इजरायल युद्धको दुई वर्ष : स्थलगत भ्रमणमा जे देखियो

चन्द्रशेखर अधिकारी २५ असोज २०८२ १९:०१
28
SHARES
इजरायल युद्धको दुई वर्ष : स्थलगत भ्रमणमा जे देखियो

साउन पहिलो साता एक दिन बिहानै नेपालस्थित इजरायली दूतावासबाट फोन आयो। लाग्यो- केही कुरा भन्न वा सुन्न  इजरायली राजदूत स्मुलिक एरी बासले बोलाए। त्यहाँ पुगेपछि फरक विषय सोधियो दूतावासका नेपाली अधिकारी केशव श्रेष्ठबाट। उनले प्रस्ताव गरे- इजरायल सरकारका तर्फबाट भ्रमणको आमन्त्रण छ, तपाईँ के गर्नुहुन्छ?  मैले टोलीमा को-को छन् भनेर सोधेँ। उनले केही नाम सुनाए। सक्रिय पत्रकारिता गरिरहेका सबै उमेर समूहका रहेछन्। मैले पनि नेपाली पत्रकारको टोलीमा सहभागी भएर इजरायल भ्रमणमा जाने सहमति जनाएँ। भ्रमणको उद्देश्य इजरायलले बाध्यकारी परिवेशमा रहेर पनि गरेको प्रगति, नेपाली कामदारको अवस्था र दुई वर्षदेखि चलिरहेको इजरायल-हमास युद्धको अवलोकन थियो।

विद्यालय पढ्दैदेखि सुनेको नाम हो, बेन्जामिन नेतन्याहू। अहिले पनि उनी नै त्यहाँ प्रधानमन्त्री छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा धेरै पढिने, सुनिने र हेरिने, आफूले पनि पटकपटक समाचारका कथाहरू लेखेका इजरायलका प्रधानमन्त्री नेतन्याहूलाई प्रत्यक्ष भेट्न पाइने आसले मनमा एक प्रकारको उत्साह पलाएको थियो। मेरो इजरायल भ्रमण पहिलो नभए पनि राजनीतिक र कूटनीतिक व्यक्तिसँग अन्तरक्रिया गर्ने र छलफल गर्ने कार्य भने पहिलो थियो। यसअघिका भ्रमणमा अध्ययन गर्ने र त्यहाँका विद्वान्‌हरूका साथै नेपाली श्रमिकहरूसँग अन्तरक्रिया गर्ने मौका पाएको थिएँ।

इजरायल-गाजा-प्यालेस्टाइन भन्नेबित्तिकै धेरैले नेपाल टेलिभिजनबाट प्रसारित विश्वघटना कार्यक्रमको स्मरण हुन्छ। कुरा ५० को दशक सुरु नहुँदैको हो, दुर्गानाथ शर्माको प्रस्तुति ‘विश्वघटना’ मा इजरायल-प्यालेस्टाइन द्वन्द्वको विषय सधैँ प्राथमिकतामा पर्दथ्यो। म पनि उनै शर्माको साप्ताहिक कार्यक्रम पर्खेर विश्वको अवस्था बुझ्न खोज्थेँ। शर्मा बितेको वर्षौँ भइसकेको छ। इजरायल-प्यालेस्टाइन द्वन्द्व रोकिएको छैन। यद्यपि अहिले युद्धविराम भएको खबर आइरहेको छ।

हामी त्यही द्वन्द्व नजिकबाट नियाल्न निस्किएका थियौँ। साथीहरूसँग उनै शर्माको तत्कालीन प्रस्तुतिबारे कुरा गर्दै अन्य विषयमा पनि छलफल गर्दै इजरायल पुगेका थियौँ। हामी १९ जनामध्ये चारजना पहिले इजरायल पुगिसकेका रहेछौँ। टोलीका अन्य सदस्यलाई भने नौलो थियो त्यो यात्रा।

संसारकै चासोका पात्र नेतन्याहूसँग भेट्न पाउनु पत्रकारका लागि दुर्लभ अवसर हुन सक्थ्यो। सोही दिन साँझ पुग्ने गरी साउन १७ गते हाम्रो टोली दुबई हुँदै त्यसतर्फ प्रस्थान गर्‍यो। बेनगुरिअन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेपछि हाम्रो आँखा अध्यागमनमा आउजाउ गर्ने छेउमा रहेको नेपाली विद्यार्थी बिपिन जोशीको तस्बिरमा पुग्यो। बिपिनसहित अझै ५० जना हमास समूहको कब्जामा छन्। त्यहाँ हमासले बन्धक बनाएका सबैको तस्बिर लहरै राखिएको रहेछ। ‘बन्धकलाई जतिसक्दो छिटो रिहाइ गर’ भनेर लेखिएको त्यही लहरमा बिपिनको तस्बिर देख्दा नेपाली टोली भावुक बन्न पुगेको थियो। इजरायली अधिकारीहरूबाट हमासको कब्जामा बाँकी रहेकामध्ये २० जना इजरायली जीवित, २८ जना मारिइसकेको र बिपिनसहित दुईजना अज्ञात अवस्थामा रहेको अपुष्ट सूचना पाएर हाम्रो यात्रा अघि बढ्यो।

राजदूतको स्वागत

एयरपोर्टमा उत्रनेबित्तिकै हामीलाई दुईजना इजरायली अधिकारीले अध्यागमन प्रक्रियामा सहयोग गरे। लगेज लिने ‘बेल्ट’ मा पुग्दा इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, नेपालका लागि पूर्वइजरायली राजदूत हनान गोदेर, इजरायली दूतावास काठमाडौँकी नियोग उपप्रमुख जनान बेबर र अन्य केही अधिकारीहरू स्वागतका लागि तयार रहेछन्। उनीहरूसँग परिचय आदानप्रदानका साथै केही भलाकुसारी र तस्बिर खिच्ने काम भए। अनि जनानले अध्यागमनबाट उपलब्ध ‘डिटेल कार्ड’ नहराउन आग्रह गरिन्। उनै जनान एक सातासम्म हाम्रो टोलीको संयोजकका रूपमा थिइन्।

विमानस्थलबाट सवा घण्टा बसयात्रापछि हामी साँझ साढे आठ बजे राजधानी जेरुसेलम पुगेका थियौँ। हाम्रो टोली तीन दिन जेरुसेलममा रह्यो।  अन्य सहरको तुलनामा शीतल रहेको जेरुसेलममा हावाको झोक्का आइरहेको थियो। सफा मौसम भएका कारण त्यति असहज थिएन। इजरायली अधिकारीहरूले सुरक्षाका लागि अपनाएका उपाय सुनाए। उनीहरू सधैँ आक्रोशित हुनुपरेको बाध्यता अवगत गराए। इजरायलका तर्फबाट कहिल्यै आक्रमण नगरेको तर प्रतिकार गर्दा विश्व समुदायले प्रश्नमात्रै गरिरहेको विषयमा उनीहरूको तीव्र असन्तुष्टि थियो।

आफ्नो भूमिमा निर्धक्कसँग किन बस्न नपाउने भन्ने उनीहरूको प्रश्न थियो। त्यस्ता अनेकौँ प्रश्नसँगै उनीहरूले विगतदेखि छिमेकीबाट गरेको व्यवहार सुनाए। मरुभूमिमा माटोले भरेर कृषि क्रान्ति र विज्ञानका क्षेत्रमा इजरायलले गरेको आविष्कार साँच्चै आश्चर्यजनक थियो। आइरन डोम राख्न नसकेको भए आफ्नो भूमि उहिल्यै खरानी हुने उनीहरू बताउँछन्। इजरायल संसारको नक्सामा ‘मेडिटरेनियन सी’ सँगै रहेको सानो भूमि हो।

हामीले १२ सय मिटर वरबाट हमास रहेको विश्वकै घना बस्ती भएको सहर गाजा हेर्न अवसर पायौँ। त्यहाँको धुवाँधुलो र सीमामा भइरहेको गोलाबारुद देख्दा मन छियाछिया हुँदो रहेछ। जेरुसेलमबाट वेस्टर्न वाल नियाल्यौँ, जहाँ यहुदी, इसाई र मुस्लिम सबै प्रार्थना गरिरहेका थिए। वालको सुरुङ आश्चर्यलाग्दो थियो। शताब्दीअघि पनि यस्ता सुरुङ भन्ने प्रश्न मनमा खेलाउँदै हामी त्यहाँबाट निस्कियौँ। यहुदीहरूले निर्माण गरेको र अनि ध्वस्त भएको बस्तीको सयौँ वर्ष अघीका कथा सुन्दा आङ जिरिंग हुन्थ्यो।

वेस्टर्न वालमा हतियार छेउमा राखेर आफ्ना पुर्खासँग गुनासो गर्ने अनौठो चलन देख्न पायौँ हामीले। त्यही वालभन्दा माथि रहेको अलस्का मस्जिद मुस्लिमहरूले साउदी अरबमा रहेको मक्का-मदिनापछि जानैपर्ने पवित्र स्थल छ।  इजरायलीहरूको शैली हो वा हाम्रो सुरक्षाका लागि भनेर हो हामीलाई भ्रमणमा सहयोग गर्ने अधिकारीहरूले हरेक दिनको तालिका अघिल्लो दिनको ‘डिनर’ सकेपछि मात्र दिएका थिए।

द्वन्द्वग्रस्त क्षेत्रमा पर्यकटकको चहलपहल

भ्रमणको दोस्रो दिन साउन १८ मा हामी राजधानी जेरुसेलम नियाल्न निस्कियौँ। वरपर घुमघाम गर्दै वेस्टर्न वालको सुरुङमा पस्यौँ। त्यहाँकाे पुरानाे बजार नियाल्यौँ। बेलायतले छाेड्नुअघि प्रख्यात रहेको पुरानो बजार हाम्रा टोलीका धेरै साथीहरूले यस्तो दृश्य त सिनेमामा मात्र देख्न पाएको सुनाउँदै रुचिपूर्वक अवलोकन गरे। त्यो क्षेत्र  यहुदी, इसाई  र इस्लाम धर्मको पवित्र भूमि मानिन्छ।

