप भएकाले पनि समाजवाद नामकरण गर्न खोजिएको छ। माओवादी र विप्लवबाहेक अन्य दुई दलको नाम पनि समाजवादी रहेकाले सोही नाम राख्ने तयारी भएको हो। ती नेताका अनुसार पार्टीको मार्गदर्शक सिद्धान्त ‘नेपाली विशेषताको समाजवाद’ राख्ने तयारी छ।
एकता प्रक्रिया निरन्तर चलिरहेको नेताहरूको दाबी छ। यद्यपि कहिलेसम्ममा हुन्छ टुंगो छैन। नेताहरूका अनुुुसार माओवादी महाधिवेशनअघि एकता प्रक्रिया टुंग्याउने तयारी छ। माओवादीले मंसिर अन्तिम साता विशेष महाधिवेशन तोकेको छ। सोही महाधिवेशनलाई एकता महाधिवेशनका रूपमा चारै दलले अघि सार्ने तयारी रहेको स्रोतको दाबी छ।