
काठमाडौँ- मधेश प्रदेश सरकारमा नेपाली कांग्रेसले दाबी पेस गरेको छ। बुधबार जनकपुरधामस्थित प्रदेश प्रमुखकको कार्यालयमा नेकपा एमाले र जनमत पार्टीको समर्थनमा कांग्रेसले सरकारको नेतृत्वका लागि दाबी प्रस्तुत गरेको हो।
सतिशकुमार सिंह नेतृत्वको सरकार अल्पमतमा परेपछि कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा नयाँ सरकार गठन हुन लागेको हो।
सिंह नेतृत्वको सरकारमा सहभागी कांग्रेसले यसअघि नै समर्थन फिर्ता लिइसकेको छ भने एमालेका मन्त्रीहरूले पनि बुधबार राजीनामा दिँदै सरकारबाट बाहिरिएका छन्।
यसअघि सिंहको आफ्नै पार्टी जनमतले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मुख्यमन्त्री पद छोड्न निर्देशन दिएको थियो। जनमत प्रदेश संसदीय दलले सरकारबाट बाहिरिन निर्देशन दिए पनि मुख्यमन्त्री सिंहले राजीनामा दिएका थिएनन्।
यहाँसम्म कि सरकारमा सहभागी कांग्रेस र एमालेले समर्थन फिर्ता लिँदा समेत सिंहले राजीनामा दिएका छैनन्। सबै दलले समर्थन फिर्ता लिए पनि आफूले राजीनामा नदिने सिंहको भनाइ छ।
कांग्रेसले सरकार गठनका लागि दाबी पेस गरिरहँदा यसअघि सिंह नेतृत्वको सरकारमा सहभागी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले भने आफ्नै नेतृत्वमा सरकार बनाउन कसरत थालेको छ। प्रदेशसभामा ८ सिट रहेको लोसपाले मधेशमा मधेश केन्द्रित दलको सरकार बन्नुपर्ने तर्क गरेको छ।
लोसपाले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने अडान लिएपछि कांग्रेस, एमाले र जनमतले नयाँ सरकार बनाउन अग्रसरता लिएको हो।
१०७ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक हुन्छ। प्रदेशसभामा कांग्रेसका २२, एमालेका सभामुखसहित २४ (एक जना निलम्बन) र जनमतका १३ सांसद छन्। तीन दलसँग भएको सांसदको संख्या ५७ पुग्छ। यो बहुमतका लागि चाहिने संख्याभन्दा तीन बढी हो। प्रदेशसभामा लोसपाका ८ (एक निलम्बन) सांसद छन्।