दुई हजार वर्षअघि  फर्कने  हो भने जेरुसेलम प्राचीन यहुदी राज्यको केन्द्र र राजधानी थियो। यो सहर भूमध्य सागर र मृत सागरबीच जुडियन पर्वतको पठारमा रहेकाे कुरा हाम्रा गाइडले सुनाए। जेरुसेलम विश्वको सबैभन्दा जेठो तथा पुरानो सहरमध्ये एक रहेको पनि उनीबाट सुन्न पाइयो।

सरकारी गाइडका अनुसार इतिहास नियाल्दा जेरुसेलमलाई कम्तीमा दुई पटक नाश गरिएको पाइन्छ। जेरुसेलम बचाउन २३ पटक घेरा हालिएको र लगातार ५२ पटक आक्रमण भएकाे घटना पनि उनले सुनाए। ४४ पटक त विभिन्न शासकको कब्जामा परेको रहेछ जेरुसेलम। मरुभूमिमा पिउने पानी पाउने र रूखहरू भएको रातो माटे क्षेत्र भएकाले जेरुसेलममा सबैको आँखा परेको अड्कल काट्न पनि सकिन्छ।

सन् १५३८ मा सुलेमानअन्तर्गत जेरुसेलम वरपर भव्य पर्खाल निर्माण भएका थिए। तिनै पर्खाल पुरानो सहरका रूपमा छन्। यसलाई १९ औँ शताब्दीमा आर्मेनियाली, मसिही, यहुदी र मुस्लिम गरी चार भागमा विभाजन गरिएको थियो। यो पुरानो सहरलाई युनेस्कोले सन् १९८१ मा विश्व सम्पदा सूचीमा राखेको छ। अहिलेको युनेस्कोले खतराको सूचीमा राखेकाे कुरा गाइडबाट सुन्न पाइयो। त्यही कारण त्यो सहरभन्दा पर आधुनिक जेरुसेलम सहर बनेको छ। जेरुसेलममा यहुदीहरूको परमपवित्र मानिने सुलैमानी मन्दिर रोमनले नष्ट पारेको पनि सुनाए।

जेरुसेलमलाई जिसस क्राइस्टको कर्मभूमि भनिदो रहेछ। यहुदी र इसाई धर्मावलम्बीहरू त्यो भूमिमा एक पटक टेक्न पाउँदा आफूलाई जिसससँग भएको अनुभूति गर्दा रहेछन्। त्यसैले पनि जेरुसेलम संसारका धेरै पर्यटकको रोजाइमा परेको हो। जेरुसेलम सहरमा मात्र १ सय ५८ गिर्जाघर र ७३ मस्जिद छन्। यहाँ गिर्जाघर तथा मस्जिदबाहेक हेर्न लायक धेरै स्थान छन्। द्वन्द्वग्रस्त मुलुक भए पनि पर्यटकहरूको  निकै चहलपहल थियो।

हामीले याद भसिम, सोलोमन टेम्पल, वेस्‍टर्न वाल,  इजरायल म्‍युजियम, नोबेल अभ्‍यारण, अल अक्‍सा मस्जिद, कुव्‍वत अल सकारा, मुसाला मरवान, डेबिडस गुम्‍बद लगायतको कतै भित्रै पुगेर विस्तृत कतै बाहिरबाट अवलोकन गर्‍यौँ। भर्खरै निर्माण सम्पन्न म्युजियम अफ टोलरेन्सको अवलोकन पनि हामीले गर्‍यौँ। त्यहाँ बिपिन जोशीसहित हमास समूहले बेपत्ता पारेका बन्दी र मारिएका व्यक्तिको पोस्टर थियो। उनीहरूका साथी परिवारजनले मृतक र बन्दीका बारेमा बोलेका कारुणिक भिडियो पनि हेर्दा बचैन हुन्थ्यो। हामीलाई इजरायली समाजको सहनशीलताबारे जानकारी प्राप्त भयो। युद्धरत अवस्थामा रहँदारहँदै सात दशकमा त्यो मुलुकले गरेको प्रगतिले को चकित नपर्ला?

परराष्ट्र मन्त्रालय पुग्दा खिन्न 

साउन १९ मा हामी औपचारिक पोसाकसहित इजरायलको परराष्ट्र मन्त्रालयतिर लाग्यौँ। होटलमा जाँच गरेर निस्किएका हामीलाई बसमा मन्त्रालय पुर्‍याइयो। सबै सुरक्षा जाँच पास गरेपछि मन्त्रालय भित्र गयौँ। हामीलाई अलिक बढी सजग गराइएको अनुभूति भयो। हामीसँग मन्त्रालयका दक्षिण एसिया हेर्ने अधिकारीहरूले छलफल गरे। उनीहरू अनौपचारिक पोसाकमा थिए। तर हामीलाई औपचारिक हुन भनिएको थियो। हामीलाई इजरायलको वर्तमान अवस्था र विश्वको समर्थनबारे जानकारी गराए। अनि पत्रकारिताको भूमिकालगायतका विषयमा छलफल गरे। इजरायलको कृषि क्रान्तिबारे एक प्रस्तुति दिने काम भएको थियो।

इजरायली अधिकारीहरूले हामीलाई प्रधानमन्त्री वा विदेशमन्त्रीसँग भेट हुनसक्छ भनेका त थिए। तर त्यो अवसर जुरेन। करिब एक घण्टापछि बाहिर निस्कँदा भारतीय पत्रकारको टोली देखियो। उनीहरू भारतका पत्रकार भएकाले सबैसँग भेटघाट गर्न पाए। हामीले पुरानो होस् या नयाँ मुलुक बलियो र विकसित छ भने उनीहरूले गर्ने व्यवहार भिन्न हुने अनुभूति गर्‍यौँ। मुलुक र त्यहाँका राजदूतको सम्पर्क सञ्जालमै यस्ता कुराहरू निर्भर रहन्छन्। भारतीय पत्रकार र पत्रकारिताबारे हामी जानकार नभएका होइनौँ।

परराष्ट्र मन्त्रालयबाट खिन्न मुद्रामा निस्किएका हामी याद भासेम संग्रहालय पुग्यौँ। याद भासेन होलोकास्ट मेमोरियल विश्वकै एउटा अदभूत स्मृति संग्रहालय हो, जहाँ विश्व युद्धमा हिटलर अर्थात् जर्मन नाजीद्वारा नरसंहार गरिएका ६० लाख यहुदी (१५ लाख बालबालिकासमेत) को तस्बिरसहित हरेक खालका अभिलेख हेर्न सकिन्छ। उनीहरूको जीवनकथा पनि त्यहाँ पाइन्छ।

संग्रहालयमा दोस्रो विश्वयुद्धमा जर्मनीले यहुदीहरूलाई ग्यास च्याम्बरमा राखेर गरेको नरसंहार चित्र समेटिएको थियो। हामीले जर्मन तानशाह हिटलरले गरेको बर्बर दमनका क्रममा ६० लाख यहुदी कसरी मारिए भन्ने विषय अवलोकनसहित थप बुझ्न पायौँ। त्यति बेलाका खानपान, पहिरन, रहनसहनका तस्बिर हेर्दा इतिहासको त्यो भयानक दृश्य आँखामा झलझली आइरह्यो। संग्रहालयमा त्यति बेलाका कोट, जुत्ता, चप्पल, घरको बनावट, घरभित्रका साजसज्जा, भाँडाकुँडा र हतियार सबै सुरक्षित रहेछन्।

हिटलरले गरेको नरसंहारको विवरण र प्रमाण राखिएको संग्रहालयमा पीडादायी स्मृति र प्रमाण थिए। वार्षिक ५० लाखभन्दा बढी पर्यटक, विद्यार्थी, अनुसन्धानकर्तालगायतले अवलोकन गर्दै आएको यस ऐतिहासिक संग्रहालयमा एक सय २० भन्दा बढी भाषामा अभिलेख छन्। उनीहरूले प्रयोग गरेका लुगा, जुत्ता, भाँडाकुडा लगायत छन्। जलेका र च्यातिएका चिठीपत्र, पुस्तक, कागजातजस्ता अनेक निसानी राखिएको रहेछ।

घाइते र बाँच्न सफल भएकाहरूले बताएका भिडियो र विवरण पनि हेर्न पायौँ। याद भासेममा भित्र फोटो-भिडियो खिच्न निषेध छ। बाहिर र अन्तिमको एउटा कक्षमा मात्र अनुमति पाइन्छ। यहाँका ९ वटा प्रदर्शनी हलले नरसंहारका ९ वटा फरक-फरक चरणलाई सम्बोधन गरेको रहेछ।

संग्रहालयमा होलोकास्टसम्बन्धी संसारकै सबैभन्दा ठूलो (साढे दुई करोड) दस्तावेज छ भने नरसंहारका बेला यहुदीलाई बचाउन सघाउने २८ हजार गैरयहुदी हरेकका नाममा बगैंचामा रूख रोपिका छन्। इन्टरनेसनल मिडिया सेन्टरका प्रमुख एरी रबिनोविचका अनुसार संग्रहालय जमिनमुनि पहाडको भित्र घुसाएर त्रिकोणात्मक शैलीमा बनाइएको छ। सुरुङजस्तो त्रिकोणात्मक कोरिडर छ। त्यसलाई अँध्यारोबाट उज्यालोतर्फ जाने प्रतीकका रूपमा लिइन्छ।

कोरिडोरको छानामा थोरै ठाउँबाट प्रकाश प्रवेश गराइन्छ कि अँध्यारोमा पनि आशाको किरण कालो बादलमा चाँदीको घेरा भने झै महसुस हुन्छ। सायद त्यो इन्जिनियरीङले त्यस्तै सन्देश दिन खोजिएको होला। भयानक नरसंहारको पात्र, जीवनकथा‌ र घटना जति बुझ्दै गयो उति गहिरो लाग्ने रहेछ। स‌ंग्रहालय पस्दा निकै आँटिलो भएर जानुपर्छ। त्यो सबै नियालेर निस्कनेको हरेकले शान्तिको कामना गरिरहेका हुन्छन्।

इजरायली अधिकारीहरूको नेपालप्रतिको दृष्टिकोण त्यति चित्त बुझाउने खालको नभए पनि संग्रहालय पुगेपछि हामीलाई यहुदीप्रति दया र श्रद्धाको भाव जागृत भयो। जो कोहीलाई पनि हुन्छ। त्यस्तो पीडाबाट आएका यहुदी फेरि पनि पटकपटक पीडामा छन्। तर पनि भौतिक विकासमा भने उनीहरू निकै अगाडि पुगिसकेका छन्।

जहाँबाट पूरै इजरायल देख्न सकिन्छ

हामी संग्रहालयबाट हामी वेस्ट ब्यांक अर्थात् बाल्कोनी अफ द स्टेट भन्ने स्थानमा गयौँ। इजरायल र प्यालेस्टाइनबीच विवादित क्षेत्र हो त्यो। उक्त क्षेत्रलाई पेडुएल सामरियाको नामले चिनिन्छ। सामरिया वेस्ट ब्याकंको एउटा डाँडो हो। त्यहाँबाट इजरायलको ८५ देखि ९० प्रतिशत भूभाग देखिँदो रहेछ। इजरायल नियन्त्रणमा रहेको उक्त क्षेत्र सुरक्षाका दृष्टिले महत्त्वपूर्ण मानिन्छ। हामीले त्यहाँका स्थानीयसँग कुराकानी गर्‍यौँ। मेयर आन्तरिक कामले जेरुसेलम गएकाले अन्य स्थानीयले हामीलाई त्यहाँँको अवस्थाबारे जानकारी गराए। हामीलाई नेपालका लागि पूर्वराजदूत हनान थप सहजीकरण गरेका थिए।

वेस्ट ब्यांक जाने बेलामा हामीलाई ‘ग्रिन लाइन’ पार गरेर अघि बढेको अनुभव भएन। हाम्रो यात्रा दुई घण्टा लामो थियो। हामी पानी पिउन र शौचालय जान एउटा ग्यास स्टेसन (पम्प) मा पस्यौँ। स्थानीयले निकै हार्दिकता देखाए। अचानक पुगेका हामीलाई उनीहरूले खानेकुराले स्वागत गरे। के खाने? भनेर सोध्न पनि भ्याए। केहीबेर ठट्टा गरे। फर्कँदा भने हामी त्यहाँको सुरक्षाजाँचमा पर्‍यौँ। नेपाली टोली सामुन्ने परराष्ट्र मन्त्रालयकी अधिकारी अर्थात् नेपालस्थित दूतावासकी उपप्रमुख थिइन्। सँगै अर्का अधिकारी पनि थिए। हामी परराष्ट्र मन्त्रालयका पाहुना हौँ, वेस्ट ब्यांक गएर आएको भन्दा पनि सुरक्षाकर्मीले अघि बढ्न आनाकानी गरे। हामीसँग निकैबेर छलफल भयो। करिब २० मिनेटपछि पासपोर्ट हेरेर हाम्रो गाडी अगाडि बढ्न दिइयो।

यस्तो कडा सुरक्षा जाँच हुँदा पनि २०२३ अक्टोबर ७ को दिन किबुजमा कसरी हतियारधारी हमास विद्रोहीको समूह प्रवेश गरे भन्ने खुलदुलीचाहिँ भइरह्यो। इजरायली सुरक्षा बलसँगको केही न केही कमजोरीमा टेकेर उनीहरू प्रवेश गरेका हुन्। त्यसमा कुनै आशंका छैन। सबै नाकामा वा सबै सीमामा इजरायली सेनाले आँखा झिमिक्क नगरी बसेको हुन्छ। त्यत्रा गाडीसहित ती हतियारधारी कसरी पसे भन्ने त्यही जाँचमै  लाग्यो।

वेस्ट ब्यांकबाट हामी इजरायलको व्यापारिक सहर तेलअभिभतर्फ लाग्यौँँ। मेडिटेरेनियन सीलाई नियाल्दै रात्रिकालीन तेलअभिभलाई नजिकबाट बुझ्न खोज्यौँ। त्यसपछि हामी बस्ने होटलतर्फ लागियो। होटल पुग्दा मध्यरात भएको थियो। हामी आवास पुरानो तेलअभिभको मध्यभागमा रहेको होटलमा थियो। पछि थाहा भयो हामीलाई सुरक्षाको दृष्टिकोणबाट मध्य तेलभिभमा राखिएको रहेछ।

इजरायली युद्धमा छैनन् !

भोलिपल्ट अर्थात् साउन २० को बिहानै हामी ‘पेरेज सेन्टर फर पिस एन्ड इनोभेसन’ मा पुग्यौँ। इजरायलमा विकासको क्रान्ति ल्याउन १९९६ मा यो इनोभेसन सेन्टर पूर्वइजरायली राष्ट्रपति तथा प्रधानमन्त्री सिमोन पेरेजले स्थापना गरेका थिए। पेरेज पटकपटक मन्त्री र दुईपटक प्रधानमन्त्री भएका थिए यो सेन्टर खोल्दा। उनी २००७ देखि २०१४ सम्म राष्ट्रपति भए।

सन् १९४८ मा नयाँ मुलुकका रूपमा इजरायलको जन्म देख्ने राजनीतिज्ञमा उनी पनि थिए। उनको निधनपछि ०४८ मा मुलुक नियाल्ने नेता करिब सकिएको थियो। पेरेज इजरायलको गोप्य पारमाणविक कार्यक्रमका निर्माता हुन्। इजरायलमा पेरेज सेन्टरजस्ता पाँच सयभन्दा बढी इनोभेसन सेन्टर छन्। पेरेज प्यालेस्टाइनीहरूसँग शान्ति सम्झौताका लागि भूमिका निर्वाह गरेबापत नोबेल शान्ति पुरस्कार विजेता राजनीतिज्ञ हुन्। उनले उनले सन् १९९४ मा त्यस्तो पुरस्कार पाएका हुन्। उक्त प्रतिष्ठित पुरस्कार पेरेज, त्यति बेलाका इजरायली प्रधानमन्त्री यित्ज्याक राबिन र प्यालेस्टाइनी नेता यासेर अराफतले संयुक्त रूपमा पाएका हुन्। जीवनको उत्तरार्धतिर पेरेजले यही सेन्टरमार्फत इजरायली र प्यालेस्टाइनीलाई नजिक ल्याउन भूमिका निर्वाह गरेका थिए। पेरेजको ब्रेन ह्यामरेज भएर ९३ वर्षको उमेरमा सन् २०१६ सेप्टेम्बरमा निधन भएको थियो।

सूचना प्रविधि (आईटी) मा विश्वमै सबैभन्दा अगाडि रहेको सहर तेलअभिभको जाफास्थित समुद्री तट नजिक यो इनोभेसन सेन्टर छ। त्यहाँ पूर्वराष्ट्रपति पेरेजको कार्यालय जस्ताको तस्तै राखिएको छ। उनको टेबल-कुर्सीमा बसेर उनको फोनलगायतका सामग्री चलाउँदै स्मरणका लागि फोटो खिच्न पाइन्छ।

इनोभेसन सेन्टरको थ्रीडी कक्षमा इच्छाइएको विकास र प्रगतिको अनुभूति गर्न पाइन्छ। कसैले प्लेन उडाए। कसैले अन्तरिक्ष सयर गरे। कसैले आफैँ निधन भएको हेरे। सेन्टरबाहिर समुद्री तटतर्फ सबैलाई उत्प्रेरित गर्न सेता ठूला अक्षर जमिनमा उभ्याइएर कलात्मक ढंगले ‘DREAM BIG’ (ड्रिम बिग) लेखिएको छ। यिनै अक्षरसँग उभिएर तस्बिर खिच्न निकै लाम लाग्नुपर्ने रहेछ।

हामीलाई उक्त केन्द्रमा राजनीतिकभन्दा पनि इजरायलको प्रविधि र नयाँ आविष्कारको अवलोकन गर्ने अवसर मिल्यो। इजरायलीहरू आफ्ना आविष्कार बेचेर धनी भएका रहेछन्। इजरायलीहरूलाई त्यत्तिकै ‘बेस्ट ब्रेन’ भनिएको होइन रहेछ। प्रविधि निर्यातबाट प्रशस्त आम्दानी गरेको सुन्दा को छक्क पर्दैन र?। अर्बौँ डलरमा प्रविधि बिक्री गर्दै आएको इजरायलले अहिले स्वास्थ्यका क्षेत्रमा प्रविधि आविष्कार गरेर फड्को मार्दै छ। सूचना प्रविधि, कृषि, भवन निर्माण कला, हतियार र सञ्चार प्रविधिमा इजरायलले गरेको आविष्कार अनुकरणीय छ।

त्यही साँझ हामीलाई अर्थशास्त्री ओदेद डिसटेलले इजरायली अर्थतन्त्रबारे प्रवचन दिए। उनले युद्धकै बिचमा पनि इजरायलले हासिल गरेको आर्थिक वृद्धिको कथा सुनाए । प्रविधिबाट हुने आम्दानी आधाभन्दा धेरै रहेछ। अनि कृषि, समुद्रको पानी शुद्ध पार्ने प्रविधिलगायतमा इजरायलले हासिल गरेको प्रगति देख्दा इजरायल हामीभन्दा हजारौँ वर्ष अगाडि पुगिसकेको रहेछ।

