विश्वप्रकाश भन्छन् – विशेष महाधिवेशनका लागि असोज २४ भित्रै हस्ताक्षर गर्नुस्

हिमाल प्रेस २१ असोज २०८२ १४:३३
20
SHARES
विश्वप्रकाश भन्छन् – विशेष महाधिवेशनका लागि असोज २४ भित्रै हस्ताक्षर गर्नुस्

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशन माग गर्न आगामी शुक्रबारभिै हस्ताक्षरका निम्ति आह्वान गरेका छन्।

आगामी २६ गते केन्द्रीय कार्यसमिति बोलाइएको बेला महामन्त्री शर्माले विशेष महाधिवेशनका सन्दर्भमा यस्तोे आह्वान गरेका हुन्।

जेनजी आन्दोलनपछि फेरिएको राजनीतिक परिस्थितिमा कांग्रेसभित्र विशेष महाधिवेशन बोलाउन माग उठिरहेको छ। यसका लागि केन्द्रीय समितिबाहिर रहेका नेताहरूले हस्ताक्षर अभियान सुरू समेत गरिसकेका छन्।

महामन्त्री शर्माले मंगलबार भिडिया सन्देश जारी गर्दै जिल्ला जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गर्ने कि नगर्ने भनेर प्रश्न गरिरहेको बताएका छन्।

‘जिल्ला–जिल्लाबाट महाधिवेशन प्रतिनिधि साथीहरूले टेलिफोन र म्यासेजमार्फत यो प्रश्न सोध्ने गर्नुभएको छ,’ सन्देशमा उनले भनेका छन्,‘आफैँले टेलिफोन गरेर मैले कसलाई पनि हस्ताक्षर गर्नुस् है भनेर भनेको छैन। तर, तपाईँ कसैले सोध्नु भएको छ मैले भन्ने गरेको छु–बक्यैदा हस्ताक्षर गर्नुस्।’
विशेष महाधिवेशनले पार्टीलाई कमजोर बनाउने भन्ने जिज्ञासा पनि आइरहेको बताउँदै उनले यो विधानकै व्यवस्था रहेको आफूले भन्ने गरेको जिकिर गरेका छन्।

‘कतिपय साथीहरुले विशेष महाधिवेशनले त पार्टीलाई झनै कमजोर बनाउँछ नि भन्ने जिज्ञासा राख्नु भएको छ,’ शर्माले भनेका छन्,‘मैले स्पष्ट गर्ने गरेको छु– विशेष महाधिवेशनसम्बन्धी व्यवस्था नेपाली कांग्रेसको विधानविपरित विल्कुलै होइन।’

विधानमै व्यवस्था भएकोले विशेष महाधिवेशनले पार्टीलाई कमजोर नभई झनै बलियो बनाउने महामन्त्री शर्माको भनाइ छ। ‘हामी जान्दछौँ मान्छेलाई आवश्यक पर्दा मेडिकल साइन्सले अपरेसन गर्छ। यसले थोरबहुत कमजोर बनाउला। तर सफल अपरेसनपछाडि अन्ततः मान्छे तन्दरुस्त बन्छ,’ शर्माले भनेका छन्।

विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्न चाहे २४ गतेभित्रै गर्न उनले आह्वान गरेका छन्।

‘कतिपय मित्रले सोध्नु भएको छ–२६ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकलाई हेरेर त्यसपछि हस्ताक्षर गर्नु उचित हो कि?,’ शर्मा भन्छन्,‘मैले स्पष्ट गर्ने गरेको छु–हस्ताक्षरै गर्न चाहनु भएको छ भने आइतबार किन बार्नु हुन्छ, लगनपछिको पोतेको के काम? हस्ताक्षरै गर्न चाहनुहुन्छ भने २४ गतेभित्रै गरिदिनुस्।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast