
काठमाडौँ- राजसंस्थानिकट भन्ने जेनजी समूहले १५ बुँदे प्रस्ताव अगाडि सार्दै अन्तिम संघर्षमा जाने चेतावनी दिएको छ। राजसंस्थावादी जेनजीको नाममा बेनामे विज्ञप्ति निकालेर उनीहरूले यस्तो चेतावनी दिएको हो।
सर्वपक्षीय सहमतिबाट राष्ट्रिय एकताको मार्ग पहिल्याउन माग गर्दै विज्ञप्तिमा संघर्षमा जाने चेतावनी दिइएको छ।
नयाँ बनेको सरकार विदेशी शक्तिको स्वार्थमा काम गरिरहेको आरोप लगाउँदै विज्ञप्तिमा प्रतिनिधित्व गर्नेहरूका लागि शर्मनाक कुरा भएको उल्लेख गरिएको छ।
‘विदेशी हस्तक्षेप र गृहअशान्तिको खतराले अहिले हाम्रो देशलाई समग्र रुपमा जकडिरहेको छ। हामी देशभक्त राष्ट्रवादी तथा लोकतान्त्रिक राजसंस्थावादी जेनजीहरू ति शक्तिहरूविरूद्ध नेपालको आवाजको प्रतिनिधित्व गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ,‘हालका लागि हामीले …१५ बुँदे आधारहरू प्रस्ताव गरेका छौँ। सबै पक्षहरूमा यी मागहरूमा केन्द्रित री शान्तिपूर्ण माध्यमबाट सबै शक्तिहरू एक ठाउँमा रही राष्ट्रोत्थानका लागि पहल हुन आह्वान गर्दछौँ। मागहरू पूरा गर्नका लागि हामी अन्तिम संघर्षमा होमिन तयार हुने जानकारी समेत गराउँछौँ।’
संवैधानिक राजसंस्था कायम गर्नुपर्ने भन्दै विज्ञप्तिमा सांसदहरू मन्त्री बन्न नपाउने व्यवस्था लागू गर्न माग गरिएको छ। प्रदेश सरकारको संरचना विघटन गरी शक्तिहरू स्थानीय सरकारमा केन्द्रित गर्नुपर्ने माग विज्ञप्तिमा गरिएको छ।