रात्रिकालीन तेलअभिभको मूल बजारमा सबै झुम्मिएका थिए। क्लब र पब भरिभराउ थिए। मानौँ त्यहाँ युद्ध वा द्वन्द्वको कुनै संकेत छैन। सबैतिर शान्त छ। सबै मस्तीमा छन्। तेलभिभलाई कहिल्यै नसुत्ने र प्रविधिको अग्रहणी सहर मानिन्छ। सार्वजनिक गाडी र उभर (पठाओ जस्तै) पनि पाउन पनि गाह्रो। तेलअभिभमा धेरै नेपाली काम गर्छन्। मेरा एकजना स्कुले मित्र पनि भेटिए। उनीसँग केही बेर कफीगफ गरेर बिताउँदा होटल फर्कन समस्या भएको थियो।

न ट्याक्सी न सार्वजनिक गाडी न ट्रेन। ती साथीले अनेक उपाय लगाएर ट्याक्सी खोजेर हामीलाई पठाए। गुगल म्यापमा हामी बसेको होटल नजिकै थियो। चालकले हामीलाई यता पस्न मिल्दैन, त्यहाँ के छ कसो छ भन्दै भित्रभित्रै घुमाएर इजरायली सेकेल एक सय १० अर्थात् ४५ सयभन्दा बढी रुपैयाँ लिए। साथीलाई भोलिपल्ट त्यो कुरा सुनाउँदा त्यहाँ त जम्मा २५ सेकेलमा पुगिन्छ पो भने। नयाँ मानिसलाई ठगी गर्ने चालक जहाँ पनि हुँदा रहेछन्।

१० नेपाली मारिएको ठाउँमा पुग्दा

तेलअभिभ पुगेको पर्सिपल्ट अर्थात् २१ साउनमा हामी किबुज (संगठित भएर काम गर्ने कम्युन) पुग्यौँ। जहाँ हमासको आक्रमणमा १० नेपाली विद्यार्थी मारिएका थिए। कृषिमा सामूहिक काम गर्दा रहेछन्। बस्ने घर भिन्नभिन्न थिए। खाने एकै ठाउँमा र काम गर्ने सबै मिलेर। सुरुमा हामी गाजाको सीमा क्षेत्रबाट तीन किलोमिटर नजिक रहेको निर ओज किबुजमा पुग्यौँ। त्यहाँबाट गाजापट्टी प्रस्टै देखिन्थ्यो। त्यहाँ हामीले डाइनिङ हल हेर्‍यौँ, जहाँ सन् २०२३ अक्टोबर ७ मा गोली हान्दै विद्रोहीहरू भित्र पसेको अनुमान लगाउन सकिन्छ। गोली लागेर फुटेका सिसाको प्वाल टालिएको थिएन। एकजना नेपाली मुलका इजरायली विजय राईले त केही बोल्नै नसकेर डाइनिङबाट भक्कानिँदै जिउ कमाउँदै बाहिर निस्के।

निर ओजको बस्ती उजाड देखिन्थ्यो। घरघरमा हमासको आक्रमणमा मारिएका बालबालिकादेखि परिवारका सदस्यका तस्बिर टाँसिएका थिए। बालबालिका मारिएका थिए। उनीहरूका कपडा, खेलौना, जुत्ताचप्पल छरपस्ट थिए। बस्तीमा पुग्दा कुकुर, बिराला मात्र होइन ब‌गैँचामा आउने चराहरूले पनि त्यस घरका मानिसहरू खोजिरहेको अनुभव गर्न सकिन्थ्यो। इजरायलका लागि नेपाली दूतावासमा सल्लाहकार रहेर काम गरेका र अहिले सेनाको विशेष फोर्सका क्याप्टेन नदाफ बेन यहुदाले एउटा ठूलो रुखको छहारीमुनि बसेर भावुक हुँदै भने, ‘मैले यहाँहरुलाई घटनाबारे सुनाए, अव मलाई आशा इच्छा छ कि म छिट्टै नेपाल आउनेछु, तर एक्लै होइन, बिपिन भाइलाई लिएर।’

यहुदाले घरघरमा राखिएका पहेँलो झण्डामा लगाइएको नीलो, कालो र रातोको अर्थ बताए। नीलोको अर्थ हमासबाट फिर्ता भएका, कालोको अर्थ हमासको नियन्त्रणमा रहेका र रातोको अर्थ मारिएका भन्ने रहेछ। उनले  त्यस दिनको सबै अवस्था सुनाए।

त्यहाँको अवलोकन पछि हामी नेपाली मारिएको र बिपिन अपहरणमा परेको आलुमिम किबुजमा पुग्यौँ। जहाँ एउटा गाई फार्म मात्रै चालु छ। त्यही फार्मको कारण केही चहलपहल भए पनि अन्य क्षेत्र सुनसान थियो। हुन त आलुमिम भन्दा उजाड निर ओज थियो। आलुमिममा पुग्दा हामी थप भावुक भएछौँ। जुन स्वभाविक पनि हो।

पहिले त हामी गाईपालनको आधुनिक शैली बुझ्न लाग्यौँ। बिपिन जोशी अपहरणमा परेको स्थान नियाल्यौँ। ‘१० जना इमानदार र मेहनती नेपाली भाइसाथी मारिए। हामीले आफ्नै पाहुनालाई बचाउन सकेनौँ। म साह्रै दुःखी छु,’ हामी बिपिन अपहरणमा परेको घरमा पस्दै गर्दा स्थानीय एम्बुलेन्स चालक खायामले भने। खायामले घाइते भएका नेपालीलाई अस्पताल लगेका रहेछन्। उनी पनि ती नेपाली युवालाई स्मरण गर्दै भावुक बनेका थिए।

त्यसअघि निर ओजमा भेटिएका विजय राई हुन् वा इफ्ताख कोहेन हुन् सबैको एउटै भनाइ थियो, ‘हामी गाउँले परिवेशमा थियौँ। खेतीकिसानीमा रमाएका थियौँ। सरसापट चल्थ्यो। रमाइलो गरिन्थ्यो। काम पनि समूहमा गरिन्थ्यो। परिवार जसरी बसेका हाम्रो संसार एकैचोटि उजाड बन्यो। हामीले हाम्रा पाहुनासम्म पनि जोगाउन सकेनौँ।’

राईका अनुसार ‘सेफ हाउस’ भनौ या बंकर शैलीको सानो कोठाको ढोका बन्द गरेर बसेका बाहेक सबैलाई गोली लागेको थियो। ‘हामी ‘बंकर/सेफ हाउस’को ढोका बन्द गरेर बसेकाले बाँच्न सकेका हौँ। ‘सेफ हाउस’मा भित्रबाट फलामे ढोका लगाउने र बन्द गर्ने व्यवस्था भएको भए धेरै बाँच्न सक्ने थिए,’ राईले सुनाए, ‘त्यसो नगर्दा हामीले आफ्ना साथी गुमायौँ। परिवार गुमायौँ।’

इजरायल प्रशासनले त्यो तवरले हतियारधारी आएर आक्रमण गर्छन् भन्ने सोचेकै रहेनछ। नेपालीहरू बसेको ठाउँ राम्रो भए पनि हतियारधारी आउँदा बस्ने स्थान सुरक्षित थिएन। त्यही कारण पनि उनीहरूको ज्यान गयो। ट्यांकी शैलीमा ढलान गरेर बनाइएको ‘सेफ हाउस’ सामान्य थियो। प्रवेश गर्ने ठाउँ खुला भएकाले हतियारधारीबाट बच्न भने गाह्रो हुने देखिन्थ्यो।

आलुमिममा मृतकको स्मरणमा स्मारक बनाइएको रहेछ। त्यहाँ हामीलाई करिब ३० मिनेटको सीसीटीभी फुटेज देखाइयो। सडकमा हिँडिरहेकालाई समेत गोली हानिएको रहेछ। दुईजना सँगै रहेको स्थानमा एकजनालाई गोली लागेर ढलेपछि अघि बढेको पिकअप भ्यान फेरि फर्केर ढलेका मानिसलाई समाउँदै रोइरहेकालाई पनि गोली हानेको दृश्य फुटेजमा नियाल्दा त्यो हदमा  क्रूरता किन भन्ने प्रश्न उब्जिरहेको छ।

गाजापट्टीबाट करिब एक किलोमिटर वर एउटा ‘टावर’ बनाइएको रहेछ। त्यहाँ पुगेर हामीले गाजा नियाल्यौँ। गाजा क्षेत्रमा धुवाँधुलो उडिरहेको थियो। बम र गोलीको आवाज सुन्न सकिन्थ्यो। त्यहाँबाट हामी फर्कियौँ। केही बेर टावरबाट गाजाको अवस्था नियाल्यौँ। सुरक्षाकर्मीले प्रयोग गर्न राखिएका बाइना कुलरबाट देखिएको गाजाका घरका दृश्य अझै आँखैमा आइरहेका छन्।

बालबालिकामाथि क्षेप्यास्त्र

हामी धेरैले गोलन हाइटको नाम सुनेको हुनुपर्छ। नेपाली सेना शान्ति मिसनमा खटिने भूमि हो त्यो। त्यहाँ नेपाली सेनाबाट फोर्स कमान्डर रहन्छन्। त्यो भेगमा म पहिल्यै पुगेको थिएँ। गोलन हाइटको मजदल साम्स भन्ने गाउँमा यसपटक मात्र पुगेको हुँ। हामी साउन २२ मा लेबनानबाट हिजबुल्लाले इरानी क्षेप्यास्त्र प्रहार गरेको चौरमा पुग्यौँ। एक वर्षअघि अर्थात् २०८१ साउन १४ मा त्यहाँ क्षेप्यास्त्र आक्रमण भएको हो। २०८० असोजमा किबुजमा भएको आक्रमणपछि सर्वसाधारणमाथि भएको त्यो अर्को भयानक आक्रमण हो।

क्षेप्यास्त्र खस्दा बालबालिका फुटबल खेलिरहेका थिए। घटनामा १२ जनाले ज्यान गुमाएका थिए भने कैयौँ घाइते भएका थिए। एक बालकको शव त्यहीँ खरानी भएको सुन्दा आङ सिरिंग भयो। द्रुज समुदायकी एक महिला ‘हाम्रो बाँच्ने अधिकार छैन? हामीले के बिगारेका छौँ? आफैँले दुःख गरेर खाइरहेका छौँ? किन यस्तो आक्रमण?’ भन्दै हाम्रो अगाडि रोइरहेकी थिइन्।

हाम्रा सामु क्षेप्यास्त्र खस्दा खेलिरहेका एक बालक पनि आए। उनले त्यो दिन जस्तो डर कहिल्यै नलागेको सुनाए। उनले भने, ‘अहिले पनि कहीँ पनि जाँदा स्वाँस्वाँ गरेको आवाज जस्तो सुने भने थचक्क बस्छु। त्यसपछि उनी साथीलाई सम्झेर रुँदै चौरतिर लागे। स्थानीयले हामीलाई घेरेर भन्दै थिए, ‘हामीलाई बाँच्न दिनु भनेर संसारभर खबर छाप्न पर्‍यो। निहत्था हामीमाथि किन यत्रो अत्याचार?’

उक्त गाउँको परिवेश साँच्चै सुन्दर छ। गोलन हाइट्सको यो क्षेत्र सन् १९६७ मा भएको युद्धमा इजरायलले सिरियाबाट कब्जामा लिएको हो। यो भूमि सन् २०८१ मा यो इजरायली भूभागमा मिलेको हो। यसले अन्तर्राष्ट्रिय मान्यता पाइसकेको छ। सिरियाले अझै पनि त्यस क्षेत्रमा दाबी गर्दै आएको छ। त्यहाँ रहेका नागरिक इजरायलसँग रहँदा आफू सुरक्षित हुने ठान्दछन्। गाेलन हाइट पानीको साथै कृषि उब्जाउका लागि मात्र नभई सैन्य दृष्टिकोणबाट पनि महत्त्वपूर्ण छ। हामीले त्यहाँको एक घरमा खाना खाएका थियौँ। स्थानीय खानाको स्वाद लोभलाग्दो थियो।

त्यहाँबाट हामी इजरायलको सुन्दार सहर हाइफा हुँदै तेलअभिभतर्फ लागेका थियौँ। ढिलो भएका कारण हाइफाका पूरा क्षेत्र घुम्न त पाइएन। त्यहाँको द्रुज समुदाय रहने क्षेत्रमा इजरायलका पूर्वकूटनीतिज्ञ रेदा मन्सुरले रात्रिभोज आयोजना गरेका थिए। समारोहमा उनले इजरायलले कसरी अस्तित्व रक्षाका लागि छिमेकीहरूसँग प्रतिस्पर्धा गरिरहेको छ भन्ने विषयमा लामो प्रस्तुति दिए। सिरिया मामिलामा विद्यावारिधि गरेका उनले प्रस्तुत गरेको इजरायलको अवस्था र छिमेकी मुलुकले हेर्ने गिद्दे दृष्टिबारेको विश्लेषण चित्तबुझ्दो थियो।

मन्सुरका अनुसार इजरायललाई मुस्लिम विरोधीको आरोप लगाउनु गलत हो। इजरायलमा यहुदी मात्रै छन् र? उनले आफ्नो समुदाय र जेरुसेलममा रहेको मस्जिदको उदाहरण दिँदै सबै मिलेर बसेको सुनाए। इजरायलले अहिलेसम्म आफूले चाहेर युद्ध गरेको छैन। सबै समुदायलाई मिलाएर राखेको छ। इजरायलमा यहुदी, इसाई, इस्लाम मात्र होइन अन्य अल्पसंख्यक पनि मिलेर बसेका छन्। अन्य छिमेकीलाई किन इजरायलको प्रगतिमा ईर्ष्या लागेको हो बुझ्नै नसकिएको निष्कर्ष कूटनीतिज्ञ मन्सुरको थियो।

अन्तिम दिन : नेपाली कामदारको कार्यस्थल अवलोकन र डेड सी भ्रमण

भ्रमणको अन्तिम दिन २३ साउनमा हामी मृतसागर (डेड सी) मा पुग्यौँ। त्यहाँ जानु अघि तेलअभिभ हामीलाई नेपालीले काम गर्ने एक ‘एज्ड केयर सेन्टर’मा लगिएको थियो। नेपालीले वृद्धवृद्धालाई गरेको हेरचाह हेर्न पायौँ। आफू सुरक्षित रहेको बताउँदै उनीहरूले पाँच वर्षभन्दा बढी समय काम गर्न पाउन पर्ने कुरा उठाएका थिए। राजदूत पण्डितले चाहिँ नेपाल सरकारले गर्ने कुरा हो भन्दै पन्छिए। अघिल्लो साँझ पनि राजदूत पण्डित गैरजिम्मेवार रूपमा प्रस्तुत भएका थिए।

तेलअभिभमा रहेको वृद्धाश्रममा कोही ह्विल चेयरमा टोलाइरहेका थिए। कसैका छोराबुहारी आएर खाना खुवाएर गए। कोही भने ह्विल चेयरमा बसेर रूख गनिरहेका थिए। नेपाली कामदारले कसैलाई ह्विल चियरमा राखेर खुवाइरहेका थिए। एज्ड केयरमा काम गर्नेहरू भन्दै थिए- कामअनुसारको पैसा पनि छ तर काम सहज  छैन। कैयौँपटक त नचाहिँदो लाञ्छना पनि लगाउँछन्। सबैतिर सीसीटीभी राखिने भएकाले हाम्रो व्यवहार देखिन्थ्यो नै। इजरायलीहरु सकेसम्म नेपाली र फिलिपिनोलाई राख्न रुचाउँदा रहेछन्। कतिपय नेपाली त भारतमा बसेर भारतकै पासपाेर्ट बनाएर इजरायल पुगेका रहेछन्।

एक कामदारले सुनाए- ‘इजरायलभित्र काम गर्न असुरक्षित छैन तर सरकारले किन यति पनि निर्णय गर्न नसकेको होला?’ त्यहाँकाे अवस्था नियालेपछि हामी सीधै डेड सीतिर लाग्यौँ। समुद्री सतहभन्दा पनि ४४० मिटर तल रहेको ‘डेड सी’ अर्थात् मृत सागरको पानीमा संसारकै सबैभन्दा बढी (४३.४% ) नुनको मात्रा छ। यस बाहेक यसमा पोटाश, ब्रामिन साथै क्यालसियम/म्याग्नेशियम क्लोराइड लवण तत्व समेत रहेको छ। यसैको कारणा यहाँ पानीमा पाइने जीव, माछा, वनस्पति बाँच्दैनन्। त्यसैले त मृत सागर।

मृत सागरको पारिपट्टि  जोर्डन छ। यसको किनारमा बालुवा होइन, नुनैनुन पाइन्छ। अत्यधिक नुनको मात्रा भएकाले यहाँ पूर्ण रुपमा डुबिँदैन। पौडन नजानेकाहरुले पनि यसो हात चलाएमा सहजै तैरिने अवस्था रहन्छ। छालाजन्य रोग निको हुने र नलाग्ने वैज्ञानिक दाबीका कारण विश्वभरबाट यहाँ डुबुल्की मार्न पर्यटकहरू आउँदा रहेछन्। यहाँको माटो शरीरमा दल्ने, नुहाउने र बाथ लिने गरिन्छ। यहाँको पानी आँखा, मुख वा घाउचोटमा पार्नु हुँदैन।

हामीले पनि शरीरमा त्यहाँको लेसाइलो कालाे माटो दलेर समुद्रमा टाउको नडुबाई पौडियौँ। नुनिलो पानीमा तैरिँदै प्राकृतिक अनुभव मात्र होइन छालामा कुनै समस्या भए त्यो समाधान हुने विश्वासले त्यहाँ खप्नसक्ने जति बस्यौँ। कतिपय साथीको आखाँमा त्यो पानी परेर पोलेको थियो। कोही परपरसम्म पौडँदै गएका थिए। डुबुल्की मारेर कपडा फेर्ने क्रम त्यहाँ नेपालबाट गएको अर्को टोली पनि मिसियो ।

हामीसँगै यात्रामा रहेकी नियोग उपप्रमुख जनान अर्को टोलीमा गइन्। मृतसागरको भ्रमणपछि हाम्रो कार्यक्रम सकियो। तेलअभिभ फर्किने क्रममा हामी होस्टेजेज स्क्वायर नाम गरिएको ठाउँमा गयौँ। त्यहाँ हामीलाई सेनाको ‘बेस भवन’ को अवलोकन गराइयो। त्यस क्रममा हामीले गत जुनमा इरानबाट प्रहार भएका क्षेप्यास्त्रबाट क्षति पुगेको भाग देख्न पायौँ। हाम्रा गाइडसँग सोधेर खिचेको तस्बिर सुरक्षामा खटिएका सैनिकले डिलिट गर्न लगाए।

होस्टेज स्क्वायरमा बिदाको दिन सधैँ आफन्त फिर्ता गराऊ भनेर इजरायली सरकारलाई दबाब दिइँदो रहेछ। बेन्जामिन नेतन्याहूको विरोध पनि हुँदो रहेछ। बन्धकमा राखिएकाका आफन्त रिहाइका लागि प्रार्थना र ऐक्यबद्धता दिन व्यस्त थिए। त्यहाँबाट हामी बसेकै होटलमा इजरायलका राष्ट्रिय टेलिभिजनका राजनीतिक ब्युरो प्रमुख एवं प्रस्तोताले इजरायलको ‘सर्भाइभल’ युद्धबारे व्याख्यान प्रस्तुत गरे।

काम गर्न किन इजरायल जाने?

खाडी मुलुकमा १० जना नेपालीले कमाएजति इजरायलमा एकैजनाले कमाउने अवस्था रहेको कारण पनि त्यहाँ जान सबै चाहन्छन्। युद्धको बीचमा पनि नेपाली सुरक्षित रहेछन्। किबुजमा भएको जस्तो घटना त सुरक्षित भनिने मुलुकमा समेत हुने गर्छ भन्दै त्यसलाई सुरक्षाको मापन गर्न नहुने त्यहाँ कार्यरत नेपालीले बताए। दुई वर्षअघिको यो घटनाले केही नेपाली तर्सिएका त छन्। इजरायली भूमिभित्रै प्रवेश गर्ने अवस्थाले कताकति असुरक्षित रहेको डर लागेको केही नेपालीले बताए। तर कतिपयले भने यस्तो घटना विश्वमा कहाँ भएको छैन र? यहाँ अलिक ठूलो भयो, धेरैको ज्यान गयो तर हुन त युरोप अमेरिकामा पनि भइरहेकै हुन्छ भनेर चित्त बुझाएको देखियो।

इजरायलमा ५ हजार ५ सय हाराहारीमा नेपाली कार्यरत छन्। यसमध्ये ‘केयर गिभर’ अन्तर्गत १ हजार ६ सय छन् भने साना किसान सहकारीमार्फत कृषि अध्ययनका लागि दुई सय नेपाली गएका छन्। बाँकी नेपाली भने कानुनी प्रक्रिया पूरा नगरी इजरायल पुगेर काम गरिरहेका छन्। इजरायलले सन् २०१६ देखि केयर गिभरअन्तर्गत कामदार पुनः लिन थालेको हो । त्यसयता आकर्षक कमाइको प्रलोभनमा धेरै नेपाली इजरायल पुग्ने गरेका छन् । कतिपय नेपाली भारतीय नागरिक बनेर भारतकै पासपाेर्ट लिएर पनि इजरायल पुगेका हुन्छन्। उनीहरू त्यहाँ वैध भए पनि कुनै समस्या पर्दा भारतमा सम्पर्क होइन नेपालमा गर्न पर्ने अवस्था आउने हुँदा असहज हुने गरेको छ।

केही नेपाली त्यहाँ अध्ययनका लागि गएका छन्। त्यहीँ विवाह गरेर बसेका नेपाली पनि छन्। त्यसतर्फ पनि दुई सय जति नेपाली रहेको हुनसक्ने त्यहाँ हामीलाई जानकारी दिइएको थियो। हुन पनि हाम्रो भ्रमण नेपाली कसरी बसेका छन्? त्यहाँ सम्भावना केके छ? अनि किन सधैँ यहाँ युद्ध भइरहन्छ भन्ने विषय उनीहरूकै मुखबाट सुन्न र पुराना इतिहास बुझ्नमा केन्द्रित भयो। त्यो कार्य पूरा पनि भयो। हामीले गाजापट्टीबाट आएर इजरायलमाथि गरेको आक्रमणपछिको भूभाग हेर्‍यौँ। त्यही आक्रमणमा बाँचेका व्यक्तिसँग अन्तरक्रिया गर्न पायौँ। उनीहरूले आफ्ना भोगाइ सुनाउँदा गला अवरुद्ध हुन्थ्यो।

विजय राईले आक्रमणका दिन आफ्नो परिवार बचाउन गरेको यत्न निकै संघर्षमय थियो। पूर्वी नेपालका राई भारत हुँदै इजरायली युवतीसँग विवाह गरेर त्यहाँ पुगेका रहेछन्। कृषिको अध्ययनसमेत गरेका उनी अब त्यसतर्फ ध्यान नदिने सोचमा छन्। कतिपय हामीले भेटेका परिवारका  व्यक्तिहरू आफ्ना परिवारका सदस्य हमासबाट फिर्ता हुन्छन् कि भनेर बाटो हेरिरहेका पनि पाइयो। २० जना त जिउँदै राखेकाे सुनिएकाले  त्यसमा आफ्ने परिवारकाे सदस्य जिउँदो रहेका हुन्छन् कि भन्ने लागेर पनि उनीहरू बाटो पर्खिरहेका छन्।

त्यो डिनर 

अन्तिम साँझ हामी इजरायली संस्कार र सबै भेट हुँदा कसरी बसेर खाने भन्ने शैलीसहितको रात्रिभोजमा सहभागी भयौँ। तेलअभिभकै एक गाउँमा हामीलाई विशेष निम्तो थियो- यहुदी धर्मको साप्ताहिक पर्व ‘सब्बात’ ( पवित्र दिन) मनाउन उनीहरूले हामीलाई बोलाएका रहेछन्। यहुदी धर्ममा शुक्रबार साँझ सूर्यास्तपछि ‘सब्बात’ सुरु हुन्छ र शनिबार बेलुकीसम्म मनाइन्छ।

आपसी भेटघाट, पारिवारिक मिलन, सँगै खानपिन, एकै स्थानमा प्रार्थना अनि गीत-नाचगान गरिने सब्बातको अवधिभर कसैले पनि काम गर्दैनन र गर्न पनि मिल्दैन। उनीहरूले त्यस साँझको खानेकुरासमेत शुक्रबार दिनभरमा तयार गरेर राख्नुपर्ने रहेछ। शुक्रबार अपराह्नदेखि इजरायलमा सबै काम, कार्यालय र बजार बन्द भइसक्छन्। दिउँसैदेखि घर सफा गरिन्छ। राम्रो लुगा लगाएर परिवार र आफन्त एकै ठाउँमा बस्ने माहोल तयार हुन्छ।

सूर्यास्त हुन नपाउँदै घरका महिला (आमा/छोरी/श्रीमती) ले दुईवटा सब्बात बत्ती बाल्छन्। यसले अन्धकारबाट उज्यालोतर्फ, तनावबाट शान्तितर्फ प्रवेश गर्ने संकेत गरेको भनेर हामीलाई बुझाइयो। सबै जना सिनागग (Synagogue) मा जम्मा भएर विशेष प्रार्थना गर्दा रहेछन्। सब्बात डिनरमा अनेक परिकार त हुन्छन् नै। चल्लाह (Challah विशेष प्रकारले मोलिएको रोटी) र वाइन/जुस अनिवार्य राखिएको हुन्छ। त्यो घरका मूल मानिसले सुरु गर्ने, सबैलाई भाग लगाउने र राेटी एक प्रकारको अचार (सस)  लगाएपछि पाठ गरेर मात्र खानुपर्ने रहेछ।

संगीतको कुनै भाषा हुँदैन। त्यही भएर होला खानापछि हामी पनि इजरायली गीतमा नाच्यौँ, झुम्यौँ। युट्युबबाट केही नेपाली गीत बजाउन लगाएर इजरायलीलाई नेपाली गीतसंगीतमा नचाउने काम भयो। उनीहरुले नेपाली केही गीत मनपराएर लिंक सेभ गरेर राखे। इरानी छोरी र इटालेली छोराको त्यो मिलन र परिवारिक वातावरण साँच्चै लोभलाग्दो थियो। इरानी र इटालीले दुवै परिवार इजरायल छुट्टै मुलुक बन्दै गर्दा ७० वर्षअघि इजरायल आएका हुन्। उनीहरूको छोरा पुस्ताले एकअर्का परिवारमा नाता जोडे। जो हाम्रो भोजका आयोजकका मातापिता हुन्। ७० वर्ष उमेरका उनीहरूका छोरी ज्वाइँ र अन्य परिवारका सदस्यहरू भेला भएर हामीलाई पनि बोलाएका रहेछन्।

छुट्टिएर बिदा हुने चलन गज्जब लाग्यो। त्यो क्रम मध्यरात १२ बज्नुअघि सम्पन्न भइसक्नुपर्नेरहेछ। हामी बिहानै निस्कनुपर्ने भएकाले ११ बजे त्यहाँबाट निस्कियौँ। तर बाटो झुक्किएर बसले करिब १० मिनट ब्याकमा गएर अर्को लिंक हुँदै हामी मध्यरातमा नै होटल पुग्यौँ। सुत्न के लागेका थियौँ । होटलको साइरन बज्यो । हामी हतारिएर तल झर्यौ। कतै आक्रमण हुँदा बज्ने त्यो साइरन कसैले कोठामा चुरोट खाएर धुवा उडाए पनि बज्छ नै। सबै साथीहरु निन्याउरो देखिएका थिए। भोलि पल्ट घर फर्कने तर रातमा त्यस्तो हुँदा डराउनु स्वभाविक पनि। केही भएको होइन कुनै कोठामा धुवा उडेकाले साइरन बजेको रहेछ। अनि हामी कोठामा गयौँ।

फर्कने दिन २४ गते रक्षाबन्धनको दिन भएकाले हाम्रा सहयात्री शरच्चन्द्र भण्डारीले मन्त्रेको डोरो लगाएर अनि होटलको लबिमा राखिएको ब्रेक फास्ट प्याकिङ लिएर हामी एयरपोर्ट पुग्यौँ। हामीलाई आठ दिन बितेको पत्तै भएन। इजरायलभित्र युद्धका चोट, नेपाली मारिएका एवं बेपत्ता पारिएका स्थानको पीडादायी विवरण, इजरायलले कृषि, स्वास्थ्य र आविष्कारमा गरेको चमत्कारका मिश्रित अनुभव लिएर हामी फर्कियौँ।

स्वदेश फर्कनुअघि इजरायली एयरपोर्टमा टोलीका अग्रज पत्रकार केशव पौडेललाई इजरायली सुरक्षाकर्मीले तिमीहरू रमल्लाह (प्यालेस्टाइनको राजधानी) पुग्यौ भनेर प्रश्न गरेका थिए। पौडेलले वेस्ट ब्यांक पुगेको सुनाए। अर्का साथी शरच्चन्द्रसँग पनि त्यही कुरा सोधे। दुवैको उत्तर एकै आएपछि टोलीले आफ्नो ब्यागेज सुरक्षा जाँच प्रक्रिया अघि बढाउन पायौँ। हुन पनि आफ्नो सुरक्षाका लागि आइरन डोम राखेर बसेका इजरायलीले यत्तिको सोधपुछ गर्नु स्वाभाविकै हो। उनीहरू भन्ने गर्छन्, ‘हामी गोमन साँपहरूबाट घेरिएका छौँ त्यसैले साँप मार्नु कि पाल्नु?’

