
काठमाडौँ- एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको तेस्रो खेलमा नेपालले बिहीबार भियतनामसँग खेल्दै छ। हो चिन मिन्हको गो डौ रंगशालामा खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे हुनेछ।
भियतनाम र नेपालबीच अहिलेसम्म दुई खेल भएको छ। यी दुवै खेल सन् २००४ एसियन कप छनोट प्रतियोगिताको दोस्रो चरणमा भएका थिए। दक्षिण कोरियाको इन्चोनमा भएको पहिलो लेगमा भियतनाम ५-० ले विजयी भएको थियो। त्यसपछि ओमानको मस्कटमा भएको दोस्रो लेगमा पनि नेपालले २-० को पराजय व्यहाेरेको थियो। २२ वर्षपछि यी दुई फेरि आमनेसामने हुन लागेका हुन्।
छनोट प्रतियोगिताको पछिल्लो खेलमा नेपाल गत जुनमा लाओससँग २-१ ले हारेको थियो। त्यसअघि पहिलो खेलमा मलेसियाले नेपाललाई २–० ले हराएको थियो। लगातार दोस्रो हारसँगै नेपाल अंकतालिकाको पुछारमा छ।
मलेसिया फुटबल संघ फिफाको कारबाहीा परेपछि पहिलो खेलको नतिजा नेपालको पक्षमा आउने सम्भावना बढेको छ। नेपालले छनोट प्रतियोगितामा नयाँ लाइफलाइन पाउने आशा गरिएको छ।
नेपाली टोलीमा को को छन्?
किरणकुमार लिम्बू (कप्तान), विशाल सुनार, दीप कार्की, सुमन श्रेष्ठ, अनन्त तामाङ, अभिषेक लिम्बू, रोहित चन्द, सनीश श्रेष्ठ, सुमित श्रेष्ठ, योगेश गुरुङ, विमल पाण्डे, मणिकुमार लामा, रोहन कार्की, एरिक विष्ट, कुशल देउवा, कृतिशरत्न छुन्जु, आयुष घलान, मनिष डाँगी, दीनेश हेन्जन, लाकेन लिम्बू, सुवास वम, अञ्जन विष्ट, जिलेस्पीजंग कार्की।