
काठमाडौँ- अनेरास्ववियुका महासचिव दीपक धामीले समाजलाई अराजकताबाट मुक्त गर्न आफूहरू सडकमा उत्रन बाध्य भएको बताएका छन्।
काठमाडौँ महानगरका मेयर बालेन शाह र ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दायर गरिएको विषयमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै धामीले केही व्यक्तिहरूले सरकारलाई निर्देशन दिन थालेपछि सडक आन्दोलन अपरिहार्य बनेको बताएका हुन्।
उनले भने, ‘अराजकतालाई अन्त्य गर्न हामी सडकमा आएका हौँ। हामी मर्न कफन बाँधेर निस्किएका मान्छे हौँ। समाज र देशको लागि बलिदान दिन तयार छौँ। यो देशमा आगो लगाएर खरानी बनाउनेहरू गर्वका साथ हिँड्ने तर निर्दोषहरूले कुनामा लुकेर बस्नुपर्ने अवस्था हामी स्वीकार्दैनौँ।’
धामीले गत भदाै २३ र २४ गतेका घटनाका दोषीहरूलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरे। उनले पार्टी अध्यक्ष केपी शर्मा ओली गृहमन्त्री भएका बेला आन्दोलनमा एक जनाको पनि ज्यान नगएको स्मरण गराउँदै अहिले पनि प्रधानमन्त्रीले आन्दोलनमा गोली चलाउने निर्देशन नदिने विश्वास व्यक्त गरे।