दुई राष्ट नै समाधान : पत्रकार अलि 

राजनीतिक मामिलामा पत्रकारिता गर्दै आएका क्वाड अलि यही तवरले गएमा युद्ध अनन्तकालसम्म रही रहने बताउँछन्। उनी इजरायली मिडिया ‘आई-ट्वान्टीफोर न्युज’ का समाचार प्रमख हुन्। जो प्यालेस्टिन मूलका इजरायली हुन् जसले द्वन्द्वका कारण परिवार तथा आफन्त गरी ४० भन्दा बढी व्यक्ति गुमाइसकेका छन्। दुइ वर्षसम्म चलेको युद्धपछि गाजा क्षेत्र लिने विषय भनेको इजरायली जनताले नचाहेको युद्ध मात्र रहेको उनले बताएका थिए। अक्टोबर ७ को घटना दुई वर्ष हुनै लाग्दा गाजापट्टी कब्जामा लिने इजरायली सरकारको कदमलाई उनले त्यस्तो भनेका हुन्।

हमासले किबुज र आसपासका क्षेत्रमा सात घण्टासम्म क्षेप्यास्त्र तथा स्थलगत रूपमा गरेको आक्रमणपछि इजरायलले जवाफी कारबाही गरिरहेकाे छ। ‘आई-ट्वान्टीफोर न्युज’ को मुख्यालय तेलअभिभ रहेको यस च्यानलले इजरायलबाट हिब्रु, फ्रान्सेली, अरबी र अंग्रेजी गरी चार भाषामा समाचार सम्प्रेषण गर्दो रहेछ।

‘मेरा आफन्त गाजामा छन् र हिंसामा मारिएका छन्। अर्कोतर्फ मेरा केही आफन्त तथा साथी इजरायली सेनामा छन्। अवस्था जटिल छ तर यसले मलाई एउटा अवसर दिएको छ, कस्तो हुनुपर्छ लोकतान्त्रिक इजरायल भन्ने बुझ्न र बुझाउन’, उनले भने, ‘गाजामा रहेका मेरा केही आफन्त द्वन्द्वमा मारिएका छन्, केही आफन्त र साथी सेनामा रहेकाले दुई खालको सम्बन्ध र अनुभवले मलाई दुई–राष्ट्र समाधान हो भन्ने विश्वास दिलाएको छ।’

इजरायलीका रूपमा बाँच्ने मेरो अधिकार जति वैध छ, त्यति नै अधिकार हरेक प्यालेस्टिनीलाई आफ्नो देश पाउने पनि रहेकाले यसमा ढिलाई नगरी समाधान गर्न लाग्न पर्ने उनको सुझाव पनि सुनियो। सुरक्षित र लोकतान्त्रिक इजरायल त्यतिखेर सम्भव हुन्छ जब त्यसका प्यालेस्टिनी छिमेकीहरूसँग पनि सुरक्षित हुन्छन् र देश लोकतान्त्रिक हुन्छ भन्ने उनको भनाइ थियो। उनले भने,  ‘एक–राष्ट्र समाधान’ को पक्षमा  हामी रहन सक्दैनौ। यस्तो राज्य लोकतान्त्रिक हुँदैन, बरु एउटा रंगभेदी हुनेछ. सबै नागरिकका लागि पूर्ण लोकतन्त्र भएको इजरायल हुनुपर्छ।’

इजरायललाई सुरक्षित र लोकतान्त्रिक बनाउन एक मात्र बाटो भनेको प्यालेस्टिनीलाई पनि आफ्नो स्वतन्त्र, लोकतान्त्रिक र सुरक्षित मुलुक दिनु उचित रहेको उनको निष्कर्ष उनको थियो। उनले भने, ‘इजरायल सरकार यस मान्यताका साथ अघि बढ्ने हो भने शान्तिपूर्ण समाधान हुनेछ।’

आक्रमण अनन्तसम्म!

इजरायलमा सन् २०२३ अक्टोबर ७ मा भएको   गाजा क्षेत्रबाट आएका आतंकवादी हमास समूहले १२ सय पाँच जनाको हत्या गरेको थियो। त्यो घातक आक्रमण भएको दुई वर्ष पूरा भएको छ। त्यसमा १० नेपाली युवा मारिएका थिए। अध्ययनका लागि इजरायलमा रहेका विद्यार्थी बिपिन अपहरणमा परेका थिए। २५० भन्दा बढी व्यक्तिलाई इजरायलको दक्षिणी क्षेत्रबाट बन्धक बनाई आक्रमणकारी लडाकु समूहले लगेका थिए।

हजारौँ युवा सांगीतिक वातावरणमा रमाइरहेका बेला हमास तथा अन्य सशस्त्र प्यालेस्टिनी लडाकु समूहले दक्षिण इजरायलमा नोभा संगीत महोत्सवको स्थल किब्बुट्ज रिमलगायत स्थानमा रक्तपात मच्चाएको थियो। आक्रमण र आफ्ना प्रियजनको दुःखद् सम्झना गर्दै अक्टोबर ७ देखि सयौँ इजरायली नरसंहार स्थलमा भेला भई श्रद्धाञ्जलि व्यक्त गरिरहेका छन्। इजरायल र विश्वभरका सहरमा श्रद्धाञ्जली सभाका साथै बन्धकको रिहाइका लागि आवाज बुलन्द पारिएको छ । राष्ट्रसंघमा जारी महासभामा पनि यही विषय उठेको छ।

हमास शासित गाजामा इजरायलले गरेको जवाफी कारबाहीमा अधिकारीहरूले झन्डै ६७ हजार व्यक्तिको मृत्यु भएको बताएका छन्। संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयका अनुसार मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन् । अक्टोबर ७ मा हमासको आक्रमणपछि इजरायली सेनाले सन् १९६७ मा इजरायलले कब्जा गरेको वेस्ट ब्याकंमा पनि धेरै प्यालेस्टिनीको हत्या गरिसकेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ। सोही अवधिमा प्यालेस्टिनी आक्रमणमा परी इजरायली सुरक्षा बलका सदस्यको पनि मृत्यु भएको छ।

आक्रमणपछि इजरायलले गाजापट्टीमा निरन्तर बमबारी गर्दै पछिल्लो समय सैनिक कारबाही गरिरहेको छ। इजरायलले सैन्य आक्रमण जारी राखेको छ। इजरायलको आक्रमणपछि गाजामा मानवीय संकट देखापरेको छ। तर विद्यालय र अस्पतालमुनि सुरुङमा रहेका हमासका लडाकुहरूको हताहतीबारे इजरायली अधिकारी स्पष्ट छैनन्। त्यहाँका आममानिसको पीडादायी कथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आइरहेका छन्। तर एकै क्षणमा आतंककारीले १० नेपालीसहित १२ सयजनाको हत्या गरेको विषय भने ओझेलमा परेको छ।

पश्चिम एसियामा इजरायल र प्यालेस्टाइन बारुदमाथिका मुलुकझैँ लाग्छन्। जहाँ युद्धको झिल्का सहजै मर्दैनन्। सानो झिल्कोले पनि ठूलो रूप लिने गरेको छ। त्यो आगो अझै कहिले सेलाउने यसै भन्न सकिन्न। अक्टोबर १६मा इजरायल सरकारले मुलुक भर विश्वभर छरिएर रहेका कूटनीतिक नियोगहरुमा पनि शोक सभा मनाउने जनाएको छ।

नोबेल पुरस्कार र यहुदी

अक्टोबर दोस्रो साता नोबल पुरस्कारको साता पनि भनिन्छ। विश्वको त्यो प्रतिष्ठित पुरस्कार पाउनेमा धेरैजसो इजरायली छन्। विश्वकै ‘वेस्ट ब्रेन’ भनेर चिनिएका इजरायलीहरूले आफू बाँच्नकै निम्ति संघर्ष गरिरहेका छन्। इजरायल मुलुक घोषणा भएको दिनदेखि मुस्लिम बहुल मुलुकले आक्रमण सुरु गरेका हुन। यहुदी संसारकै एक यस्तो अल्पसंख्यक धार्मिक तथा जातीय समुदाय हो, जसले विश्व इतिहासमा सबैभन्दा धेरै दमन र अत्याचारको सामना गरेर पनि आफूलाई उत्कृष्ठ नागरिको सूचीमा उभ्याएको छ।

ज्ञान, विज्ञान, कला, साहित्य र प्रविधिको विकासमा यहुदी समुदायका बौद्धिकको ठूलो योगदान छ। सन् १९०१ मा स्थापना भएयता नोबेल पुरस्कार प्राप्त गर्ने करिव एक हजारमा  २२ प्रतिशत यहुदी छन्। आधुनिक विज्ञानका पिता अल्बर्ट आइस्टाइन नाजीवादद्वारा सताईएका, जर्मनीबाट अमेरिका पलायन भएका व्यक्ति थिए। अमेरिकामा अहिले पनि यहुदीहरूको प्रभाव छ। तीन प्रतिशत बढी यहुदी अमेरिकामा छन्।

बेलायतले शासन छोड्ने क्रममा इजरायललाई त्यो भूभाग दिएको थियो। विश्वभर छरिएर रहेका तर २००० वर्षअघि आफ्ना पुर्खाहरू त्यही क्षेत्रमा रहेको दाबी इजरायलीको छ। सन् १९४८ मे १४ मा ‘जियोनिष्ट आन्दोलन’ का नेता डेबिट बेन गुरियनले इजरायल स्थापनाको घोषणा गरेका हुन। अमेरिकी राष्ट्रपति ह्यारी ट्रुमेनले तत्कालै इजरायललाई एक नयाँ सार्वभौम राज्यका रूपमा मान्यता दिएका थिए। यहुदीहरूको दमन करिब ३ हजार वर्ष अघि सुरु भएको इतिहासमा पढ्न पाइन्छ। सन् १९४८ मा आधुनिक इजरायलको स्थापना हुँदा प्राचीन इजरायल राज्यको पतन भएको २ हजार वर्ष बितिसकेको थियो।

