र्‍याली प्रदर्शनसहित कास्कीका रोटरियनको ‘शान्ति सन्देश’

हिमाल प्रेस २२ असोज २०८२ २०:२४
6
SHARES
र्‍याली प्रदर्शनसहित कास्कीका रोटरियनको ‘शान्ति सन्देश’

पोखरा- कास्कीका ११ रोटरी क्लबहरूको संयुक्त आयोजनामा मुलुकमा शान्तिको कामना गर्दै बुधबार ‘शान्ति सन्देश’ मौन र्‍याली प्रदर्शन गरिएको छ। पोखरा सहिदचोकमा भएको कार्यक्रममा रोटरियनले ब्यानर र प्लेकार्डसहित शान्तिको कामना गरी र्‍याली प्रदर्शन गरेका हुन्।

सहभागीहरूले ‘हाम्रो चाहना, शान्तिको कामना’, ‘रोटरीसँगै शान्तिको यात्रा’, ‘हिंसारहित समाजको निर्माण गरौं’, ‘हामी हिंसा चाहँदैनौं’ ‘सुन्दर शान्त नेपाल, आशाको आँगन’ लगायत नाराअंकित प्लेकार्ड बोकेका थिए।

रोटरी क्लब अफ पोखरा फिस्टेलका अध्यक्ष एवं कार्यक्रम संयोजक कमला गिरीले देशभरि विभिन्न समयमा हुने गरेका हिंसात्मक गतिविधिहरूले सम्पूर्ण मानवजातिमा त्रास फैलिएको र आगामी दिनमा यस्ता हिंसात्मक घटनाहरू नहोस् भन्ने सन्देश दिन कार्यक्रम आयोजना गरिएको बताइन्।

रोटरीका डिष्ट्रिक्ट सेक्रेटरी सुभाष सिग्देलले समाजमा शान्ति र सद्भाव फैलियोस् भन्नेमात्र उद्देश्य आफूहरूको रहेको बताए। उनले भने, ‘अरु हाम्रो माग केही पनि छैन, एउटामात्र माग के हो भने यस्तो विषम परिस्थितिमा पनि हामीहरु सम्हालिएर आएका छौं, सरकारमा बसेकाहरुले शान्तिलाई कसरी दिगो बनाउन सकिन्छ भन्नेतर्फ लाग्नुहोस् भन्ने हो।’

रोटरी क्लबहरुले र्‍यालीपछि कास्कीका प्रमुख जिल्ला अधिकारीलाई ‘हामी शान्ति चाहन्छौं’ विषयक ज्ञापनपत्र बुझाएका थिए। ज्ञापनपत्र बुझ्दै कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले नागरिकस्तरबाट शान्तिको कामना गर्दै सकारात्मक अभियानमा लाग्नु प्रशंसनीय भएको बताइन्।

कार्यक्रममा रोटरी क्लब अफ पोखरा, रोटरी अन्नपूर्ण, रोटरी मिडटाउन, रोटरी न्यूरोड, रोटरी लेकसाइड, रोटरी लेखनाथ, रोटरी गण्डकी, रोटरी क्यापिटल, रोटरी प्याराडाइज र रोटरी भ्यालीसहित रोट्रयाक्ट एवं इन्टर्‍याक्ट क्लबहरू पनि सहभागी थिए।

प्रकाशित: २२ असोज २०८२ २०:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast