शिक्षक दरबन्दी मिलानबारे शिक्षामन्त्री डा.महावीर पुनको यस्तो निर्देशन

हिमाल प्रेस २३ असोज २०८२ ९:४४
1.3k
SHARES
शिक्षक दरबन्दी मिलानबारे शिक्षामन्त्री डा.महावीर पुनको यस्तो निर्देशन

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा.महावीर पुनले शिक्षक दरबन्दी मिलानदेखि अनुसन्धानको गुणस्तर सुधारसम्मका विषयमा ठोस निर्देशन दिएका छन्।

उनले बुधबार नास्ट, शिक्षा तथा मानव स्रोत विकास केन्द्र र पाठ्यक्रम विकास केन्द्रमा छुट्टाछुट्टै बैठक गर्दै महत्त्वपूर्ण निर्णय र सुझाव दिएका हुन्।

नास्टमा दुई घण्टा लामो छलफल गर्दै मन्त्री पुनले ३७ करोड बजेटमध्ये २७ करोड प्रशासनिक र १० करोड अनुसन्धान तथा नवप्रवर्तनका लागि छुट्याइएको तथ्य प्रस्तुत गरे।

‘भवन र ल्याबजस्ता पूर्वाधार उच्चस्तरीय छन्, अब त्यही स्तरको अनुसन्धान र नतिजा देखिनु पर्छ,’ भन्दै सबै विज्ञ र कर्मचारीलाई यो हप्ताभित्र सुझाव पेस गर्न आफूले निर्देशन दिएको डा.पुनले बताए।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा तीन घण्टा लामो छलफलमा उनले शिक्षक दरबन्दी मिलान, विद्यार्थी संख्या न्यून रहेका विद्यालयहरूको मर्ज, योग्य प्रधानाध्यापक नियुक्तिका लागि देशव्यापी कार्यविधि बनाउन र अनलाइन शिक्षाका लागि डिजिटल शैक्षिक सामग्री विकासमा जोड दिन निर्देशन दिए।

पाठ्यक्रम विकास केन्द्रमा दुई घण्टा छलफल गर्दै मन्त्री पुनले सामुदायिक र निजी विद्यालयका पाठ्यक्रम विकासमा गम्भीर हुन, पाठ्यपुस्तकहरूमा नैतिक, व्यावहारिक, इतिहाससम्बन्धी विषयहरूलाई प्राथमिकता दिन र मातृभाषाका पुस्तक विकासमा सहयोग गर्न आग्रह गरे।

उनले आगामी वर्षदेखि कक्षा ९ र १० मा १०० अंकको कम्प्युटर विषय अनिवार्य हुने भएकाले सोहीअनुसार पाठ्यक्रम परिमार्जन गर्न निर्देशन दिएका छन्।

मन्त्री पुनले सबै निकायमा ‘गुणस्तरीय शिक्षा र प्रभावकारी अनुसन्धान’ सरकारको मुख्य प्राथमिकता रहेको स्पष्ट भने, ‘भवन मात्रै सुन्दर हुनु हुँदैन, त्यहाँ हुने कामले पनि उत्कृष्ट परिणाम दिनुपर्छ।’

प्रकाशित: २३ असोज २०८२ ९:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast