‘वरिष्ठ बलराम’बारे यसो भन्छन्, दयाहाङ, विजय र समृद्धि

हिमाल प्रेस २३ असोज २०८२ १५:४२
22
SHARES
‘वरिष्ठ बलराम’बारे यसो भन्छन्, दयाहाङ, विजय र समृद्धि

काठमाडौँ- फिल्म ‘वरिष्ठ बलराम’ आगामी कात्तिक ६ देखि प्रदर्शन हुँदैछ। फिल्ममा मुख्य कलाकार छन्, अभिनेता दयाहाङ राई, विजय बराल र नव कलाकार समृद्धि अर्याल।

फिल्मका निर्देशक सुरेन्द्र पौडेल हुन्। फिल्मको प्रचार सामग्रीमा दुई अभिनेताबीचको टकराव देखाइएको छ। जसअनुसार दर्शकले फिल्ममा दयाहाङ र विजयबीच आमनेसामने हुने आँकलन गरेका छन्।

चर्चित फिल्म ‘कबड्डी’ देखि ‘जारी’ सम्म दयाहाङ र विजयको जोडी दर्शकले रुचाएका छन्। दयाहाङको काजी र विजयको बिके पात्र पनि हिट छन्। तर यहाँसम्म आइपुग्दा दयाहाङ मुख्य भूमिकामा देखिन्थे भने विजय सहायक भूमिकामा। यसपटक अर्थात् ‘वरिष्ठ बलराम’ मा भने उनीहरू दुबै मुख्य भूमिकामा रहेको निर्माण टिमको दाबी छ।

फिल्मको कथाबारे अभिनेता राईले स्थापित र उदाउँदै गरेका दुई व्यक्तिबीचको संघर्षको कथा रहेको बताउँछन्। ‘यो फिल्मले आफ्नो इज्जत र प्रतिष्ठा बचाइराख्न खोज्ने स्थापित व्यक्ति र त्यसलाई टक्कर दिँदै आफू स्थापित हुन खोज्ने उदाउँदो व्यक्तिबीचको कथा हो,’ उनले भने।

पोस्टरमा देखिएको दुई अभिनेताबीचको पहिरन र टकरावले अनुमान लगाउन सकिन्छ कि फिल्ममा स्थापित पात्र दयाहाङ हुन् र उदाउँदो पात्रको भूमिकामा विजय छन्। यद्यपी दयाहाङ र विजयमा को वरिष्ठ र को बलराम भन्ने कौतुहल मेटाउन फिल्म नै हेर्नुपर्ने दुबैको भनाई छ। फिल्मको प्रचार सामग्रीको आँकलन अनुसार दयाहाङ ठेकेदार वा नेता बनेका हुन् कि भन्ने अनुमान गर्न सकिन्छ। त्यस्तै विजय गाउँले युवकको भूमिकामा देखिएका छन्।

मान्छे भित्री रुपमा जस्तोसुकै भए पनि बाहिरी आवरणमा उ प्रतिष्ठित र वरिष्ठ हुन खोज्ने स्वभाव आफ्नो पात्रको रहेको अभिनेता राईले खुलाए। ‘मानवीय स्वभाव नै हो कि उ आफू भित्री रुपमा जस्तोसुकै भए पनि आवरणमा आफूलाई वरिष्ठ र प्रतिष्ठित देखाउन खोज्छ। यो फिल्ममा मैले गरेको पात्रको स्वभाव पनि त्यस्तै छ,’ उनले भने।

प्रायः फिल्ममा साथी बनेर अभिनय गरिरहेका विजयलाई यसपटक दयाहाङसँग टकराव गर्न केही हदसम्म कठिन भएको सुनाए। ‘दया दाई त मेरो गुरु हुनुहुन्छ। त्यसैले अरु अग्रज कलाकारहरूसँग भन्दा उहाँसँग चरित्रमा टकराव गर्न केही असहज भयो नै,’ उनले भने, ‘टकराव नै भए पनि मैले दाईसँग चरित्रबारे के गरौँ, कसरी गरौँ भनेर सल्लाह लिन्थेँ। दाईले अप्ठ्यारो नमान, यसरी गर भनेपछि म तयार हुन्थे। पछि उहाँले नै सहज बनाइदिनुभयो’

तथापि अभिनयको करिब १८ वर्षको यात्रामा आफ्नै गुरुसँग टक्कर दिने भूमिकामा काम गर्न पाउँदा उत्साहित भएको उनी सुनाउँछन्। ‘यतिका वर्षपछि गुरु र चेला एकै ठाउँमा हुनु नै ठूलो कुरा हो। विगतमा एउटै सपना देखेर कला क्षेत्रमा आएको दुई पात्र अहिले सँगै फिल्ममा काउन्टर गरिरहन पाउनु मेरो लागि ठूलो उपलब्धि हो। यसमा झन आफ्नोपन झल्किन्छ,’ उनले भने।

नव कलाकार समृद्धि अर्यालले दुई स्थापित कलाकारसँग आफ्नो भूमिका पनि विशेष रहेको खुलाइन्। ‘दुई अभिनेताबीच म कता हाबी छु भन्ने खुलाउन मिल्दैन् तर मेरो भूमिका जति छ त्यसले मुख्य पात्रलाई प्रभाव पार्ने खालको छ,’ उनले भनिन्। यो उनको दोस्रो फिल्म हो। यसअघि उनले फिल्म ‘फर्की फर्की’ बाट चर्चा पाएकी थिइन्। दोस्रो फिल्मबाट आफू निकै आशावादी रहेको उनले बताइन्।

फिल्ममा अन्य कलाकार पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु गुरुङ, प्रदीप कुमार चौधरीलगायत कलाकारको अभिनय छ। निर्देशक पौडेलकै कथा रहेको फिल्मको पटकथा महेश दवाडीले लेखेका हुन्। फिल्ममा आशिष एच तामाङ र श्रीराज कार्कीले लगानी गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast