
रुकुमपश्चिम- सानीभेरी गाउँपालिकामा प्रारम्भिक बाल विकास (ईसीडी) सहजकर्ताका लागि १० दिने पेसागत विकास तालिम मंगलबारदेखि सुरु भएको छ।
गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सुरु गरिएको उक्त तालिम असोज ३० गतेसम्म सञ्चालन हुने छ। तालिममा सेतो गुराँस संस्था सहजीकरण गरिरहेको छ।
तालिमको उद्घाटन कार्यक्रममा बोल्दै वक्ताहरूले बाल विकास शिक्षामा गुणस्तर वृद्धि गर्नका लागि यस्ता दीर्घकालीन तालिमहरू अत्यन्तै आवश्यक रहेको बताएका छन्।
अन्य ठाउँमा दुई–तीन दिनका छोटा तालिमहरूमा सीमित गरिने गरेको भए पनि सानोभेरी गाउँपालिकाले १० दिने विस्तृत तालिम सञ्चालन गरेर उदाहरणीय कार्य गरेको सहभागीहरूले बताएका छन्।
तालिममा बाल विकास सहजकर्ताहरूलाई बालमैत्री शिक्षण विधि, सिकाइ वातावरणको सृजना, अभिभावकसँगको समन्वय र बाल अधिकारका विषयमा व्यावहारिक अभ्यासमार्फत सिप विकास गराइने बताइएको छ।
प्रशिक्षकका रूपमा निर्मला वलीलगायत दुई जना प्रशिक्षकले तालिम सञ्चालन गरिरहेका छन्।