
काठमाडौँ- अख्यिार दुरूपयोग अनुसन्धान आयोगले दुई पूर्वमन्त्रीसहित सात जनामाथि भ्रष्टाचार मुद्दा दायर गर्न विशेष अदालत पुगेको छ। पूर्वमन्त्रीहरू राजकुमार गुप्ता र रञ्जीता श्रेष्ठ चौधरीमाथि भ्रष्टाचार मुद्दा दायर गर्न अख्यितार विशेष पुगेको हो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखराको लिची बगान जग्गा प्रकरणमा उनीहरूमाथि मुद्दा दायर गर्न लागेको हो। अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले ७८ लाख मागदाबी लिएर मुद्दा दर्ता गर्न लागिएको जानकारी दिए।
‘विशेष अदालतमा मुद्दा दर्ताका लागि पठाएका छौँ। पोखराको जग्गासम्बन्धमा अडियोमा सुनिएको घुस डिल प्रकरणमा मुद्दा दर्ता हुन लागेको हो,’ उनले भने,‘अडियोमा सुनेअनुसार मागदाबी कायम भएको छ।’
दुई पूर्वमन्त्रीसहित सात जनामाथि मुद्दा दर्ताका लागि पठाइएको र अन्यमाथि अनुसन्धान भइरहेको उनले बताए।
जग्गा हिनामिना गर्ने योजनामा तत्कालीन बहालवालामन्त्री गुप्ता र पूर्वमन्त्री श्रेष्ठबीच भएको घुसलेनदेनसम्बन्धी अडियो सार्वजनिक भएको थियो। अडियो सार्वजनिक भएपछि यो प्रकरणमा मुद्दा दर्ता प्रक्रिया अघि बढेको हो।