नेपालको तेस्रो पटक विश्वकप खेल्ने लक्ष्य सुरु, आज कुवेतसँग भिड्दै

हिमाल प्रेस २२ असोज २०८२ ९:३३
12
SHARES
नेपालको तेस्रो पटक विश्वकप खेल्ने लक्ष्य सुरु, आज कुवेतसँग भिड्दै नेपाली क्रिकेट टिम। तस्बिर स्रोत : क्यान

काठमाडौँ- तेस्रो पटक ट्वान्टी-२० विश्वकपमा सहभागी हुने उद्देश्यका साथ नेपाली राष्ट्रिय क्रिकेट टोली बुधबार आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक रिजनल छनोट खेलअन्तर्गत कुवेतसँग आमनेसामने हुँदै छ।

ओमानको मस्कटमा सुरु हुने उक्त प्रतियोगिताअन्तर्गत नेपाल र कुवेतबीचको खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बजे हुनेछ। यसअघि नेपाल सन् २०१४ र २०२४ को विश्वकपमा सहभागी भएको थियो।

आईसीसी ट्वान्टी-२० विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफिक छनोट प्रतियोगितामा ९ टोलीको सहभागिता छ। सहभागी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ।  नेपाल समूह ‘बी’ मा छ। यो समूहमा कुवेत र जापान छन्। समूह ‘ए’ मा मलेसिया, कतार र यूएई तथा समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ छन्।

जापानसँग नेपालको खेल शुक्रबार हुनेछ। समूहको शीर्ष दुई टिम सुपरसिक्समा पुग्नेछन्। अर्को समूहबाट आएका टोलीसँग प्रतिस्पर्धा गरेपछि सुपर सिक्सबाट तीन टिमले अर्को वर्ष श्रीलंका र भारतमा हुने विश्वकप खेल्नका लागि टिकट काट्नेछन्। छनोट प्रतियोगिता यही अक्टोबर १७ सम्म चल्नेछ।

यूएईमा वेस्ट इन्डिजविरुद्धको ट्वान्टी-२० शृंखला आफ्नो पक्षमा पारेको नेपाली टोली उच्च मनोबलका साथ ओमान पुगेको छ। कप्तान रोहितकुमार पौडेल वेस्ट इन्डिजविरुद्धको शृंखलाले टोलीलाई फाइदा पुगेको बताउँछन्।

‘समग्रमा राम्रो तयारी भएको छ। सबैजना उत्कृष्ट लयमा छन् । सबैजना तयार छन्। वेस्ट इन्डिजविरुद्धको जितले सबै जान उत्साहित छौँ,’ नेपाल क्रिकेट संघ (क्यान) को युट्युब च्यानलसँग रोहितले भनेका छन्, ‘तर यो विगत भइसक्यो। हामीले विश्वकप छनोटमा फेरि नयाँ थालनी गर्नुपर्छ। मुख्य प्रतियोगिता अब सुरु हुन्छ।’

आईसीसी ट्वान्टी-२० विश्वकप आगामी वर्ष भारत र श्रीलंकामा हुनेछ। प्रतियोगितामा सहभागी हुने २० मध्ये १७ टोलीको टुंगो लागिसकेको छ। भारत र श्रीलंका आयोजकका रूपमा सीधै विश्वकपमा पुगेका छन्। अस्ट्रेलिया, इंगल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, बंगलादेश, अफगानिस्तान र अमेरिकाले अघिल्लो संस्करणमा गरेको प्रदर्शनका आधारमा सीधै विश्वकप खेल्ने मौका पाएका छन्।

यसैगरी न्युजिल्यान्ड, पाकिस्तान र आयरल्यान्ड वरीयताका आधारमा विश्वकपका लागि छानिएका छन्। क्यानाडाले अमेरिका, नेदरल्यान्ड्स र इटालीले युरोपियन तथा जिम्बावे र नामिबियाले अफ्रिकन छनोट पार गरेर विश्वकपको यात्रा तय गरेका हुन्।

नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदिल आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुलशन झा र सोमपाल कामी छ्न्।

प्रकाशित: २२ असोज २०८२ ९:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast