
काठमाडौँ- नेपालले अन्तर्राष्ट्रिय महिला टी–२० शृंखलाको चौथो खेलमा घरेलु टोली मलेसियालाई पराजित गरेको छ। मंगलबार बायोमास क्रिकेट ओभलमा भएको खेलमा नेपालले मलेसियाविरूद्ध ६ विकेटको जित दर्ज गरेको हो।
मलेसियाले प्रस्तुत गरेको ११२ रनको लक्ष्य नेपालले १७.३ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो।
नेपालका लागि कप्तान इन्दु बर्माले ४८, रुविना क्षेत्रीले अविजित २३, कविता कुँवरले १६ र सम्झना खड्काले ११ रन बनाए। मलेसियाका लागि आइना हमिजा हसिम, नुर डानिया स्याहुदा, माहिरा इजजती इस्माइलले एक–एक विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १११ रनको योगफल तयार पारेको थियो।
मलेसियाका लागि मास एलिसाले अविजित ५६ रन बनाइन्। यसैगरी इज्जतीले १८ र नुर डानिया स्यहुदाले १५ रन बनाए।
नेपालका लागि कविता कुँवरले तीन तथा पुजा महतो र कविता जोशीले एक–एक विकेट लिए। शृंखलाको पाँचौँ तथा निर्णायक खेल बुधबार हुनेछ।
नेपालको यो जितसँगै पाँच खेलको शृंखला २–२ को बराबरीमा आएको छ। यसअघि मलेसियाले तीन र १३ रन तथा नेपालले ६ विकेटको जित निकालेका थिए।