
काठमाडौँ- जेनजी आन्दोलनका अभियन्ता डा.निकोलस भुसाललाई नेपाल प्रहरीले पक्राउ गरेको छ। आन्दोलनका माग पूरा नभएको भन्दै माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका भुसालसहित तीन जनालाई पक्राउ गरिएको काठमाडौँ प्रहरीले जनाएको छ।
जेनजीको एक समूहले आफ्ना मागहरू बेवास्ता भएको भन्दै एक महिनापछि पुनः प्रदर्शन आयोजना गरेको थियो। तर माइतीघर क्षेत्रमा प्रहरीको बाक्लो सुरक्षा व्यवस्था गरिएको कारण उनीहरूलाई प्रदर्शन गर्न नदिइएको हो।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयले यसअघि नै माइतीघर मण्डला लगायतका स्थानमा कुनै पनि सभा, जुलुस वा प्रदर्शन नगर्न सूचना जारी गरेको थियो। सोही निर्देशनका आधारमा प्रहरीले माइतीघर क्षेत्रमा प्रदर्शन गर्न खोज्नेहरूलाई रोक्दै नियन्त्रणमा लिएको जनाएको छ।
प्रकाशित: २३ असोज २०८२ ११:४४
प्रतिक्रिया