विश्वमा यतिबेला करिब १ करोड ६० लाख यहुदी छन्। त्यसमध्ये सबैभन्दा धेरै इजरायलमा ७३ लाख छन् भने अमेरिकमा ६३ लाख जति छन्। बाँकी २३-२४ लाख यहुदी विश्वभर छरिएर रहेका छन्। इजरायलको करिब एक करोड नपुग जनसंख्यामध्ये करिब ७४ प्रतिशत यहुदी छन् भने झन्डै २१ प्रतिशत अरब  मूलका मानिस छन्। पाँच प्रतिशत अन्य मूलका छन्। फ्रान्समा चार लाखभन्दा बढी, क्यानडामा करिब चार लाख र जर्मनीमा दुई लाखभन्दा बढी यहुदी छन्। विगतमा इसाई र यहुदीबीचको धार्मिक शत्रुता थियो भने अहिले यहुदी र इस्लाम बीचको शत्रुता देखिन्छ।

प्यालेस्टाइनभित्र सानो भूभाग इजरायल नामकरण गरी शरणार्थीका रूपमा रहेका इजरायललाई न्याय दिएर बेलायतीहरू फर्केका थिए। त्यही समयदेखि इजरायलीले इस्लामको आक्रमण व्यहोर्न थालेका हुन्। पश्चिमाहरूले मध्यपूर्व र दक्षिण एसियाले पश्चिम एसिया भन्ने उक्त क्षेत्रमा इजरायल र प्यालेस्टाइनहरूबीच युद्ध जारी छ। युद्ध रोकिने, साना आतंककारी समूह निस्तेज हुने अनि फेरि प्यालेस्टाइनहरू बलियो भएपछि इजरायलमा आक्रमण गर्दै आएका थिए। दुई वर्षअघि भने गाजापट्टीबाट हमासको विद्रोही समूह गाडीमा इजरायलको किबुजमा छिरेर अन्धाधुन्ध गोली चलाएर नरसंहार गरेको थियो।

…तर हामी जीवन अगाडि बढाउन चाहन्छौँ

यहुदी पर्व सुक्कोटको अन्त्यमा हमासका लडाकुले इजरायलमाथि आकस्मिक आक्रमण गरेका थिए। त्यो इजरायलको इतिहासमै सबैभन्दा घातक दिन बनेको थियो। लडाकुले गाजा-इजरायल सीमा पार गरी दक्षिणी इजरायलका बस्तीहरू र मरुभूमि संगीत महोत्सवमा बन्दुक, रकेट र ग्रिनेडले आक्रमण गरेका थिए।

आक्रमणमा एक हजार दुई सय १९ जना इजरायलीको मृत्यु भएको थियो। हमासले दुई सय ५१ जना बन्धकलाई गाजातिर लगेका थिए। अन्यलाई कसैलाई जिवित त कसैको पार्थिव शरिर पठाएर भए पनि इजरायलसँग बार्गेन गरेर बस्यो। ४८ जनालाई उनीहरूले अझै बन्दी बनाएरै राखिरहेका छन्। तीमध्ये २५ जनाको मृत्यु भएको  जानकारी आएको इजरायली अधिकारीले जनाएको छ।

मंगलबार इजरायलभर स्मरण समारोह आयोजना भएका छन्। नोभा संगीत महोत्सव स्थलमा मारिएका व्यक्तिहरूका आफन्तले मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरेका छन्। त्यहाँ ३७० भन्दा बढी मानिस मारिएका थिए। ‘यो अत्यन्त पीडादायी घटना हो, तर हामी जीवन अगाडि बढाउन चाहन्छौँ। जो यहाँ थिए र अब छैनन्, तिनीहरूको सम्झनासँगै बाँच्ने प्रयास गरिरहेका छौँ’, मारिनेका आफन्तका भनाइ उधृत गर्दै समाचार एजेन्सी एपीले उल्लेख गरेको छ।

तेलअभिभको ‘होस्टेज स्क्वायर’ मा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ। दुवैको अस्तित्व स्विकार गरेर सधाको लागि युद्ध बन्द गर्न सर्वसाधारणले सरकारलाई सुझाडई रहेका छन्। जब कुनै धार्मिक वा सामुदायिक शत्रुताले बारम्बार युद्ध र मानवीय क्षति निम्त्याउँछ, सिद्धान्ततः त्यसलाई हल गर्नपर्छ नै। दुवैकाे सहअस्तित्व स्वीकार गर्दै दुई राज्य नै समाधानकाे बाटो देखिन्छ।

दुई हजार वर्ष अघिजस्तै आधुनिक इजरायलको अन्त्य होस्, यहुदीहरू पुन‍द: ‘राज्यविहीन’ बनून् भन्ने हमासको चाहना देखिन्छ जुन न्यायपूर्ण त छैन। त्यो सम्भव पनि हुँदैन। हिजो त्यही प्यालेस्टाइन भूमिमा दुई हजार वर्षपछि शरणार्थी हुँदै मुलुक पाएको अवस्थामा इजरायलले प्यालेस्टाइनी जनतामाथि अत्याचार नगरी दुई राज्यमा जाँदा राम्रो हुने देखिन्छ। तर इजरायलले मध्यपूर्वको नक्सा नै फेर्ने शैली अपनायो भने युद्ध बढ्ने देखिन्छ। हमासको चाहना नै सबै प्यालेस्टिनीको चाहना हैन। त्यसतै हिज्बुल्लाह भन्नु नै समग्र लेबनान हैन। हिज्बुल्लाहको चाहना सबै लेबनानीको चाहना पनि होइन। त्यसैले समाधान खोज्न आवश्यक देखिन्छ।

युद्ध जारी रहँदा गाजामा इजरायली हवाई, स्थल र समुद्री आक्रमणले ठूलो विनाश मच्चाएको छ। घर, अस्पताल र विद्यालय ध्वस्त भएका छन्। लाखौँ गाजाबासी भिडभाडयुक्त शिविर र खुला स्थानमा अत्यन्त कम खाना, पानी र सरसफाइका बीच बाँच्न विवश रहेको समाचारमा उल्लेख छ।

शान्तिको खोजी र कठिन वार्ता

युद्धका क्रममा इजरायलले आफ्नो सैन्य दायरालाई क्षेत्रीय रूपमा विस्तार गर्दै इरानसहित पाँच राजधानीहरूमा हवाई आक्रमण गरेको थियो। हमासका धेरै वरिष्ठ नेता र हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको हत्या गरिएको दाबी पनि इजरायलले गरेको छ।

दुई वर्ष लामो द्वन्द्वपछि इजरायल र हमासबीच शुक्रबार बिहान युद्धविराम सम्झौता लागू भएपछि इजरायली सेनाले गाजाका केही भागबाट आंशिक रूपमा आफ्ना सेना फिर्ता गरेको छ। भिडियो फुटेजमा हजारौँ प्यालेस्टिनीहरू गाजाको उत्तरतिर जाँदै गरेका देखिन्छ। ती क्षेत्रमा पछिल्ला दिनमा इजराली सेनाले ठूलो बमबारी गर्दै आएको बीबीसीले उल्लेख गरेको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रस्ताव गरेको युद्धविराम र बन्धक फिर्ती सम्झौतालाई इजरायली सरकारले बिहीबार अनुमोदन गरेको थियो। सम्झौताअन्तर्गत हमासलाई सोमबार १२ बजेसम्म सबै इजरायली बन्धकहरूलाई रिहा गर्न समय छ। जसमा २० जना जीवित रहेको विश्वास गरिएको छ।

इजरालयले पनि इजरायलको जेलमा आजीवन कारावासको सजाय भोगिरहेका करिब २५० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नुपर्नेछ। इजरायली सेनाको रेडियोले १०० जनालाई वेस्ट ब्यांकमा र पाँच जनालाई पूर्वी जेरुसेलममा छोडिने जनाएको छ। इजरायलले गाजाबाट पक्राउ परेका थप १,७०० प्यालेस्टिनीहरूलाई पनि रिहा गर्नुपर्छ।

यो तवरले शान्तिको प्रयास भइरहेको त छ। तर इजरायलको राष्ट्रिय सुरक्षा अध्ययन संस्थानको सर्वेक्षणअनुसार ७२ प्रतिशत इजरायली नागरिक युद्ध व्यवस्थापनप्रति असन्तुष्ट छन्। त्यसैले यहुदीहरूलाई घृणा र इजरायललाई आलोचना गरेर मात्र पश्चिम एसिया अर्थात मध्यपूर्वको अस्थिरता सकिदैन्। यहुदीहरूको दुर्भाग्यलाई पनि विश्व जनमानसले बुझ्न आवश्यक देखिन्छ।

दुई हजार वर्ष अघि राज्य विहिन भए अनि दोस्रो विश्वयुद्ध ताका हिटलरको नरसंहार भोगे। आज युद्ध र अपजस भोगिरहेका इजरायलीहरुलाई मात्र दोस देखाउन मिल्दैन र हुन्न पनि। उनीहरुले कहिल्यै आफैँ आक्रमण गरेका छैनन्। विद्रोही समूह या कुनै मुलुकले आक्रमण गरेपछि उनीहरूले प्रतिआक्रमण गरेका हुन्छन्। यहुदीलाई राज्य विहीन बनाउने सोच राख्ने हमास र हिज्जबुल्लाहजस्ता अतिवादी संगठन अन्त्य गर्ने र त्यस्ता संगठनलाई प्रसय नदिएमा पश्चिम एसियामा दीगो शान्ति सम्भव हुन्छ। अन्यथा यसप्रकारको युद्ध चलिरहने देख्न सक्छौँ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast