
काठमाडौँ- नेकपा एमालेका केन्द्रीय सदस्य सोम मिश्रले आफू प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा नरहेको बताएका छन्। पार्टीको आगामी २७, २८ र २९ गते बस्ने केन्द्रीय कमिटी बैठकमा प्रतिनिधिसभा ब्युँताउने विषयमा छलफल हुने भए पनि मिश्रले त्यसको समर्थन गर्न नसक्ने बताएका हुन्।
मिश्रले विघटित प्रतिनिधिसभालाई ‘इतिहासकै सबैभन्दा नालायक’ सभा भएको टिप्पणी गर्दै सामाजिक सञ्जाल फेसबुकमा भने,‘मैले पढेको, सुनेको र बुझेको मध्ये इतिहासकै नालायक थियो त्यो प्रतिनिधिसभा। तीन वर्षको अवधिमा गर्नुपर्ने काम गर्न त सकेन नै उल्टै लाजमर्दो र हास्यास्पद काम गरेर देश र जनतालाई निराश बनायो।’
उनका अनुसार प्रतिनिधिसभाले विधायकीय जिम्मेवारी पूरा गर्न असफल रह्यो र अनेकौं कानुनसम्बन्धी प्रस्ताव पारित गर्न नसक्दा संसदको गरिमा गुमायो। उनले उदाहरणस्वरूप निजामती सेवा विधेयक, विद्यालय शिक्षा विधेयक, नेपाल प्रहरी विधेयक र सशस्त्र प्रहरी विधेयक असफल भएको उल्लेख गरे।
मिश्रले संसदले कार्यपालिकामाथि नियन्त्रण र सन्तुलन कायम गर्न असफल भएको दाबी गर्दै भने,‘संसद् कार्यपालिकाको रबर छाप मात्र बन्यो। ठूला भ्रष्टाचारका घटनामा आँखामुनि पट्टी बाँध्यो, कुसाशनलाई नियन्त्रण गर्नुको सट्टा प्रोत्साहन गर्यो।’
उनले बजेट निर्माणमा विचौलियाको हस्तक्षेप, संसदभित्र सेटिङ र असन्तुलित नीतिनिर्माणलाई लाजलाग्दो अवस्था भनेका छन्। साथै, सांसदहरू स्वयं घुस, अनियमितता र नैतिक पतनका आरोपमा जेल, अदालत वा अख्तियारमा पुगेको तथ्य पनि औंल्याएका छन्।